शनिबार, २१ फ्रेब्रवरी, २०२६
15:14 | २०:५९

बेलायत आइपुगे ‘इन्टेक २६’ का गोर्खा, ९ महिने इन्फेन्ट्री तालिम शुरु

नेपाली लिङ्क फ्रेब्रवरी २१, २०२६

लन्डन- ब्रिटिश गोर्खा सैनिकको ‘इन्टेक २०२६’ का लागि चयन भएका प्रशिक्षार्थी राइफलमेनहरूले बेलायतमा नौ महिने इन्फेन्ट्री तालिम सुरु गरेका छन्।

नेपालमा हजारौँ प्रतिस्पर्धीमध्येबाट उत्कृष्ट भएर अन्तिम छनोटमा पर्न सफल भएका ३२३ जना नयाँ भर्ती सैनिकहरू हाल बेलायतको क्याट्रिकस्थित इन्फेन्ट्री ट्रेनिङ सेन्टरमा प्रशिक्षण लिइरहेका छन्।

गत साता मात्र नेपालबाट बेलायत आइपुगेका यी युवाहरू म्यानचेस्टर विमानस्थलमा अवतरण गरेलगत्तै तालिमका लागि क्याट्रिक पुगेका हुन्।

तालिमको नौ महिनामा प्रशिक्षार्थी राइफलमेनहरूले आधारभूत तथा विशेष सैनिक प्रशिक्षणसँगै बेलायती सैन्य संस्कृति, जीवनशैली र अनुशासनको अनुभव पनि हासिल गर्नेछन्।

तालिम सफलतापूर्वक पूरा गरेपछि उनीहरूलाई ब्रिटिश सेनाको ब्रिगेड अफ गोर्खाज्अन्तर्गत विभिन्न युनिटहरूमा खटाइनेछ।

सन् १८१५ को अंग्रेज–नेपाल युद्धपछि बेलायती सेनामा गोर्खा भर्ती सुरु भएको हो। त्यसयता गोर्खा सैनिकहरूले पहिलो र दोस्रो विश्वयुद्धसहित विश्वका विभिन्न द्वन्द्वहरूमा अदम्य साहस र बहादुरी प्रदर्शन गरेका छन्।

दुई शताब्दीभन्दा लामो यो ऐतिहासिक सम्बन्धले नेपाल र बेलायतबीचको सम्बन्धलाई अझ सुदृढ र गहिरो बनाएको छ। आज पनि ब्रिटिश गोर्खा सेनामा भर्ती हुन पाउनु नेपाली युवाहरूका लागि ठूलो प्रतिष्ठा र गौरवको विषय बन्ने गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू