आइतबार, ९ नोभेम्बर, २०२५
19:15 | ०१:००

लन्डन सेनोटाफमा रिमेम्बरेन्स सन्डे, कार्यवहाक राजदूत दुवाडीले पनि चढाए रिथ

नेपाली लिङ्क नोभेम्बर ९, २०२५

राजा चार्ल्स आइतबार स्मृति सभामा । तस्विर- पीए

लन्डन । युद्धमा वीरगति प्राप्त सैनिकहरुको सम्झनामा आयोजित समारोह (रिमेम्बरेन्स सन्डे सर्भिस) मा बेलायतका लागि नेपाली कार्यवहाक राजदूत विपिन दुवाडीले पनि श्रद्धाञ्जली अर्पण गरेका छन् । कार्यवहाक राजदूत दुवाडीले आइतबार नेपाल सरकार र नेपाली जनताको तर्फबाट सेन्ट्रल लन्डनस्थित सेनोटाफ युद्ध स्मारकमा रिथ चढाएका हुन् ।

बेलायतसहित कमनवेल्थ देशमा विश्वयुद्धपछि दिवंगत सैनिकहरुको सम्झनामा प्रत्येक वर्ष ११ नोभेम्बरलाई रिमेम्बरेन्स डेका रुपमा मनाउने प्रचलन छ जसलाई ‘पप्पी डे’ पनि भनिन्छ ।

प्रत्येक वर्ष नोभेम्बरको दोस्रो आइतबार विशेष कार्यक्रम गरि यो दिवस मनाइने तालिका अनुसार आज राजा चार्ल्स तृतीयले ११ बजे ‘नेशनल सर्भिस अफ रिमेम्बरेन्स’ का क्रममा सेनोटाफमा दुई मिनेट मौन धारण गरे । त्यसपछि राजाले युद्ध स्मारकमा रिथ चढाए । सेनोटाफ लन्डन, इङ्गल्याण्डको ह्वाइटहलमा अवस्थित युद्ध स्मारक हो।

बीबीसीका अनुसार, समारोहमा राजा चार्ल्ससंगै प्रिन्स अफ वेल्स, ड्यूक अफ एडिनबर्ग लगायत अन्य वरिष्ठ राजपरिवारका सदस्यहरू, प्रधानमन्त्री सर किअर स्टारमर, बेलायती पूर्व प्रधानमन्त्रीहरु लगायत राजनीतिक नेता र ब्रिटिश एवं गोर्खा भेट्रानहरु सामेल थिए । प्रमुख प्रतिपक्षी कन्जरभेटिभ नेता केमी बडेनोच र लिब्डेम नेता एड डेभीले पनि समारोहमा रिथ अर्पण गरे भने स्कटल्याण्डका प्रथम मन्त्री जोन स्विनीले एडिनबर्गको सभामा भाग लिएका थिए ।

सो अवसरमा रोयल ब्रिटिश लिजनको मार्च–पास्टमा दोस्रो विश्वयुद्धमा सहभागी करिब २० जना भेट्रानसहित लगभग १० हजार आम्ड फोर्सेस भेट्रानहरुले भाग लिए ।

यस्तो स्मृतिसभा एडिनबर्ग, बेलफास्ट, कार्डिफ लगायत बेलायतभर गरिएको छ । सन् १९१८, नोभेम्बर ११ मा प्रथम विश्वयुद्ध समाप्त भएको थियो । यस वर्ष दोस्रो विश्वयुद्ध अन्त्यको ८० औं वार्षिकोत्सव पनि हो।

समारोहमा कार्यवहाक राजदूत दुवाडी

तस्विर पीए

तस्विर पीए

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू