बुधबार, ७ जनवरी, २०२६
00:57 | ०६:४२

माया ग्रुपको ब्रान्ड एम्बासडर बने ९ क्रिकेट खेलाडी

नेपाली लिङ्क जनवरी ५, २०२६

लन्डन- लन्डनस्थित एक व्यवसायिक कम्पनी ‘माया ग्रुप’ ले नेपाली राष्ट्रिय टोली र उदीयमान खेलाडी गरी ९ खेलाडीसंग प्रायोजन सम्झौता गरेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी, भीम सार्की, गुलशन झा, नन्दन यादव, अर्जुन साउद, रिजन ढकाल, प्रसिद्ध जैसी, सुशील रावल र नेपाली यू–१९ महिला क्रिकेट टोलीकी उपकप्तान सोनी पाख्रिनसंग ‘माया ग्रुप’ ले ब्रान्ड एम्बासडरसहित प्रायोजन सम्झौता गरेको हो । काठमाडौंस्थित होटल सोल्टीमा कार्यक्रम भएको थियो ।

यसले यी क्रिकेट खेलाडीको प्रतिभालाई अझ परिस्कृत गराउन सहयोग गर्ने माया ग्रुपको विश्वास छ ।

‘हाई स्किल प्रशिक्षणका लागि खेलाडीहरूले आर्थिक हिसाबमा कसैको मुख नताकुन भनेर हामीले यो प्रायोजन सम्झौता गरेका हौं’-माया ग्रुपका निर्देशक राज पाण्डेले भने ।

यो सम्झौताले माया ग्रुपको नेपाली क्रिकेटलाई सहयोग र समर्थन गर्ने प्रतिवद्धतालाई निरन्तरता दिएको ग्रुपकी अर्की निर्देशक डा. रक्षा थापाले बताइन्। ‘नेपालभर रहेका विभिन्न एकेडेमीमा पनि यसले सहयोग गर्नेछ । यो पहलले खेल विकास र राष्ट्रिय गर्व दिगो व्यावसायिक वृद्धिसँगै हातेमालो गर्दै जानुपर्छ भन्ने समूहको विश्वासलाई प्रतिविम्ब गर्ने आशा छ’- डा. थापाले भनिन्।

‘माया’ को स्थापना सन् २०१८ मा भएको थियो । यो कम्पनीले अहिले ‘माया ग्रुप’ को नाममा नेपाल र बेलायतमा कार्य गर्दै आएको छ ।

माया ग्रुपले व्यवसायसँगै नेपाली क्रिकेट र खेलकुदमा दीर्घकालिन योजनाहरू बनाएर सहयोग गर्दै आएको छ चाहे त्यो प्रायोजनको हिसाबमा होस् वा ग्रासरुटका कार्यक्रम सञ्चालन । ‘माया ग्रुप’ राज पाण्डे र रक्षा थापा दम्पतीको सोच र योजना हो ।

गत मे र जुन महिनामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले गरेको इंग्ल्यान्ड, वेल्स र स्कटल्यान्ड भ्रमणमा रहँदा ‘माया ग्रुप’ ले नै यसको व्यवस्थापन जिम्मा लिएको थियो ।

राज पाण्डे तथा डा. रक्षा थापा

‘माया ग्रुप’ ले ‘माया’ नामबाट विभिन्न क्षेत्रमा कार्य गर्दै आएको छ ।

माया क्रिकेट क्लब, माया इन्भेस्टमेन्ट प्रोपर्टी, माया सपोर्टेड लिभिङ, माया स्पोर्टस सेन्टर, राष्ट्रिय पोसाक घर (बेलायत), माया हेटौंडा रोयल्स र यस अन्तर्गतका संघसंस्था हुन् ।

यी प्लेटफर्ममार्फत निरन्तर रुपमा नेपालमा खेलाडी, एकेडेमीहरु र खेलकुद पूर्वाधारमा साथ र सहयोग गर्दै आएको छ भने बेलायतमा रहेका नेपाली समुदायलाई जोड्ने कार्य गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू