छोङले वकिङ र टनब्रीज वेल्समा थपे दुई ‘इरो सुसी’, बेलायतमा पुगे ३२ आउटलेट



वेष्ट ह्याम्सटेडमा ३० औं शाखा उद्घाटनका अवसरमा छोङ ‘इरो सुसी’ टिमका साथ
लन्डन । नेपाली युवा व्यवसायी छोङ नोर्बु शेर्पाले दुई साताभित्र थप दुईवटा ‘इरो सुसी’ आउटलेट शुरु गर्ने तयारी गरेका छन् । बेलायतको वकिङ र केन्टस्थित टनब्रीज वेल्समा सुसी रेष्टुरेन्ट सञ्चालन हुन लागेका हुन् ।
यो सहित बेलायतमा अब इरो सुसीका ३२ शाखा हुनेछन् ।
‘हामी छिट्टै वकिङमा पहिलोपटक नयाँ स्टोर खोल्न पाउँदा साँच्चै उत्साहित छौं’, छोङले भने, ‘यससँगै हामी स्थानीय समुदायमा दिगो रूपमा स्वस्थ र उच्च–प्रोटिनयुक्त खानाका लागि नयाँ गन्तव्य सिर्जना गर्दै रेस्टुरेन्ट गुणस्तरको सुसी ल्याउनेछौं ।’
उता, केन्टको क्यान्टरबरी, मेडस्टोन, डार्टफोर्ड, सेभेनोक्स र टनब्रीजपछि टनब्रीज वेल्सको ग्रोसभेनर रोडमा नयां आउटलेट खुल्न लागेको हो ।
‘हामी टनब्रीज वेल्सको शाखा खोल्ने अन्तिम तयारीमा छौं । टनब्रीज वेल्स समुदायमा स्वस्थ्यकर रगुणस्तरीय सुसी ख्वाउन निकै उत्सुक छौं’- छोङले भने ।
सन् २०३० सम्म बेलायत, युरोप र मध्य पूर्वसहित विश्वव्यापी रूपमा कम्तीमा १०० शाखा खोल्ने आफ्नो महत्वाकांक्षी योजना रहेको उनले सुनाए । ‘म यसको श्रेय समस्त ग्राहक, कर्मचारी, सप्लायर्स र शुभचिन्तकहरुमा दिन चाहन्छु’, छोङले नेपालीलिंकसंग भने ।
अहिले बेलायतभर रहेका इरो रेस्टुरेन्टले प्रत्येक वर्ष लगभग ११ लाख ग्राहकलाई सेवा दिइरहेको छ । यसका साल्मन सेलेक्सन, चिकेन कात्सु करी, चिकेन ग्योजा लगायत सर्वाधिक बिक्री हुने परिकार हुन्।

छोङ नोर्बु शेर्पा
यूकेले टियर फोर नीति ल्याएपछि सन् २००९ जुलाईमा उच्च शिक्षा लिन लन्डन आएका छोङ नोर्बुले शुरुमा ट्रेनी सेफका रुपमा यस व्यवसायमा पाइला चालेर सन् २०१४ मा क्ल्यापहाम जङ्सनमा पहिलो इरो सुसी खोलेका थिए । यसको फ्रेन्चाइज कन्सेप्ट सन् २०१९ देखि शुरु भएको छोङले बताए ।
छोङले यो व्यवसाय दुई मोडलमा चलिरहेको बताए । ‘एउटा हामीसंग पार्टनरशीपमा लगानी गर्ने र अर्को चाँहि १०० प्रतिशत आँफै लगानी गरेर चलाउने विकल्प छन्’, उनले भने ।
अनुभवी सुसी सेफहरु तथा रेस्टुरेन्ट व्यवसायी कोही छन् भने ‘राइट क्यान्डिडेट’ लाई फाइनान्स पनि उपलब्ध गराएर पार्टनरशीपमा विजनेश चलाउन र कोही लगानी मात्र गर्न चाहन्छन् भने पनि आफूसँग मिलेर फ्रेन्चाइजी चलाउन सकिने छोङले बताए ।
तर, कसैले १०० प्रतिशत लिन चाहन्छन् भने फ्रेन्चाइजी फि र टर्नओभरमा ५ प्रतिशत रोयल्टी तिर्नुपर्छ ।
दोलखामा सामान्य परिवारमा जन्मिएर वाल्यकालमा धेरै संघर्ष खेपेका ३८ वर्षीय छोङको अहिले व्यवसायिक सफलताको रहस्य के छ ? ‘मानिसहरु भाग्य हुनुपर्छ भन्छन् । तर मेरो अनुभवमा लगाव, इमान्दारी र कडा परिश्रम गरेपछि असफलता भन्ने हुंदैन ।’
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


