बुधबार, १९ नोभेम्बर, २०२५
22:41 | ०४:२६

लन्डनमा निधन भएका नेपाली विद्यार्थी योमनको अन्तिम श्रद्धान्जलि बिहीबार केन्टनमा

नेपाली लिङ्क नोभेम्बर १९, २०२५

स्वर्गीय योमन

लन्डन – गत साता लन्डन, एजवेयरस्थित आफ्नै डेरामा निधन भएका नेपाली विद्यार्थी योमन चन्दको शव शुक्रबार नेपाल पठाउन लागिएको छ।

स्व. योमन चन्दको पार्थिव शरीरको अन्तिम दर्शन तथा श्रद्धान्जलि व्यक्त गर्नका लागि बिहीबार (२० नोभेम्बर) Divinity Funeral Care, 209 Kenton Road, Kenton HA3 0HD मा दिउँसो एक बजे समय निश्चित गरिएको उनको परिवारले जनाएको छ।

‘हाम्रो परिवारमा आइपरेको यो अकल्पनीय दुःखको समयमा हामीलाई नैतिक तथा भौतिक सहयोग एवं ढाढस दिनु हुने बेलायतस्थित नेपाली समुदाय एवं संघसंस्थाप्रति हामी हृदयदेखि आभार व्यक्त गर्न चाहन्छौं’- स्व चन्दका दाजु सुजन शाहले भने- ‘हामी सबैका प्रिय योमनप्रति श्रद्धान्जलि दिन चाहने सम्पूर्ण सहयोगी मित्र, शुभेच्छु तथा समाजका अगुवाहरुलाई २० नोभेम्बर दिउँसो केन्टनमा उपस्थित भइदिनु हुन हार्दिक आमन्त्रण पनि गर्दछौं।’

योमनको शव नेपाल पठाउन सुरु गरिएको ‘गो फन्ड मी’ क्याम्पेनमा अहिलेसम्म १८,७०० पाउण्ड बढी रकम जम्मा भइसकेको सहयोग संकलन तथा अनुगमन गर्न गठित समितिका सदस्य एवं बर्न्टओक नेपाली समाजका अध्यक्ष खमिर जंग गुरुङले जनाए। उनले स्वर्गीय चन्दको परिवारसंग सल्लाह गरी सहयोग संकलन गर्ने कार्य बन्द गरिएको जानकारी पनि दिए।

एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका सल्यानको दार्मा गाउँपालिका वडा नं ४ निवासी योमन चन्दको आकस्मिक निधन भएको थियो।

युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा एमएस्सी कम्युनिकेसन्स एण्ड इन्फर्मेसन इन्जिनियरिङ अध्ययनका लागि आएका २६ वर्षीय चन्दले आफ्नो पढाइ पुरा गरेर गत साता नै सर्टिफिकेट लिने योजना बनाएका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू