त्रिभुवन विमानस्थलबाट डाइभर्ट विमान किन जाँदैनन् भैरहवा?



काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा शनिबार समस्या आउँदा उडान र अवतरण करीब साढे पाँच घण्टा प्रभावित भयो। सो अवधिमा कोरियन एयरको विमान दिल्ली र फ्लाई दुबईको विमान लखनऊ डाइभर्ट भएको थियो।
यस पटक मात्र हैन, २०८१ वैशाख ११ गते फ्लाई दुबईको विमान त्रिभुवन विमानस्थलबाट उडान भर्ने क्रममा इन्जिनमा आगो लागे पनि विमानका पाइलटले नेपालमा तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल भए पनि अवतरणमा चासो देखाएनन्। विमान भैरहवाकै आकाश हुँदै आफ्नो गन्तव्यतर्फ लागेको थियो।
गत वर्षकै फागुन १४ गते काठमाडौंको मौसम खराब भएर भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरको विमान र दुबईबाट काठमाडौं उडेको फ्लाई दुबईको विमान भारतको पनि लखनऊ डाइभर्ट भएका थिए।
यी प्रतिनिधिमूलक घटना मात्र हुन्। नेपाल आउने अन्तर्राष्ट्रिय विमानहरूले विमान डाइभर्ट गर्नुपरे वा आकस्मिक अवतरण गराउन परे नेपाली विमानस्थलभन्दा नेपाल बाहिरकै विमानस्थललाई प्राथमिकतामा राख्ने गरिएको छ।
यद्यपि नेपाल आउने प्रत्येक अन्तर्राष्ट्रिय विमानहरूले वैकल्पिक विमानस्थल चयन गर्नुपर्ने हुन्छ। प्रायः सबै विमानहरूले वैकल्पिक विमानस्थलको रूपमा भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई राख्ने गरेका पनि छन्। वैकल्पिक विमानस्थलमा परे पनि अहिलेसम्म एयर चाइनाको विमान तीन पटक मात्र डाइभर्ट भएको छ।
२०७९ जेठ १ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि पूर्ण रूपमा सञ्चालन हुन नसक्दा निराश हुनुपर्ने अवस्था छ। नियमित उडान हुन सकिरहेका छैनन्। आकस्मिक रूपमा अवतरणका लागि पूर्णतया तयार हुँदा पनि यो विमानस्थलले अहिलेसम्म एयर चाइनाका बाहेक अन्य डाइभर्ट विमान अवतरण गराउन सकेको छैन।
भैरहवा विमानस्थलमा आकस्मिक उडान गरेर राति होल्ड हुनुपर्यो भने यात्रुलाई कहाँ राख्ने, चालक दलका सदस्यलाई कसरी व्यवस्थापन गर्ने र दोस्रो दिन उडान गर्नुअघि विमान जाँच कसले गर्ने भन्ने विषय निश्चित नभएकाले पनि विमानहरू आउन नचाहेको जानकारहरू बताउँछन्। भैरहवा विमानस्थल नियमित सञ्चालन भएर सहजै यस्ता सुविधा प्राप्त नहुँदासम्म काठमाडौँमा अवतरण हुन नसकेका विमान भैरहवामा अवतरण गराउन सकिँदैन।
यसबाहेक नेपाल भारतमा इन्धनको मूल्यमा रहेको असमानताले पनि डाइभर्ट उडान भैरहवामा अवतरण गराउन बाधा गरेको छ। नेपालको तुलनामा भारतमा हवाई इन्धनको मूल्य सस्तो छ। नेपालमा हवाई इन्धनको मूल्य ९७३ डलर प्रतिहजार लिटर रहेको छ भने भारतमा सोही परिमाणको इन्धनको मूल्य ८१७ डलर मात्र रहेको छ। ठूलो परिमाणमा इन्धन राख्ने विमानहरूलाई भारतको इन्धनको कारण लाखौं बचत हुने भएकाले पनि उनीहरूको रोजाइमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पर्दैन।
दूरी र समयको हिसाबले लखनऊभन्दा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिक हो। दूरीका हिसाबले काठमाडौँबाट भैरहवा गएर ल्यान्ड गर्नुभन्दा लखनऊ गएर ल्यान्ड गर्न भने १४२ नौटिकल माइल बढी पर्छ। तर तत्कालको अवस्थामा विदेशी एयर कम्पनीका जहाजले मात्रै होइन नेपाल एयरलाइन्सका जहाजले समेत काठमाडौंबाट डाइभर्ट भएका जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सट्टा लखनऊ लैजाने गरेका छन्।
