लन्डन ट्रोक्सीमा हजारौं दर्शकमाझ ब्याण्डसहित गुञ्जिए सुजन चापागाईं


लन्डन- लन्डनमा हलिउड र बलिउडका चर्चित कलाकारका प्रस्तुति भइरहने प्रख्यात भेन्यू ‘द लन्डन ट्रोक्सी’ मा शनिबार बेलुका भने नेपाली संगीत गुञ्जियो।
बेलायतका विभिन्न स्थानबाट भेला भएका झन्डै ३ हजार नेपाली संगीत प्रेमीमाझ सुनिए पछिल्लो पुस्ताका सर्वाधिक चर्चित र लोकप्रिय गायक सुजन चापागाईं।
लन्डनस्थित दुई इभेन्ट आयोजक समूह ‘लाइम एन्ड लेमन इन्टरटेन्मेन्ट’ र ‘हल्ला इभेन्ट्स’को आयोजनामा पहिलोपटक आफ्नो सिंगो ब्याण्ड ‘इन्फिनिटी’सहित लन्डनमा प्रस्तुति गर्दै थिए सुजन ।
झन्डै तीन घण्टा लामो प्रस्तुतिमा सुजनले एक दर्जन लोकप्रिय गीत सुनाएर दर्शकलाई मनोरन्जन दिलाए।
आफ्ना निकै मन पराइएका फूलथुंगे रानी, काफ्ले, तीनपाते, घुमी घुमी, फुलहरू मुस्काउँछन्, लजाएर, मखमली लगायतका चर्चित गीत उनले बेलायतका दर्शकमाझ प्रस्तुत गरेका थिए ।
सोही अवसरमा सुजनले दिवंगत गायक प्रेमध्वज प्रधानप्रति श्रद्धाञ्जलीस्वरूप उनको ‘देउरालीमा’ बोलको गीत गाएर समेत सुनाएका थिए।
सुजन तथा उनको ब्याण्डले प्रस्तुत गरेको नेपाली मौलिक र आधुनिक संगीतको मिठो मिश्रणलाई दर्शकले मन पराए। आफूसंगै गाउँदै, नाच्दै रमाइरहेका दर्शकलाई सुजनले बारम्बार धन्यवाद दिए र उनीप्रति दर्शाएको अपार प्रेमका लागि कृतज्ञता प्रकट गरे।
सुजनले प्रस्तुति गरेको ‘ट्रोक्सी’ हलिउड र बलिउडका नामी कलाकारहरूले पनि प्रस्तुति गर्ने गरेको लन्डनको प्रतिष्ठित भेन्यू हो जहाँ अरिजित सिंह, नेहा कक्कर, श्रेया घोषल जस्ता प्रसिद्ध भारतीय कलाकारका कन्सर्ट भइसकेका छन्।
आयोजक लाइम एन्ड लेमन इन्टरटेन्मेन्टका सागर पौडेलले लण्डनको प्रतिष्ठित भेन्यूमा हजारौं दर्शकमाझ पछिल्लो समयका सर्वाधिक चर्चित गायक सुजनलाई पहिलोपटक ब्याण्डसहित प्रस्तुत गर्न पाएकोमा गौरव व्यक्त गरे।
यो कन्सर्ट नेपाली संगीतको लागि एउटा ऐतिहासिक ‘माइलस्टोन’ बनेको र भविष्यमा अरु थुप्रै नेपाली कलाकारलाई पनि यसैगरी बेलायतका स्टेजहरूमा प्रस्तुत गर्न आफूहरु उत्साहित र प्रेरित बनेको अर्का आयोजक हल्ला इभेन्ट्सका नबु घलेले बताए।



