सोमबार, १९ जनवरी, २०२६
00:00 | ०५:४५

भाइलाई चिट्ठी: वर्तमान समयसँग युद्ध

सुरेशजङ्ग शाह जनवरी १८, २०२६

समीक्षक सुरेशजङ्ग शाह (बायां) र पुस्तक लेखक देवजंग शाही

‘तिमी र भाईबुहारीले पनि सहरमा आइजा भनेर धेरैपटक भनेका छौ। पुरातन प्रकारको जीवनयापन ढङ्गको कारणले गाउँमा जीवन निर्वाह मात्र पनि अति कष्टकर बन्दै गइरहेको छ। जति नङ्ग्राहरू खियाए पनि सालैपिच्छे उब्जनी घट्दो छ । सालभरिको दुःख तीन चार महिना पनि निझर्को (पुरा आनन्दसँग) खान पुग्दैन । घरका जवानहरू बुढा बाबुआमा र साना बच्चाबच्चीहरूलाई छोडेर कामको खोजीमा सके युरोप अमेरिका, नसके खाडी मुलुकहरू र कतै नसके भारततिर मुङलानिसके । रित्ता र चिसा गाउँहरूमा बुढेसकालमा के तपस्वी जस्तै भएर बस्नु ? बरु यतै सहरमा पुगनपुग गरेर पनि आनन्दले बस्न सकिन्छ दाई भनेर सम्झाउंदै भाउजुलाई समेत लिएर आउनुहोस् यतै सहरमा बसौँ भनेर तिमीले गरेको आग्रह मलाई चित्त नबुझेको होइन । तर तिमी र म जस्तो पढेलेखेको, बदलिँदो दुनिया बुझेको मानिस तिम्रो भाउजु होइनन् । उनको विचार अर्कै छ । गाउँकी साधारण खेती किसानी गर्ने कामकाजी घरेलु गृहणी महिला नै भए पनि उनले भनिन् … ‘एक त हामीलाई गाउँघरका एक–एक ढुङ्गामाटोले राइदा छन् (चिन्द छन्) र हाम्मो (हाम्रो) पनि माया यिनै ढुङ्गामाटो पाखापखेरा वनजङ्गल र भीरपहराहरूमा टाँसिएको छ । जति दुःख भए पनि काम गरेर खान दुःख लाग्दैन। खेतीपाती हराभरा देख्या पछि मन त्यसै आनन्दित हुन्छ । दुःख त्यसै बिर्सिइन्छ । थकाइ त्यसै मेटिन्छ । मायालुको जस्तोसुकै रुखो वचन पनि मायाले नै भने जस्तो लाग्छ । अर्को कुरो हामी हाम्मा (हाम्रा) कैयौँ खाँचोहरू काम गरेर पूरा गर्न बानिपरेका मान्ठ (मान्छे) सहरमा जे पनि रुपियाँले पूरा गर्नु पड्ढोछ (पर्छ) अनि त्यति रुपियाँ खोलाको पानी जस्तो कहाँबाट पाइन्या (पाउने) हुन् ? जसले जे भने पनि सहर जाने कुरा छोड बड्डौ (बुढा) । आफू सिन्को भाँची दुई काम नगरेर मिठो खाने, राम्रो र असल जिन्दगीको कल्पना गरिरहने ? यहाँ आफ्ना भएका खेती बारी बाँझो राख्ने । घर बन्जार बनाउने अनि अर्का मुलुकमा के बसेर खान दिन्छ ? ध्यानै सहर बस्ने विदेश पस्ने राखेपछि यो गाउँ यो देश क्या साजी (खरानी) बन्ला ! जो पनि सहर जाने भन्या छन् विदेश जाने भन्या छन् । आफ्ना खेतीपाती लगाई खाए त उम्तो (धेरै) हुन्थ्यो ? ’ … घरकी कामकाजी महिला भए पनि मलाई उनको त्यो तर्क उचित लाग्यो । एक साधारण घरेलु महिलाको भनाइले मेरो सोच झन् उज्यालियो ? तसर्थ भाई मैले ती उनका तर्कहरू जस्तातस्तै चिट्ठीमा खामेर पठाउने विचार गरेँ… !’

एकातिर सहरमा बस्ने भाई दिनदयालले गाउँमा बस्ने दाई रविलाई गाउँ छोडेर सहरमा आफूसँगै बस्न आउन गरेको आग्रह छ । अर्कोतिर घरकी गृहणी आफ्नी धर्मपत्नीको गाउँ छोडेर सहर र देश छोडेर विदेश पस्ने पलायन सोचप्रति ठाडै इन्कार छ । बस यसै सिरामा ‘भाइलाई चिट्ठी’ लघुकथा कृति माटोको माया बोकेर उभिएको छ ।

दाई, भाई र गृहणी महिला तीन पात्रलाई आफ्नो सिर्जनामा उतारेर कथाकार देवजङ्ग शाहीले सहर बस्ने रहर र विदेशिने लहडलाई रोक्ने र समाजको सोचलाई बदल्ने प्रयत्न गरेका छन् । उनका सिर्जनामा देशका होनहार युवाहरू विदेश पलायन भइरहेकोमा चिन्ता छ । गाउँ घर वनजर हुन लागेकामा संवेदनशील चेतना छ । देश प्रेमको आग्रह छ । स्वाभिमानी सोच र अथाह ऊर्जा छ ।

एउटा चिट्ठीको शैलीमा कथाको जालो बुनेर लेखक शाहीले घरकी गृहणीलाई कथाको प्रमुख पात्रको रूपमा प्रस्तुत गरेका छन् । एकाङ्की संवादमै कथाको आरम्भ र अन्त्य छ । लेखनमा साहित्यको रस भर्न लेखक शाही अब्बल देखिन्छन् र सरल र सुबोध लयमा स्वाभिमानको सन्देश प्रवाह गर्न सफल छन् । समग्रमा ‘भाइलाई चिट्ठी’ लघुकथा समयसँग लडेको छ । वर्तमान फेर्न खोजेको छ ।

राजनीतिक एवं सामाजिक आदि विविध प्रसङ्गमा विश्लेषणात्मक लेखन, कथा कविता र विशेष गरी लघुकथा लेखनमा पोख्त कौशल राख्ने कथाकार देवजङ्ग शाही समाजलाई बदल्ने राजनीति अर्थात उन्नत आर्थिक र सामाजिक रूपान्त्रण गर्ने अभियानमा अभिछिन्न आफ्नो जीवन समर्पण गरेका राष्ट्रिय राजनीतिको केन्द्रीय स्तरका सक्रिय बौद्धिक नेता हुन् । मेरो शुभकामना !

(समीक्षक सुरेशजङ्ग शाह कवि, लेखक, गीतकार, कथाकार, उपन्यासकार र पत्रकार हुन् । सन् १९९५ (विसं २०५१) मा स्थापित नेपाली साहित्य विकास परिषद् यूकेका संस्थापक तथा निवर्तमान अध्यक्ष शाह लाली गुराँस साहित्यिक पत्रिकाका प्रधान सम्पादक पनि हुन्)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू