मंगलबार, २४ फ्रेब्रवरी, २०२६
09:53 | १५:३८

एडिनबरामा एनआरएनए स्कटल्यान्डको सामूहिक रक्तदान

२७ जनाले दान गरे रगत

नेपाली लिङ्क फ्रेब्रवरी २४, २०२६

स्कटल्यान्ड- एनआरएनए यूके राज्य समन्वय परिषद स्कटल्यान्डको आयोजनामा सामूहिक रक्तदान गरिएको छ।

एडिनबरास्थित लरिएस्टन ब्लड डोनेसन सेन्टरमा सोमबार सम्पन्न कार्यक्रममा परिषदआबद्ध जम्मा २७ जना स्थानीय नेपालीले रक्तदान गरेका छन्।

दाताहरुमध्ये अधिकांश जीवनमा पहिलो पटक रक्तदान गर्नेहरु थिए । उनीहरुले पहिलोपटक रक्तदान गर्न पाउँदा गौरवान्वित महसुस भएको र भावी दिनमा निरन्तर रक्तदान गर्न उत्साह मिलेको बताएका थिए।

परिषदका अध्यक्ष शेर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य, सल्लाहकारसहित झण्डै तीन दर्जनको सहभागिता थियो।

अध्यक्ष केसीले परिषदको आव्हानमा रक्तदानमा सहभागी सबै दातालाई संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गरे। एनआरएनए स्कटल्यान्डले सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिने जनाउँदै उनले आगामी दिनमा स्कटल्यान्डका अन्य क्षेत्रमा झनै व्यापक सहभागितासहित रक्तदान कार्यक्रम गर्दै जाने योजना रहेको जानकारी गराए।

परिषदका सचिव माधव भण्डारीले स्थानीय समुदायमा रक्तदान र रगतको महत्वबारे जनचेतना फैलाउनका साथै स्कटल्याण्डको ब्लड बैंकलाई आवश्यक रगत सहयोग गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको बताए। आफ्नो एक थोपा रगत दानले अरु कसैको अमुल्य जीवन बचाउने भएकाले यस्तो पुण्य मानवीय कार्यमा सहभागी हुन उनले सबैलाई आव्हान गरे।

रक्तदान सुरक्षित, सरल र वैज्ञानिक प्रक्रिया रहेको तथा यसले दाताको स्वास्थ्यमा कुनै नकारात्मक असर नगर्ने, बरु नियमित स्वास्थ्य परीक्षणमार्फत आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी पाउने अवसर पनि मिल्ने भएकाले नियमित रक्तदानबाट कुनै हानि नहुने सचिव भण्डारीले बताए।

कार्यक्रमका सहभागीहरुले एनआरएनए स्कटल्यान्डले रक्तदानजस्तो पवित्र मानवीय अभियान शुरु गरेकोमा प्रशंसा गर्दै यसलाई निरन्तर राख्न सुझाव दिएका थिए।

 

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू