शुक्रबार, २१ नोभेम्बर, २०२५
21:54 | ०३:३९

चुनाव अगावै कांग्रेस महाधिवेशन गर्न बेलायतस्थित बुद्धिजीवीहरुको नेतृत्वलाई आग्रह

नेपाली लिङ्क नोभेम्बर २१, २०२५

अनलाइनखबर

लन्डन – बेलायतमा विभिन्न पेशा र व्यवसायमा आबद्ध लोकतन्त्रवादीहरुले नेपाली कांग्रेस नेतृत्वलाई देशमा उत्पन्न नयाँ परिस्थितिमा निकास दिन आगामी आम चुनाव अगावै पार्टीको महाधिवेशन गरेर अगाडी बढ्न आह्वान गरेका छन्।

शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै उनीहरुले विगतका कमी कमजोरीप्रति माफी माग्दै कांग्रेसले रुपान्तरित हुने वाचा गर्नुपर्ने एवं नयाँ नीति, कार्यक्रम, योजना र नयाँ नेतृत्वसहित जनता माझ जानुपर्ने जनाएका छन्।

“विगतमा नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सहभागी भएका र प्रजातान्त्रिक परिवर्तनलाई नजिकबाट नियालिरहेका हाल युकेमा बसेर विभिन्न पेशा र व्यवसायमा संलग्न हामी तमाम प्रजातन्त्रवादीहरु आगामी फागुन २१, २०८२ मा तोकिएको आम चुनाव भन्दा अगावै १५ औं महाधिवेशन आयोजना गर्न आह्वान गर्दछौं। परिवर्तनलाई आत्मसात नगरी तथा शुद्धिकरण नगरी चुनावमा जाँदा पार्टीले ठूलो क्षति व्यहोर्नु पर्ने त छंदैछ, हालसम्म प्राप्त उपलब्धि, राष्ट्रिय एकता र सार्वभौमिकता माथि नै खलल पुगी मुलुक द्वन्द्वमा फस्न सक्ने खतरा देखिएकाले हामी नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारीहरु तथा केन्द्रीय समितिका सबै सदस्यज्यूहरुलाई जति सक्दो चाडो अग्रगामी निर्णय गरी मुलुकलाई स्पष्ट दिशा निर्देश गर्न अपिल गर्दछौं। यसै गरी नेपालको लोकतान्त्रिक संविधान माथि आस्था र विश्वास राख्ने सम्पूर्ण शक्तिहरुलाई राष्ट्रको सर्वोपरि हितका लागि एकजुट हुन पनि हामी आह्वान गर्दछौं,” विज्ञप्तिमा भनिएको छ।

“सुशासन तथा भ्रस्टाचार अन्त्यको माग सहित गत सेप्टेम्बर ८ र ९ मा नेपालमा जेन जी पुस्ताले गरेको आन्दोलनले नेपालको समाज तथा राजनीतिलाई आफ्ना कमी कमजोरीको समीक्षा गरी अग्रगामी सुधार गर्दै अगाडी बढ्न संदेश दिएको हाम्रो ठम्याइ छ। नेपालको भविष्यप्रति सरोकार राख्ने देश भित्र र संसार भरि रहेका सम्पूर्ण जनसमुदाय संग हामी ऐक्यबद्धता जनाउँछौं। यद्यपि नेपालमा आएको यति ठूलो परिवर्तनलाई आत्मसात गर्न मूलधारका प्रमुख दलहरुले नै आनाकानी गरिरहेको जस्तो देखिन्छ। २००७ साल देखि नै नेपालका हरेक प्रजातान्त्रिक आन्दोलनमा अग्रगामी भूमिका निर्वाह गरेको नेपाली कांग्रेस जस्तो पार्टी नै यस पटक रक्षात्मक स्थितिमा देखिएको छ। कांग्रेसका नेता कार्यकर्ताहरुको घर, केन्द्रीय कार्यालय तथा अन्य धरोहरहरुमा तोडफोड र आगजनी गरिएको छ, जसको हामी निन्दा गर्दछौं,” विज्ञप्तिमा भनिएको छ।

नेपाल विद्यार्थी संघका पूर्व महामंत्री विश्व आदर्श पण्डित, डा सम्पूर्णानन्द ढुंगाना, गजेन कटुवाल, डा बच्चु कैलाश कैनी, डा चण्डिका भट्ट, इ राम राज शर्मा, शान्त विनोद लामिछाने, बिजन भट्ट, वेदराज पराजुली लगायतद्वारा जारी विज्ञप्तिमा बीपी कोइरालाजस्ता नेताहरुले नेतृत्व गरेको कांग्रेस पार्टीले थप अलमल नगरी यथाशिघ्र देशलाई निकास दिने गरी निर्णय गर्न आग्रह पनि गरिएको छ।

प्रेस विज्ञप्ति:

सुशासन तथा भ्रस्टाचार अन्त्यको माग सहित गत सेप्टेम्बर ८ र ९ मा नेपालमा जेन जी पुस्ताले गरेको आन्दोलनले नेपालको समाज तथा राजनीतिलाई आफ्ना कमी कमजोरीको समीक्षा गरी अग्रगामी सुधार गर्दै अगाडी बढ्न संदेश दिएको हाम्रो ठम्याइ छ। नेपालको भविष्यप्रति सरोकार राख्ने देशभित्र र संसार भरि रहेका सम्पूर्ण जनसमुदाय संग हामी ऐक्यबद्धता जनाउँछौं। यद्यपि नेपालमा आएको यति ठूलो परिवर्तनलाई आत्मसात गर्न मूलधारका प्रमुख दलहरुले नै आनाकानी गरिरहेको जस्तो देखिन्छ। २००७ साल देखि नै नेपालका हरेक प्रजातान्त्रिक आन्दोलनमा अग्रगामी भूमिका निर्वाह गरेको नेपाली कांग्रेस जस्तो पार्टी नै यसपटक रक्षात्मक स्थितिमा देखिएको छ। कांग्रेसका नेता कार्यकर्ताहरुको घर, केन्द्रीय कार्यालय तथा अन्य धरोहरहरुमा तोडफोड र आगजनी गरिएको छ, जसको हामी निन्दा गर्दछौं। सार्वजनिक तथा निजी सम्पत्तीको विध्वंशका लागि जिम्मेवार व्यक्ति तथा समूहहरुको पहिचान गरी कडा कारवाही गर्न पनि हामी माग गर्दछौं।

जननायक बी पी कोइराला जस्ता नेताहरुले नेतृत्व गरेको यो पार्टी अहिले समयमै निर्णय लिन नसकी अलमल गरिरहेको देखिन्छ। जनताको स्पन्दन बुझ्न र देशलाई निकास दिन नसक्ने पार्टीलाई इतिहासले पाखा लगाई दिन्छ भन्ने हेर्न हामी टाढा जानु पर्दैन, नेपालमै थुप्रै उदाहरणहरु छन् । देशमा केही भएको छैन भन्ने जस्तो गरी स्थितिको गम्भीरता नबुझ्नु वा नबुझे जस्तो गर्नु उपयुक्त होइन। विगतका कमी कमजोरीप्रति माफी माग्दै कांग्रेसले रुपान्तरित हुने वाचा गर्नु पर्छ। नयाँ नीति, कार्यक्रम, योजना र नयाँ नेतृत्व सहित जनताको माझ जानु पर्छ।

त्यसैले विगतमा नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सहभागी भएका र प्रजातान्त्रिक परिवर्तनलाई नजिकबाट नियालिरहेका हाल युकेमा बसेर विभिन्न पेशा र व्यवसायमा संलग्न हामी तमाम प्रजातन्त्रवादीहरु आगामी फागुन २१, २०८२ मा तोकिएको आम चुनाव भन्दा अगावै १५ औं महाधिवेशन आयोजना गर्न आह्वान गर्दछौं। परिवर्तनलाई आत्मसात नगरी तथा शुद्धिकरण नगरी चुनावमा जाँदा पार्टीले ठूलो क्षति व्यहोर्नु पर्ने त छंदैछ, हालसम्म प्राप्त उपलब्धि, राष्ट्रिय एकता र सार्वभौमिकता माथि नै खलल पुगी मुलुक द्वन्द्वमा फस्न सक्ने खतरा देखिएकाले हामी नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारीहरु तथा केन्द्रीय समितिका सबै सदस्यज्यूहरुलाई जति सक्दो चाडो अग्रगामी निर्णय गरी मुलुकलाई स्पष्ट दिशा निर्देश गर्न अपिल गर्दछौं। यसै गरी नेपालको लोकतान्त्रिक संविधानमाथि आस्था र विश्वास राख्ने सम्पूर्ण शक्तिहरुलाई राष्ट्रको सर्वोपरि हितका लागि एकजुट हुन पनि हामी आह्वान गर्दछौं।

जय नेपाल !

मिति: २१ नोभेम्वर २०२५

विज्ञप्ति जारी गर्नेहरु:

– विश्व आदर्श पण्डित – पूर्व महामन्त्री, नेपाल विद्यार्थी संघ

-डा सम्पूर्णानन्द ढुंगाना – अध्यक्ष, जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशन युके

-इ राम राज शर्मा – महासचिव, जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशन युके

-गजेन कटुवाल – पुर्व केन्द्रिय अनुशासन समिति सदस्य, नेपाल विद्यार्थी संघ

-डा बच्चु कैलाश कैनी, प्राध्यापक, डार्टफोर्ड, युके

-डा चण्डिका भट्ट – पूर्व वरिष्ठ उपाध्यक्ष, नेपाल शिक्षक संघ

– बिजन भट्ट – जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशन युके

-शान्त विनोद लामिछाने, पूर्व महासमिति सदस्य तथा पूर्व उपाध्यक्ष, नेपाली जनसम्पर्क समिति युके

-वेदराज पराजुली, शिक्षाविद् तथा पूर्व महासमिति सदस्य लगायत

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू