बेलायतमा कुटपिट गर्दा गोर्खा सैनिक फन्दामा


लन्डन- बेलायतमा सार्वजनिक स्थानमा कुटपिटमा संलग्न हुने एक गोर्खा सैनिक अदालतबाट दोषी ठहर भएका छन्।
बेलायतको कोल्चेस्टरस्थित मर्भिल ब्यारेक्सका २५ वर्षीय गोर्खा सैनिक सुवास राईलाई गत फेब्रुअरी महिनामा भएको घटनाका लागि चेम्स्फोर्ड क्राउन कोर्टले हालै दोषी करार गरेको हो।
अदालतले उनलाई दोषी ठहर गरे पनि कुनै जेल सजाय नगरी एक वर्षका लागि विभिन्न सामुदायिक कार्यमा योगदान गर्नुपर्ने कम्युनिटी अर्डरको सजाय गरेको छ।
अदालतका अनुसार उक्त घटना गत फेब्रुअरीमा कोलचेस्टरस्थित एक बस स्टप नजिक भएको थियो। गोर्खा सैनिक राई आफ्ना अन्य दुई साथीसँगै त्यहाँ पुगेका थिए, जहाँ उनीहरू र एक अर्का व्यक्तिबीच विवाद सुरु भएको थियो।
विवाद बढ्दै जाँदा राईको समूहले ती व्यक्तिमाथि कुटपिट गरेको थियो। घटनाका क्रममा पीडितलाई टाउको र शरीरमा चोट लागेको थियो, तर ज्यान जाने वा गम्भीर रुपमा स्थायी क्षति हुने अवस्था भने आएको थिएन।
घटनापछि गोर्खा सैनिक राईविरुद्ध सार्वजनिक स्थानमा शान्ति भंग हुने खालको झगडा, अर्थात् ‘एफ्रे’ को अभियोग लगाइएको थियो, जुन अभियोग उनले अदालतसमक्ष स्वीकार गरेका थिए।
सुनुवाइका क्रममा राईले परिस्थितिवश झगडामा संलग्न हुन पुगेको बताएका थिए।
अदालतमा प्रस्तुत विवरणअनुसार राई विगत छ वर्षदेखि बेलायती सेनाको गोर्खा रेजिमेन्टमा कार्यरत छन् र यसअघि उनीविरुद्ध कुनै आपराधिक मुद्दा दर्ता थिएन। उनका कमाण्डिङ अफिसरहरूले समेत उनलाई एक अनुशासित, जिम्मेवार र कर्तव्यनिष्ठ सैनिकका रूपमा अदालतमा उल्लेख गरेका थिए।
यी सबै पक्षलाई विचार गर्दै अदालतले जेल सजायको सट्टा १२ महिनाको सामुदायिक सेवाको सजाय दिएको हो। आदेशअनुसार उनले तोकिएको अवधिमा विभिन्न सामुदायिक सेवामा संलग्न हुनुपर्नेछ।
बेलायतमा कसैलाई कुटपिट गर्नु कानुनविपरीत मात्र होइन, जीवनभर असर पार्न सक्ने गम्भीर गल्ती मानिन्छ।
बेलायतमा आपराधिक रेकर्ड बन्यो भने यसले व्यक्तिलाई रोजगारी, भिसा, स्थायी बसोबास, सैनिक सेवा तथा सरकारी कामहरुको लागि गम्भीर असर पार्छ।
सानो गल्तीले पनि भविष्यका धेरै ढोका बन्द हुन सक्ने भएकाले यस्ता झैझगडा वा कुटपिटबाट सकेसम्म टाढा बस्नु, शान्त रहनु र आवश्यक परेको खण्डमा कानुनी बाटो अपनाउनु नै सुरक्षित र बुद्धिमानी हुन्छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



