शनिबार, ३ जनवरी, २०२६
18:17 | ००:०२

आमालाई चिठीः युद्धमा उभिएको प्रेम कथा !

पुस्तक समीक्षा

-सुरेशजङ्ग शाह जनवरी ३, २०२६

बायाँपट्टि लेखक र पुस्तक समीक्षक सुरेशजंग शाह

‘हाम्रो त्यो भेट दुई वर्ष पछिको थियो । भेटमा दुबैजना खुसीले गद्गगद भयौँ । धेरैबेर सम्म दह्रो गरी हात मिलायौँ । अनि अङ्कमाल गर्‍यौँ र चौतारीमा बस्यौँ । नजिक वास बस्ने कतै पनि ठाउँ थिएन । मलाई असाध्यै पानी प्यास लागेको कुरा सुनाएँ । अनुपमले तुम्लेटको पानी दिनुभयो । निधार पुछि दिनुभयो । कपाल पछाडि लगेर बाँधिदिनु भयो । मैले पानी पिउँन्जेल टर्च बालेर देखाइरहनु भयो । घाँटी सुकेको थियो पानी पिउन सारै अप्ठेरो भयो ।’

‘अनुपमले आफ्नो झोलामा एक काइँयो केरा ल्याउनु भएको रहेछ । हामी दुबैजनाले केरा खाँदै दाम्पत्य जीवनमा बाँधिने निर्णय गर्‍यौँ । केन्द्रीय प्रशिक्षणमै विवाह गर्ने सहमति भयो । त्यहीबेला एक्कासी अनुपम आएको बाटोतिरबाट अन्दाजी एक सय मिटर नजिकै सेना बुट बजार्दै आइरहेको आवाज मैले सुनेँ । मैले एउटा पेस्तोल र गोली अनुपमलाई दिएँ । हामीले फरक–फरक बाटोबाट घेरा तोड्ने निधो गरयौं । म वनैवन उत्तरतिर लागेँ । अनुपम पूर्वपट्टि लागेँ । मेरो भूगोल उकालो उकालो थियो । शाही सेना पोजिसन लिएर बसेका रहेछन् । म तीन सय मिटर माथि पुगेपछि सेनाले फायर खोल्यो । अन्धाधुन्ध गोली बर्सन थाले । ती सेना अनुपमलाई पच्छाउँदै आएका रहेछन् … ! ‘

युद्धमैदानमै पलाएको प्रेम, साँचेको माया, विवाह बन्धन र युद्धमै छिनिएको सिन्दूर पछि गर्भमा हुर्कँदै गरेको मायाको चिनो अनुपमको वारेस जोगाउन एउटा नारी योद्धाले गरेको सङ्घर्षका मार्मिक कथा बुनेर लेखक केशव नेपाल अर्थात विजय कुमारले ‘आमालाई चिट्ठी’ कृति पाठक समक्ष पस्केका छन् । लेखकले यस कृतिलाई चिट्टी साहित्य विधामा वर्गीकृत गर्न रूचाएका छन् ।

पुस्तकभित्र वार्ता र संवाद न्यून छन् । बन्दुक र गोलाबारुदका आवाजहरू बढी छन् । प्रेमका आलिङ्गन भन्दा सैनिकका यातना बढी छन् । विकराल भीरपाखा, हिमाली भेग दरार, घना वनजङ्गल र काला रातहरू बोकेको भूगाल छ । सैनिकका घेरा छन् । हिरासतका यातना छन् । माओवादी लडाकुका अठोट छन् । जनयुद्ध कमान्डका आदेश र युद्ध मोर्चा छन् ।

दुई विमुख युद्ध मोर्चामा रहेका दुई प्रेमिल जोडीलाई एउटा भेट गर्न झन्डै दुई वर्षको समय लाग्छ । हुम्लाको दार्मामा पोस्ट सम्हालिरहेका लडाकु अनुपम र संखुवासभाको भोटेखोला मोर्चामा रहेकी लडाकु मुना दुई विपरीत विकट हिमाली क्षेत्रबाट दस दिन दस रात हिँडेर सिर्फ एक दिनका लागि भेट गर्न गोर्खाको लार्केभन्ज्याङसम्म आइपुग्दाको कठोर यात्रा मार्मिक छ । कमरेडहरूका माझ देशका लागि जीवन समर्पित मुट्ठी उठाएर गरिएको अनुपम र मुनाको विवाह बन्धन सैनिकको गोलीले छिनाएपछि एक्लिएकी कथाकी योद्धा नायिका मुनाले जङ्गलको युद्धमा होस् वा सैनिक हिरासतमा होस् आफ्नो शिरको सिन्दूर अनुपमको वारिस मायाको चिनो गर्भको बच्चालाई जोगाउन गरेका अनेक प्रयास र सहेका यातना उत्तिकै मर्मस्पर्सी छन् । हिरासतमै शरीरभरि अन्दाधुन्दा बुट बजार्ने कठोर मनका सैनिकदेखि प्रसवको बेला लुकिछिपी सहयोग पुरयाउने कोमल ह्दयी सैनिक जवानसम्मका घटनाक्रमहरू मन रूवाउने कारुणिक छन् ।

चलचित्रको पर्दामा देखिइरहेको कुनै चलचित्रको दृश्यझैँ माओवादी युद्धकालको कहाली लाग्दो दृश्य आखाँमा झल्झली दर्शाउने गरी लेखक केशव नेपाल अर्थात् विजय कुमारले बडो मार्मिकरूपले पुस्तकमा उतार्न सफल छन् । लेखक स्वयम् युद्धमोर्चा सम्हालेका युद्ध मैदानमा लडेका लडाकु योद्धा भएर होला, रणमैदानको लडाइँदेखि सैनिक घेराबाट ज्यान जोगाउन गरिएका अनेक कष्टकर प्रयासहरूसम्मको घटना परिघटनाहरू सूक्ष्मरूपले केलाएर कथालाई जीवन्त बनाउन सफल छन् । लेखकले कथाकी नायिका मुनालाई मुख्य भूमिकामा उतारेर कथाको जालो आत्मपरक शैलीमा बुनेका छन् ।


कथाको आरम्भदेखि अन्तसम्म वादसंवाद एउटा चिट्ठीभित्र नै गराएका छन् अर्थात् कथाकी नायिका मुनाले आफ्नी आमालाई आफ्नो प्रेम कहानी विवाह बन्धन्, पुछिएको सिन्दूर र अनुपमको वारिस कोखको बच्चा लगायत युद्धका कहाली लाग्दा घटना परिघटनाहरू, सैनिक घेराबन्दी र हिरासतका यातना इतिवृत्तान्त वर्णन गरेर लेखेको चिट्ठीकोरूपमा लेखिएको युद्धकालीन इतिहास र भत्किएको प्रेम कहानी बोकेको करुण र वीर रसले भरिएको पुस्तक ‘आमालाई चिट्ठी’ नेपाली साहित्यको फाँटमा उत्तर–उत्तर आधुनिक साहित्यको एउटा खरो उपन्यास हो । बाँकी पाठक वर्गमा ।

थुप्रै कथा, कविता, उपन्यास आदि विविध विधामा कृतिहरू प्रकाशित गरिसकेका यस पुस्तकका लेखक साहित्यकार मेरा साथी केशव नेपाल विजय कुमारलाई धेरै वर्षपछि यही पुस्तकका माध्यमबाट साहित्यकारकोरूपमा भेट्न पाउँदा खुसी लाग्यो । मित्र लेखकमा मनभित्रबाटै बधाई तथा शुभकामना ।

(समीक्षक सुरेशजङ्ग शाह लन्डन बस्ने एक कवि, लेखक, गीतकार, कथाकार, उपन्यासकार र पत्रकार हुन् । उनी सन् १९९५ मा स्थापित नेपाली साहित्य विकास परिषद् यूकेको संस्थापक तथा निवर्तमान अध्यक्ष एवं लाली गुराँस साहित्यिक पत्रिकाका प्रधान सम्पादक समेत हुन्)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू