सोमबार, ५ जनवरी, २०२६
02:11 | ०७:५६

जेनजी आन्दोलनका चार जना घाइतेलाई बेलायतबाट सहयोग हस्तान्तरण

नेपाली लिङ्क जनवरी ४, २०२६

लन्डन । माया फाउन्डेशन यूकेको सहयोग तथा दारी ग्याङको समन्वयमा जेनजी आन्दोलनका क्रममा घाइते भएका चार जनालाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।

३ जनवरी शनिबार काठमाडौंमा एक कार्यक्रमबीच उपचारका लागि अत्यावश्यक परेका ४ जना घाइतेलाई जनही ६० हजार रुपैयाँका दरले कुल २ लाख ४० हजार रुपैयाँ नगद हस्तान्तरण गरिएको हो ।

सहयोग पाउने घाइतेहरुमा शिवम कुमार लाभ, लोकेन्द्र खड्का, समिता कार्की र सुवाष अर्याल छन् । आन्दोलनका घाइते रुपिन खड्काको संयोजकत्वमा घाइतेका विवरण तयार गरिएको थियो ।

जेनजी आन्दोलनका क्रममा घाइते भएकाको उपचार तथा सहयोगका लागि बेलायतका व्यवसायी दम्पत्ति राज पाण्डे र डा. रक्षा थापाको माया फाउन्डेशनले फन्ड रेजिङ अभियान सञ्चालन गरेको थियो । सोही अभियानमार्फत संकलित रकम हाल नेपाल भ्रमणमा रहेका राज पाण्डे र रक्षा थापाको उपस्थिति तथा दारी ग्याङको समन्वयमा घाइतेलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा घाइतेहरुले आन्दोलनमा भोग्नुपरेका कठीन अनुभव, उपचारका चुनौती तथा हालको अवस्थाबारे आफ्ना अनुभव सुनाएका थिए ।

आयोजक संस्थाहरूले घाइतेहरूको साहस र संघर्षप्रति सम्मान व्यक्त गर्दै आगामी दिनमा पनि आवश्यक सहयोगका लागि साथ रहने प्रतिवद्धता जनाएका छन्।

दारी ग्याङले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता मानवीय तथा सहयोगमूलक कार्यहरू निरन्तर रूपमा अगाडि बढाउँदै आएको यसका यूके संयोजक सुशील गौतमले जनाए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू