बिहीबार, २० नोभेम्बर, २०२५
22:55 | ०४:४०

लन्डनमा निधन भएका विद्यार्थी योमनको अन्तिम श्रद्धान्जलि सभामा भावुक बने सहभागी

नेपाली लिङ्क नोभेम्बर २०, २०२५

लन्डन । गत साता लन्डन, एजवेयरस्थित आफ्नै डेरामा निधन भएका विद्यार्थी योमन चन्दको सम्झनामा एक श्रद्धान्जलि सभा आयोजना गरी उनलाई अन्तिम विदाइ गरिएको छ ।

केन्टनस्थित डिभिनिटी फ्युनरल केयरमा बिहीबार अपरान्ह आयोजित सभामा स्वर्गीय चन्दको परिवारका सदस्य, साथीहरु, पूर्व सहकर्मी तथा नेपाली समुदायका अगुवाहरुको सहभागिता थियो।

श्रद्धान्जलि व्यक्त गर्दै बर्न्टओक नेपाली समाजका अध्यक्ष खमिर जंग गुरुङले उच्च शिक्षा अध्ययनका लागि ठूलो सपना बोकेर बेलायत आएका विद्यार्थी योमनको निधन उनको परिवार मात्रै न भएर समुदायकै क्षति भएको बताए।

उनले परिवारको आग्रह अनुसार योमनको शव नेपाल पठाउन आर्थिक सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद दिए। बर्न्टओक नेपाली समाजका उपाध्यक्ष मुरारी थापाले समाजका सदस्यहरुले मात्रै झन्डै तीन हजार पाउण्ड बराबरको सहयोग गरेको जनाउंदै छोटो समयमै विभिन्न संघसंस्था तथा व्यक्तिबाट झन्डै २० हजार पाउण्ड बराबरको सहयोग संकलन भएको जानकारी दिए। योमनले काम गरेका म्याकडोनाल्डस तथा इजीका पूर्व सहकर्मीहरुले १,३०० पाउण्ड भन्दा बढी सहयोग गरेका छन्।

एम्पल इन्टरन्याशनल एडुकेशनका निर्देशक प्रमोद अधिकारीले आफू सन् २०१० मा विद्यार्थीको रुपमा बेलायत आएको स्मरण गर्दै स्वर्गीय योमनको निधनबाट आफूहरु मर्माहत भएको बताए। उनले दुःखको घडीमा एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्नुपर्ने पनि बताए ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले मर्दा पर्दा सहयोग गर्ने नेपाली संस्कृति नै भएको भन्दै स्वर्गीय योमनको शव नेपाल पठाउन पारदर्शी रुपमा सहयोग संकलन गरिएको र बेलायतस्थित नेपाली समुदायबाट छोटो समयमै उल्लेख्य सहयोग प्राप्त भएको बताए। उनले अर्थ संकलनमा विशेष सहयोग गरेका बर्न्टओक नेपाली समाज, हार्लो नेप्लिज कम्युनिटी, नेप्लिज ब्रिटिश कम्युनिटी, राप्ती समाज यूके, ठकुरी समाज यूके, एनआरएनए स्कटल्याण्ड, युनिभर्सिटी अफ वेष्ट अफ स्कटल्याण्डका विद्यार्थीहरु, सुदूर पश्चिम विद्यार्थी समाज लगायत सम्पूर्ण संघसंस्था तथा सबै सहयोगीलाई धन्यवाद दिए ।

सभामा बन्र्टओक नेपाली समाजकी हेल्थ एण्ड वेलबीइङ कोअर्डिनेटर सुषमा गुरुङ, पूर्व सहकर्मी दिपक राई, सृन्ती लगायतले मृत आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धान्जलि अर्पण गरेका थिए।

स्वर्गीय योमन

श्रद्धान्जलि सभाको सुरुमा स्वर्गीय योमन चन्दको आत्माको चीर शान्तिको कामना गर्दै एक मिनट मौन धारण गरिएको थियो।

परिवारको तर्फबाट बोल्दै योमन चन्दका दाजु सुजन शाहले अकल्पनीय दुःखको यो घडीमा नैतिक तथा भौतिक सहयोग गर्ने बेलायतस्थित नेपाली समुदाय एवं संघसंस्थाप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरे। नेपाली समुदायले देखाएको स्नेह र दरिलो सहयोगका कारण आफूहरुले कहिल्यै परदेशमा रहनु परेको जस्तो अनुभूति गर्नु नपरेको उनले जनाए। उनले योमनले चांडै नै छोडेर गए पनि उनको स्वर्गमा बास होस् भन्ने कामना गरे।

श्रद्धान्जलि सभामा लन्डन बरो अफ बार्नेटका पूर्व डेपुटी मेयर काउन्सिलर लक्ष गुरुङलगायत समाजका अगुवाहरुको उपस्थिति थियो। श्रद्धान्जलि सभा सञ्चालन पत्रकार तथा राप्ती समाज युकेका सल्लाहकार भगीरथ योगीले गरेका थिए।

एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका सल्यानको दार्मा गाउँपालिका वडा नं ३ निवासी योमन चन्दको गत मंगलबार (११ नोभेम्बर) आकस्मिक निधन भएको थियो।

युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा एमएस्सी कम्युनिकेसन्स एण्ड इन्फर्मेसन इन्जिनियरिङ अध्ययनका लागि आएका २६ वर्षीय चन्दले आफ्नो पढाइ पुरा गरेर गत साता नै सर्टिफिकेट लिने योजना बनाएका थिए।

उनको शव शुक्रबार कतार एयरवेजबाट काठमाडौँ पठाइने र त्यसपछि सल्यानस्थित आफ्नै गाउँमा लगेर अन्तिम संस्कार गरिने उनको परिवारले जनाएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू