जेनेस सलुशन तथा ओमान डेटा पार्कबीच सहमति



लन्डन – युकेमा मुख्यालय रहेको गुणवत्तापूर्ण आइटी तथा साइबर सुरक्षा सम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशन तथा ओमान डेटा पार्कबीच क्लाउड ट्रान्सफर्मेसन, कृत्रिम बुद्धिमत्ता (एआइ) समाधान, साइबर सुरक्षा सेवा तथा सफ्टवेयर इन्जिनियरिङको क्षेत्रमा संयुक्त रूपमा काम गर्ने विषयमा एक सहमति भएको छ।
सोमबार मस्कटस्थित ओमान डेटा पार्कको मुख्यालयमा आयोजित एक समारोहमा जेनेस सलुशनका संस्थापक तथा सीइओ अञ्जनी फुयाँल र ओमान डेटा पार्क (ओडीपी) का सीइओ मकबुल अल–वाहैबीले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।
“हामीले जेनेस सलुशनसँग क्लाउड कम्प्युटिङ, एआइ, साइबर सुरक्षा र सफ्टवेयर विकासका क्षेत्रमा सहकार्य सुदृढ गर्न औपचारिक रूपमा समझदारीपत्रमा हस्ताक्षर गरेका छौँ। यो साझेदारीले जेनेसको विश्वव्यापी विशेषज्ञता र हाम्रो स्थानीय रूपमा होस्ट गरिएको सुरक्षित पूर्वाधारलाई एकीकृत गर्दै ओमान तथा क्षेत्रीय स्तरका ग्राहकहरूलाई अझ बढी मूल्य प्रदान गर्नेछ,” ओमान डेटा पार्कले जारी गरेको विज्ञप्तिमा उल्लेख छ- “साथै, हामी क्लाउड सेन्टर अफ एक्सिलेन्सलाई प्रवर्द्धन गर्नेछौँ, संयुक्त रूपमा एआइ समाधान विकास गर्नेछौँ र स्थानीय तथा क्षेत्रीय बजारमा नयाँ सम्भावनाहरू खोल्नेछौँ।”
जेनेस सलुशनका सीइओ फुयाँलका अनुसार यस साझेदारीमार्फत जेनेस सलुशनले क्लाउड ट्रान्सफर्मेसन, एआइ, साइबर सुरक्षा तथा सफ्टवेयर इन्जिनियरिङका क्षेत्रमा आफ्नो विश्वव्यापी अनुभव प्रयोग गरी ओमान डेटा पार्कको दक्षता अझ मजबुत बनाउने छ।
“हामी ओमान डेटा पार्कको क्लाउड सेन्टर अफ एक्सिलेन्सलाई उन्नत गर्ने, नयाँ समाधानहरू विकास गर्ने र ओमान लगायत अन्य मुलुकका ग्राहकहरूलाई अझ उन्नत, स्केलेबल सेवा प्रदान गर्न मद्दत गर्नेछौँ,” उनले भने।
नेपालको सन्दर्भमा यो साझेदारीले जेनेसको विश्वव्यापी उपस्थिति झनै सुदृढ हुनुका साथै सीमापार सहकार्यका नयाँ ढोका खोल्नेछ।
“यसले नेपालका टेक प्रतिभाहरूलाई उच्च मूल्यका अन्तरराष्ट्रिय परियोजनामा काम गर्ने अवसर मिलाउनेछ, क्लाउड र एआइ सेवामा नेपाली क्षमता बलियो बनाउनेछ र नेपाललाई विश्व मंचमा डिजिटल विशेषज्ञताको उदाउँदो केन्द्रका रूपमा प्रस्तुत गर्नेछ,” युके तथा आयरल्याण्डका लागि अमेजन वेब सर्भिसेज (एडब्लुएस) एम्ब्यासडर समेत रहेका फुयाँलले भने।

सन् २०१६ मा स्थापना भएको जेनेस सलुशन एक सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी परामर्शदाता कम्पनी हो, जसले विश्वभरका संस्थाहरूलाई आधुनिक, नवप्रवर्तनशील र सुरक्षित डिजिटल भविष्य निर्माण गर्न सक्षम बनाउँदै आएको छ।
एडब्लुएस प्रिमियर टिएर सर्भिसेज पार्टनरको रूपमा जेनेसले विभिन्न क्षेत्रका संस्थाहरूमा क्लाउड ट्रान्सफर्मेसन र इन्टरप्राइज आधुनिकीकरणमा गहिरो अनुभव प्रदान गर्दै आएको छ।
एसिया, युरोप, अफ्रिका तथा उत्तर अमेरिकाका १० वटा देशमा उपस्थिति राखेको जेनेस सलुशनले विश्व अनुभवलाई स्थानीय आवश्यकतासँग संयोजन गरी प्रभावकारी परिणाम सुनिश्चित गरेको छ ।
आफ्ना कार्यालयहरुमार्फत जेनेस सलुशनले साना तथा ठूला सबै प्रकारका संस्थाहरूलाई क्लाउड, एआइ, डेटा तथा साइबर सुरक्षामा आधारित लागत-प्रभावी डिजिटल रुपान्तरण समाधानमार्फत सञ्चालन उत्कृष्टता हासिल गर्न मद्दत गर्दै आएको छ।
यसै वर्ष नोभेम्बर सुरुमा अमेरिकास्थित नास्दाक (NASDAQ) मा सूचीबद्ध अग्रणी इन्टरप्राइज एआइ समाधान प्रदायक कम्पनी फ्युजमशिन्स इंकले आफ्नो फ्युजमशिन्स एआइ स्टुडियो तथा एआइ इन्जिन्सका लागि जेनेस सलुशनलाई ‘अधिकृत रिसेलर’ नियुक्त गरेको थियो।
२०१२ मा स्थापना भएको ओमान डेटा पार्क ओमानको प्रमुख सूचना प्रविधिमा आधारित सेवा प्रदायक कम्पनी हो।
“ओमान डेटा पार्कले Uptime Institute र TIA बाट प्रमाणित अत्याधुनिक Tier III र Tier III+ डेटा सेन्टरहरू संचालन गरिरहेको छ, जसले उन्नत डिजाइन, कार्यान्वयन, साइबर सुरक्षा तथा क्लाउड सेवाहरू उपलब्ध गराउँछन् । सूचना प्रविधि सेवाको माग तीव्र रूपमा बढ्दै गएको छ, र हामी अत्याधुनिक प्रविधि प्रदानमा अग्रणी बन्न चाहन्छौँ। हामीले ८०० भन्दा बढी सरकारी, कर्पोरेट तथा साना तथा मझ्यौला संस्थाहरूलाई सेवा दिइरहेका छौं । हाम्रो लागत-प्रभावी र सुरक्षित समाधानले ती कम्पनीहरूलाई प्राथमिक उद्देश्यमा ध्यान केन्द्रित गर्न सक्षम बनाउँछ,” कम्पनीले भनेको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