विमानस्थल स्रोतका अनुसार बाहिर हल्ला भए जस्तो रुटकै समस्याको कारण विदेशी विमानहरू नआएकामा सत्यता छैन। विमानहरूलाई काठमाडौंभन्दा भैरहवाको विमानस्थलमा अवतरण गर्न सहज र कम खर्चिलो हुने जानकारहरूको भनाइ छ।
सिमराबाट छिरेका विमानलाई काठमाडौं जानुभन्दा सहज भैरहवा आउन हुन्छ। दूरीमा दृष्टिले केही टाढा रहे पनि काठमाडौंजस्तो अवरोध छैन। आकाशमा ट्राफिकका कारण विमान अवतरण हुन नसके यसले थप खर्च बढाउँछ, यहाँ त्यस्तो कुनै समस्या छैन। यसबाहेक लिमा ६२६ हुँदै बाहिर उड्ने विमानहरूलाई भैरहवाबाट उड्दा पनि दूरी छोटिने सुविधा पनि रहेको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार दक्ष जनशक्तिको कमी नै यहाँ विमान डाइभर्ट हुन नसक्नुको मूल कारण हो। ‘भैरहवाको तुलनामा लखनऊ र अन्य अन्तर्राष्ट्रिय विमानस्थलहरूमा यस्ता दक्ष प्राविधिक जनशक्ति तयारी अवस्थामा रहेका हुन्छन्, भैरहवामा ग्राउन्ड ह्यान्डलिङको टिम भए पनि इन्जिनियरको टिम छैन छैन,’ साह भन्छन्।
सुविधाको दृष्टिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौंभन्दा धेरै सुविधा रहेको छ। विमानस्थलका प्रवक्ता साहका अनुसार भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय वायु सेवाहरूलाई आकर्षित गर्न २०८३ भदौ मसान्तसम्म यात्रु सेवा शुल्क, पार्किङ, ल्यान्डिङ र न्याभिगेसन सेवा शुल्कमा शत्प्रतिशत छूट प्रदान गरिएको छ। ग्राउन्ड ह्यान्डलिङ सेवामा ७५ प्रतिशतसम्म छूट छ। हवाई इन्धनको मूल्य ब्रेक इभन प्वाइन्टमा निर्धारण गरी बिक्री गरिएको छ। यो भनेको काठमाडौँको तुलनामा सरदर करीब एक डलर प्रतिकिलोलिटर हुन आउँछ।
विमानस्थल सञ्चालनका लागि क्षेत्रीय स्तरमा भन्दा पनि राज्यस्तरबाट पहल नभएको गुनासो स्थानीय अगुवाहरूको रहेको छ। सिद्धार्थ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष समेत रहेका स्थानीय ठाकुरकुमार श्रेष्ठले अहिले पनि ‘कूटनीतिक पहल नपुगेको’ टिप्पणी गरे। शनिबारको घटनाले दुई वटा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल भए पनि त्यो देखाउनकै लागि निर्माण गरेको जस्तो भएको उनको भनाइ छ।
नेपालले अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या बढाए पनि तिनको उपयोगिता र सञ्चालनमा देखिएको उदासीनताले राष्ट्रको छविलाई गम्भीर धक्का दिएको उनी बताउँछन्। पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलहरूमा अर्बौंको लगानी भए पनि हालसम्म यी विमानस्थलहरूमा नियमित अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन हुन सकेका छैनन्। यी दुवै विमानस्थल घरेलु उडानले धानिरहेका छन्।
विमानस्थल सञ्चालनका लागि अहिले वैदेशिक रोजगार व्यवसायीहरूको उपस्थिति नहुनु र अन्तर्राष्ट्रिय उडान धान्न सक्ने सक्षम ट्राभल व्यवसायी नहुनु पनि विमानस्थल नियमित सञ्चालन हुन नसक्नुको कारक तत्वका रूपमा रहेका छन्। यात्रुहरूलाई अझै पनि यस्का लागि काठमाडौंकै भर पर्नु परिरहेको छ।
अप्रिल २०२५ यता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ठप्प रहेको थियो। यसै महिनादेखि भने एयर एशियाले सातामा दुई वटा उडान गरिरहेको छ। विमानस्थलका प्रवक्ता साहका अनुसार उडान रोकिए यता सात वटा चार्टड उडान मात्र भएको छ। विमानस्थलमा गत वर्ष ‘विन्टर शेड्युल’ मा १२ हजार ७८७ यात्रुको आगमन भएको थियो भने ११ हजार १११ जना यहाँबाट उडेका थिए।
२०२१ सालमा घाँसे हवाई मैदानबाट सुरू भएको भैरहवाको विमानस्थल २०२३ सालमा आन्तरिक विमानस्थलका रूपमा हालको स्थानबाट सञ्चालन रहेको छ।



