बेलायतको रेडिङ बरोमा काउन्सिलर उम्मेदवार बनिन् प्रतिक्षा गुरुङ



लन्डन- बेलायतमा नेपालीहरुको बाक्लो बस्ती रहेको शहर रेडिङमा एक नेपाली मूलकी चेली स्थानीय निर्वाचनमा उम्मेदवार बनेकी छन् ।
आगामी मे पहिलो साता हुने निर्वाचनका लागि रेडिङ बरो काउन्सिलको ब्याटल वार्डमा सत्तारुढ लेबर पार्टीका तर्फबाट प्रतिक्षा गुरुङ काउन्सिलर उम्मेदवार बनेकी हुन्।
धेरै नेपालीको बसोबास रहेको रेडिङमा काउन्सिलर पदका लागि उम्मेदवार बन्ने प्रतिक्षा नेपाली मूलकी पहिलो महिला हुन् ।
यसअघि नेपाली समुदायबाट केही पुरुष उम्मेदवार निर्वाचन लडेपनि अहिलेसम्म कोही निर्वाचित हुन भने सकेका छैनन् ।
प्रतिक्षा उम्मेदवार बनेको रेडिङको ब्याटल वार्ड यसअघि पनि लेबर पार्टीकै काउन्सिलर निर्वाचित भएको पकड क्षेत्र हो । नेपाली मूलका मतदाता समेत उल्लेख्य रहेको वार्ड भएकाले प्रतिक्षा निर्वाचित हुने सम्भावना बलियो ठानिएको छ ।
विगत ४ वर्षदेखि लेबर पार्टीमा आबद्ध प्रतिक्षाले पार्टीको वार्ड कमिटीमा महिला प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी छन् ।

प्रतिक्षा गुरुङ
काउन्सिलर उम्मेदवारका रुपमा प्रतिक्षाले भूतपूर्व गोर्खा कम्युनिटीसंग समन्वय गर्दै उनीहरुका लागि यहाँको स्वास्थ्य सेवा, सुविधाको पहुंच सहज बनाउने र गोर्खाहरुलाई स्थानीय समुदायमा अन्तरघुलन गराउनेदेखि समुदायमा हुने गरेका एन्टी सोसल गतिविधि हटाउने र यसअघि नै उनी सक्रिय रहंदै आएको सफा र सुरक्षित शहर निर्माण अभियानजस्ता एजेण्डालाई आफ्नो प्राथमिकतामा राखेकी छन् ।
प्रतिक्षाका श्रीमान एवम् ग्रेटर रेडिङ नेपाली समाजका पूर्व उपाध्यक्ष दीपक गुरुङ पनि यतिबेला पत्नीको निर्वाचन अभियानमा सक्रियतापूर्वक लागिरहेका छन् । चुनाव प्रचारप्रसारको लागि घरदैलोको साथमा स्थानीय नेपालीहरुमाझ मतदाता सचेतना जगाउन आफूहरु लागि परेको दीपकले बताए ।
प्रतिक्षाको चुनावी घरदैलोमा हालसम्म बेलायत सरकारका क्याबिनेट मन्त्री नर्दन आयरल्यान्ड सक्रेटरी हिलारी बेन, सांसद म्याट रोडालगायतले पनि साथ दिइसकेका छन्।
नेपालमा माइती कास्की घान्द्रुक तथा पुख्र्यौली घर स्याङजा सिरुवारी र हाल चितवन बसाइ रहेकी उनी विगत १५ वर्षदेखि परिवारका साथ बेलायत बस्दै आएकी छन्। उनी रेडिङको बक्सशायर अस्पतालमा सिनियर नर्सका रुपमा कार्यरत छन् ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



