मंगलबार, ९ डिसेम्बर, २०२५
07:55 | १३:४०

ब्रिटिश र्‍यापरद्वारा आफ्नो कारको ठक्करबाट नेपाली विद्यार्थीको निधन भएको स्वीकार

नेपाली लिङ्क डिसेम्बर ९, २०२५
लन्डन– अवार्ड विजेता चर्चित ब्रिटिश र्‍यापर गेट्सले उत्तर–पूर्वी लन्डनमा एउटा हिट–एन्ड–रन दुर्घटनामा एक युवकको ज्यान गएको घट्नामा आफू दोषी भएको स्वीकार गरेका छन् ।
ग्राइम कलाकार गेट्सको वास्तविक नाम जस्टिन क्लार्क–स्यामुएल हो। उनले चलाएको बीएमडब्लु कारले २० वर्षीय नेपाली विद्यार्थी युविन तामाङलाई गत १८ अक्टोबरमा लन्डनको इल्फोर्डमा ठक्कर दिएको थियो ।  त्यसपछि उनी घटनास्थलमा मोटर नरोकी फरार भएका थिए ।
प्रहरीका अनुसार उनले ३० माइल प्रतिघण्टा क्षेत्रमा  ६० माइल प्रति घण्टाभन्दा बढी गतिमा गाडी चलाइरहेका थिए र सडक पार गर्दै गरेका तामाङलाई ठक्कर दिएका थिए।
पूर्वी लन्डनको वुडफोर्डका वासिन्दा ४१ वर्षीय क्लार्क–स्यामुएलले जोखिमपूर्ण ड्राइभिङका कारण तामाङको मृत्यु गराएको र सोही दिन गरेको अर्को जोखिमपूर्ण ड्राइभिङ सम्बन्धी मुद्दामा आफू दोषी भएको स्वीकारेका छन्। उनले मादक पदार्थको सीमा नाघेर सवारी चलाएको र जोखिमपूर्ण ड्राइभिङ गरेको दुईवटा थप अभियोगसमेत सामना गरिरहेका छन्।
उक्त घातक दुर्घटना स्थानीय समय अनुसार राति ११ः३० बजे इल्फोर्डको रेडब्रिज लेनमा युविनले सडक काट्दै गर्दा भएको थियो। ठक्कर लागेको दुई दिनपछि उपचारका क्रममा अस्पतालमा उनको मृत्यु भएको थियो।
प्रहरीले भोलिपल्ट बिहानै वुडफोर्डस्थित उनको घरमा खोजतलास गरेको थियो।
उनकै नाममा दर्ता र बीमा गरिएको कालो बीएमडब्लु गाडी ‘गम्भीर रूपमा क्षतिग्रस्त’ अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
‘सेकन्डमै लिइने निर्णयको ठूलो प्रभाव पर्न सक्छ’
अदालतले क्लार्क–स्यामुएललाई आगामी फेब्रुअरी १२ मा सजाय सुनाइने जनाएको छ । पहिलो मुद्दा मादक पदार्थको सीमा नाघेर लापरवाहीपूर्वक गाडी चलाउँदा मृत्यु गराएको भन्ने हो। आरोपअनुसार उनले १८ अक्टोबरमा ११९ माइक्रोग्राम अल्कोहलसहित गाडी चलाएका थिए, जुन कानुनी सीमाभन्दा धेरै माथि हो।
दोस्रो मुद्दा सोही दिन पूर्वी लन्डनको रेडब्रीज क्षेत्रमा विशेषगरी वर्सेस्टर क्रेसेन्ट र वरपरका सडकमा जोखिमपूर्ण रूपमा गाडी चलाएको आरोपसँग जोडिएको छ।
आफ्ना बाबा आमाका एक्ला छोरा युविन उच्च शिक्षाका लागि गत वर्ष सेप्टेम्बर बेलायत आएका थिए । उनी युनिभर्सिटी अफ रोह्याम्पटनमा बीएस्सी विजनेश म्यानेजमेन्टमा दोश्रो वर्षमा अध्ययनरत थिए ।
बीबीसीका अनुसार पेन्टनभिल जेलबाट भिडियो लिंकमार्फत अदालतमा हाजिर भएका क्लार्क–सामुएल अहिले हिरासतमा छन्, र न्यायाधीशले उनलाई कैद सजाय भोग्नुपर्ने स्पष्ट पारेका छन्। तर, सजायको अवधि कति हुने भन्ने भने तय भएको छैन।
उनी सवारी चलाउन पनि अयोग्य घोषित गरिएका छन्, तर प्रतिबन्ध अवधि भने पछि निर्धारण गरिनेछ।
ओल्ड बेलीमा सोमबार सुनुवाइ हुंदा युबिनका बुबाआमा विकास तामाङ र शर्मिला मगर तामाङ, उनका परिवार एवं एनआरएनए यूके प्रतिनिधिहरु पनि सहभागी थिए ।
बेलायतस्थित कैयौं नेपाली संघसंस्थाले युबिनको परिवारलाई चन्दा संकलन गरि आर्थिक सहयोग गरिरहेका छन् ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू