मंगलबार, १८ नोभेम्बर, २०२५
16:56 | २२:४१

क्लाउडफ्लेयरमा विश्वव्यापी गडबडी: एक्स र ओपन एआइसहित लाखौं वेबसाइटमा अवरोध

नेपाली लिङ्क नोभेम्बर १८, २०२५
लण्डन । मंगलबार इन्टरनेट पूर्वाधारको एक महत्वपूर्ण हिस्सा क्लाउडफ्लेयरको सेवामा आएको विश्वव्यापी अवरोधका कारण विश्वभरका लाखौं वेबसाइटहरू प्रभावित भएका छन्।
बेलायती समय अनुसार मंगलबार बिहान ११:४८ बजेदेखि क्लाउडफ्लेयरको सेवामा समस्या आउँदा लाखौं वेबसाइटहरू अस्थायी रूपमा पहुँचयोग्य रहेनन्। कम्पनीका अनुसार अनपेक्षित रूपमा बढेको “असामान्य ट्राफिक” ले यसको सेवामा असर गर्‍यो, जसले गर्दा वेबसाइटहरू लोड नहुने, ड्यासबोर्ड नखुल्ने र इन्टरनेटमा व्यापक रूपमा त्रुटि सन्देश देखिन थाले।
डाउनडिटेक्टरका अनुसार क्लाउडफ्लेयरको समस्या सुरु भएसँगै एक्स (एक्स) र ओपन एआई जस्ता प्रमुख साइटहरू पनि अवरुद्ध भएको थियो।
क्लाउडफ्लेयरका प्रवक्ताले बिहान ११:२० बजेदेखि असामान्य ट्राफिक बढेको र त्यसले नेटवर्कमार्फत चल्ने केही ट्राफिकमा त्रुटि ल्याएको बताएका छन्। अधिकांश सेवामा प्रभाव कम भए पनि कतिपय सेवामा त्रुटि बढेको थियो। यद्यपि, अवरोधको सटीक कारण पत्ता लाग्न बाँकी रहेको प्रवक्ताले जानकारी दिए।
समस्या समाधान गर्ने क्रममा क्लाउडफ्लेयरले लन्डन क्षेत्रमा प्रयोग हुने वार्प  नामक एनक्रिप्शन सेवा अस्थायी रूपमा बन्द गरेको थियो, जसले गर्दा वार्प प्रयोगकर्ताहरूलाई इन्टरनेटमा जडान हुन समस्या आएको थियो।
क्लाउडफ्लेयरले दिउँसो २:४८ बजे समस्या समाधान भएको जानकारी दिँदै अब सबै सेवाहरू सामान्य अवस्थामा फर्केको विश्वास व्यक्त गरेको छ र पूर्ण स्थिरताका लागि निगरानी गरिरहेको बताएको छ। यस अवरोधसँग ताहिती, लस एन्जलस, एटलान्टा र चिलीको सान्टियागोस्थित डाटासेन्टहरूमा इन्जिनियरहरूले गरिरहेको निर्धारित मर्मतकार्य सम्बन्धित छ कि छैन भन्ने भने स्पष्ट भएको छैन।
यसबाट नेपालमा पनि अधिकांश इन्टरनेट सेवा तथा लाखौँको संख्यामा  वेबसाइटहरुको  सेवा सुविधामा असर पुगेको बताइएको छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू