लन्डन बेक्सलीमा ल्होछार, तमुसंगै रमायो गैरतमु समुदाय पनि


लन्डन- तमुहरुको सांस्कृतिक पर्व ल्होछार लन्डनमा तमु तथा गैरतमु नेपाली समुदाय मिलेर उल्लासपूर्वक मनाएका छन्।
बेक्सली नेपाली समाजले शनिबार स्थानीय फाल्कनवुड कम्युनिटी सेन्टरमा आयोजना गरेको ‘बीएनसी ल्होछार २०२६’ मा मौलिक तमु संस्कृति झल्काउने विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
तमु ल्होछार मनाउन भेला भएका झण्डै दुई सय सहभागीमध्ये उल्लेखनीय संख्या गैरतमु समुदायका नेपालीहरुको थियो । उनीहरुमध्ये कयौं मौलिक तमु पोशाकमै सजिएर, तमु भाषाकै गीतहरुमा नाचगान गर्दै ल्होछारको उल्लासमा रमाइरहेको दृश्य साँच्चीकै सुन्दर र हेर्नलायक थियो ।
समाजकी अध्यक्ष बिजिता गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बेक्स्ली बरोकी उपमेयर काउन्सिलर जेनिस वार्ड–विल्सन र विशेष अतिथि ओल्ड बेक्स्ली एन्ड सिडकप क्षेत्रका सांसद लुई फ्रेन्चलगायतले शुभकामना दिएका थिए ।
उनीहरुले कार्यक्रममा नेपाली समुदायभित्र विविधताको एकता झल्किएकोमा खुशी व्यक्त गर्दै स्थानीय समुदायमा नेपाली समाजले निर्वाह गर्दै आएको महत्वपूर्ण भूमिकाको पनि प्रशंसा गरे ।

अध्यक्ष विजिता गौतमले समाजले हरेक वर्ष बीएनसी ल्होछार कार्यक्रम आयोजना गर्दै आएको जानकारी गराउँदै यसबाट स्थानीय नेपाली समुदायभित्रको आपसी एकता र सहकार्य सुदृढ बन्दै जाने विश्वास लिइएको बताइन् ।
अध्यक्ष गौतमले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, सहभागी, स्वयमसेवक र प्रायोजकप्रति कृतज्ञता प्रकट गरिन्।
त्यसअघि प्रमुख अतिथि उपमेयर काउन्सिलर जेनिस वार्ड–विल्सन, समाजकी अध्यक्ष बिजिता गौतम, विशेष अतिथि सांसद लुई फ्रेन्च र लामा गुरु लोपेन रामप्रसाद गुरुङले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रम शुभारम्भ गरेका थिए ।
सो अवसरमा लामा गुरुहरूले बौद्ध परम्पराअनुसार पाठवाचन र आशिर्वादसहित ल्होछारको महत्वबारे जानकारी गराउँदै सबैको सुख, शान्ति र समृद्धिको कामना गरेका थिए।
समाजका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक हिमाल गुरुङले स्वागत मन्तव्य राख्दै ल्होछारको ऐतिहासिक, सांस्कृतिक र सामाजिक महत्वबारे प्रकाश पारेका थिए । कार्यक्रम सञ्चालन महासचिव उमेश गौतमले गरेका थिए ।
सो अवसरमा काउन्सिलर नाइजेल बेट्स, डायमन्ड बुद्धिष्ट सेन्टरका अध्यक्ष चन्द्रप्रकाश गुरुङ, लामा गुरुहरू लोपेन रामप्रसाद गुरुङ र लामा सुकबहादुर गुरुङ, दक्षिण–पूर्व क्षेत्रीय तमुधिं यूके अध्यक्ष शिवराम गुरुङ (बीईएम), नेपाली यूथ एसोसिएसन ग्रीनवीच अध्यक्ष लछुमन गुरुङ, पासा पुचः गुथि साउथ इष्ट लन्डन अध्यक्ष सुरोज मास्के, सोपाल समाज यूके अध्यक्ष जगदीश गुरुङलगायत स्थानीय समुदायका प्रतिनिधिहरू अतिथि थिए ।
समाजका पूर्व अध्यक्षहरू विजयबहादुर गुरुङ, आनन्द धरेल र डा हरिश ज्ञवालीसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको पनि कार्यक्रममा सहभागिता थियो ।
कार्यक्रममा मनोरञ्जनका लागि विविध सांस्कृतिक प्रस्तुति गरिएको थियो । समाजका महिला सदस्यहरु तथा बालबालिकाले प्रस्तुत गरेको ल्होछार विशेष सांस्कृतिक नृत्यहरुको प्रस्तुति निकै आकर्षक थियो ।
नेपालबाट आएकी गायिका नीरा थापा मगरले सांगीतिक प्रस्तुतिबाट मनोरञ्जन दिलाएकी थिइन् भने डिजे डिनले पनि लोकप्रिय गीतहरुमा सहभागीलाई नचाए ।
कार्यक्रममा विशेष आकर्षण फोटो बुथमा प्रदर्शन गरिएको तमु समुदायका मौलिक भेषभूषा, संस्कृति र परम्परागत सामग्रीहरूमा देखिएको थियो ।
सोही अवसरमा समाजका नयाँ सदस्यहरूलाई विशेष अतिथि सांसद लुई फ्रेन्च र अध्यक्ष विजिता गौतमबाट प्रमाणपत्र, खादा र बीएनसी टी–शर्ट प्रदान गरी स्वागत गरिएको थियो।
त्यस्तै दक्षिण–पूर्व क्षेत्रीय तमुधिं यूके अध्यक्षमा निर्वाचित समाजका संस्थापक उपाध्यक्ष शिवराम गुरुङ (बीईएम) लाई विशेष सम्मान तथा अभिनन्दन गरिएको थियो। त्यस्तै, आकर्षक पुरस्कारहरुसहितको राफल ड्र पनि गराइएको थियो ।
कार्यक्रम संयोजन तथा व्यवस्थापनतर्फ राफल सागर वाग्ले र उमेश गौतम, मार्केटिङ, फोटोबुथ तथा कलाकार उपाध्यक्ष दिकपाल गुरुङ र लिना गुरुङ, क्याटरिङ चन्द्रवीर गुरुङ, पिआर बर्मा खनाल, इन्ट्री गेट व्यवस्थापन कोषाध्यक्ष तिलक लम्साल र नारायण पुरी, अतिथि सत्कार माया गुरुङ, लिना गुरुङ, उपाध्यक्ष आहिल्या कुंवर र मीना थापा, ड्रिंक एन्ड बार बाला प्रसाईं, धनराज चोङवाङ, ज्योति उपाध्याय, प्रदिप त्रिपाठी र सविन श्रेष्ठ तथा लामा गुरु सत्कार कमल गुरुङलगायतले गरेका थिए ।

तस्विर: गुणदेव घिमिरे
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


