लन्डन अक्टोबर ग्यालरीमा गोविन्द साहका तेलचित्र तथा एक्रिलिक कलाकृति


लन्डन– बेलायतमा बसोबास गरिरहेका कलाकार गोविन्द साह ‘आजाद’ को एकल कला प्रदर्शनी लन्डनको अक्टोबर ग्यालरीमा सुरु भएको छ ।
डिसेम्बर ४ देखि सुरु भएको यो प्रदर्शनी २०२६ जनवरी २४ सम्म चल्नेछ ।
उक्त कला प्रदर्शनीमा साहका क्यानभासमा बनाइएका ठूला तेलचित्र तथा एक्रिलिक कलाकृतिहरूको नवीनतम शृंखला प्रस्तुत गरिएको छ भने साना आकारका कलाकृतिहरू पनि प्रदर्शित छन् ।
‘जर्नी टु द हर्ट अफ लाइट’ शीर्षकको प्रदर्शनीले कलाकारको भित्री तथा बाह्य दुवै यात्रालाई कलात्मकरूपमा एकसाथ प्रस्तुत गरेको छ ।
सरसरी हेर्दा सम्बन्धहीन जस्ता लागेपनि उच्च हिमशृङ्खलाका पर्वत शिखरहरू र मार्गेटका समुद्री दृष्य दुवैलाई साहले बादलका रूपान्तरशील आकृतिबाट जोडेका छन् । बादल चिरिँदा प्रकाशका किरणले झल्किने ती दृष्य उनका चित्रहरूमा प्रवल रूपमा अभिव्यक्त हुन्छन्। १९ औं शताब्दीका चर्चित ब्रिटिश चित्रकार जे एम डब्लु टर्नरका तेलचित्रमा देखिने प्रकाश छटा प्रति मोहित साहका कलाकृतिहरू भित्री प्रकाशले भरिपूर्ण देखिन्छन्।
आकाशमा फैलिने बादलका तह–तहमा खेल्ने प्रकाशका रूपान्तरहरूबाट मोहित साहले बाह्य वातावरणका बदलिँदो अनुभवहरूलाई आफ्नो ‘भित्री भू–दृश्य’मा भइरहेका सूक्ष्म भावनात्मक रूपान्तरणहरूसँग जोडेर चित्रित गर्छन्।
उनका चित्रहरू क्यानभासमा तेल र एक्रिलिकका तह–तहमा गुथिएका सूक्ष्म स्ट्रोकहरूले बनेका हुन्छन्। यो पुनरावृत्तिमूलक सिर्जनात्मक यात्राले अन्ततः जीवनका जटिल रहस्यहरूमा ध्यानमग्न अनुभव गराउँछ, अक्टोबर ग्यालरीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
‘चित्र बनाउनु मेरो निरन्तर आत्मविलयको प्रक्रिया हो । चित्रसँगको संवादमा मभित्र विचारहरू जन्मिन्छन्। ज्ञान त हामी सबैभन्दा बाहिर कतै अवस्थित छ—म भने चित्रकलामार्फत त्यसलाई छुन र पत्ता लगाउन खोज्छु’- उनी भन्छन् ।

साह विशाल र विराट विषयवस्तुहरूलाई कलामा उतार्न कहिल्यै हिच्किचाउँदैनन्। उनका सुरुवातका श्रृंखलाले टाढा–टाढाका नक्षत्रहरूबाट आउने प्रकाशले उज्यालो बनाएको अन्तरिक्षका नेबुला र दीर्घिकाको दृष्य प्रस्तुत गरेको पाइन्छ । तर, उनका पछिल्ला चित्रहरू नयाँ दिशामा उन्मुख छन्—जहाँ क्यानभासमा समुद्री छालले बनाएका साना पोखरीहरू, पानीमुनिका खाडीहरू, चट्टानका सूक्ष्म आकृतिहरू र कंकडले सजिएका तटहरू चित्रित छन्।
‘म अहिले ‘माउन्टेन टु मार्गेट’ भनेर शृंखला बनाइरहेको छु। म हिमालको मुलुकबाट बादलसंग उड्दै समुद्रसम्म आइपुगें। म आफ्नो देश छोडेर किन यहाँ आएँ भनेर आफैंलाई प्रश्न गर्ने गर्थें’- साहले भने- ‘चित्र कोर्दाकोर्दै सायद भाग्यले मलाई यहाँसम्म ल्याई पुरयाएको हो कि जस्तो लाग्छ । अहिले चित्रकला मेरो लागि आध्यात्मिक यात्रा जस्तै बनेको छ ।’
राजविराजमा जन्मिएका गोविन्द साह ‘आजाद’ ले सन् २००६ मा बंगलादेशको ढाकास्थित एमए फाइन आर्ट कार्यक्रममा अध्ययन थालेका थिए । त्यसपछि प्रायोजन पाएर उनी लन्डन आए र २००८ मा विम्बल्डन कलेज अफ आर्टबाट एमए फाइन आर्ट डिग्री हासिल गरे ।
अक्टोबर ग्यालरीमा उनको पहिलो एकल प्रदर्शनी सन् २०११ मा आयोजना गरिएको थियो । हाल उनी इंगल्याण्डको मार्गेटस्थित आफ्नै स्टुडियोमा बसेर कलाकृति सिर्जना गर्ने गरेका छन् ।


