शनिबार, २७ डिसेम्बर, २०२५
15:16 | २१:०१

लन्डन पशुपतिनाथ मन्दिरमा रोमनाथ पाण्डे नेतृत्वमा नयाँ टीम

नेपाली लिङ्क सेप्टेम्बर २१, २०२५

लन्डन- साउथ इष्ट लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा नयाँ नेतृत्व आएको छ ।

आइतबार चार्ल्टन एसेम्बली रुममा सम्पन्न मन्दिरको अधिवेशनले ट्रष्टी रोमनाथ पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा तारा भट्टराई, सचिवमा भोजराज कंडेल, कोषाध्यक्षमा रामकृष्ण अर्याल र सहसचिवमा गुनाखर गौतम चुनिएका छन् ।

त्यस्तै, कार्यसमिति सदस्यमा मञ्जु गौतम, सिआरके खरेल, अम्बिका भण्डारी, दिलिपकुमार अधिकारी, माधवलाल श्रेष्ठलगायत छन् । नयाँ कार्यसमितिको कार्यकाल २ वर्ष रहनेछ ।

निर्वाचन समितिका संयोजक एवम् मन्दिरका ट्रष्टी संयोजक दाशु पाण्डेले नयाँ कार्यसमितिको घोषणा गर्दै पदाधिकारीहरुलाई शपथग्रहण गराएका थिए । निवर्तमान अध्यक्ष गोपाल अर्याल, मन्दिरका प्रमुख संरक्षक पण्डित निलहरि घिमिरे, संस्थापक अध्यक्ष होमनाथ शर्मासहित पूर्व अध्यक्ष एवम् ट्रष्टीहरुले फूल, खादा तथा प्रमाणपत्र वितरण गर्दै बधाई ज्ञापन गरेका थिए ।

नयाँ कार्यसमितिलाई बधाई दिंदै निवर्तमान अध्यक्ष गोपाल अर्यालले आफ्नो पूर्ण साथ, सहयोगको प्रतिवद्धता गरे। उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार प्रकट पनि गरे ।

मन्दिरका प्रमुख संरक्षक पण्डित निलहरि घिमिरे, संस्थापक अध्यक्ष होमनाथ शर्मा, पूर्व अध्यक्षहरु बालजंग अर्याल, नरेन्द्र कंडेल, ट्रष्टी विनोद ज्ञवाली, पण्डित आनन्द लोहनीलगायतले बधाई एवम् सफल कार्यकालको शुभकामना दिए ।

नवनिर्वाचित अध्यक्ष रोमनाथ पाण्डेले संक्षिप्त प्रतिवद्धता मन्तव्य राख्दै मन्दिरको विकास र विस्तारमा समर्पित भएर काम गर्ने अठोट व्यक्त गरे । आफूलाई सर्वसम्मत रुपमा नेतृत्वको जिम्मेवारी सुम्पिएकोमा सम्पूर्ण ट्रष्टी तथा सदस्यहरुप्रति उनले आभार प्रकट गरे ।

नवनिर्वाचित अध्यक्ष रोमनाथ पाण्डे

नवनिर्वाचित अध्यक्ष पाण्डेले मन्दिर भवनको बाँकी मोर्गेज घटाउने, मन्दिरलाई सबैको अपनत्व हुने साझा आस्थाको केन्द्र बनाउने, भक्तजनहरुको सुविधा बढाउनेलगायतका कार्यमा आफ्नो प्राथमिकता रहने बताए ।

मन्दिरको विधानअनुसार ट्रष्टी बोर्डले सिफारिश गरेको अध्यक्ष र अध्यक्षकै सिफरिशमा चुनिएका कार्यसमितिका पदाधिकारीहरुको टीमलाई अधिवेशनले अनुमोदन गरेको थियो ।

यसअघि निवर्तमान समितिका अध्यक्ष गोपाल अर्यालको अध्यक्षतामा अधिवेशनको पहिलो सत्र सम्पन्न भएको थियो। त्यसक्रममा मन्दिर समितिका सचिव हिराप्रसाद ओझाको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष तारा भट्टराईको आर्थिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको गरियो।

सो अवसरमा विधान समितिका संयोजक ट्रष्टी कर्ण शाहीले प्रस्तुत गरेको विधान संशोधनको प्रस्ताव पनि छलफलपछि पारित गरिएको थियो ।


मन्दिरका प्रमुख संरक्षक पण्डित निलहरि घिमिरे, संस्थापक अध्यक्ष होमनाथ शर्मा, पूर्व अध्यक्ष बालजंग अर्याल र नरेन्द्र कंडेल, संरक्षक सरिता पौडेल, कल्पना त्रिपाठीलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

सोही अवसरमा अध्यक्ष गोपाल अर्यालले केही महिनाअघि वुल्भरह्याम्पटनाम सम्पन्न भजन महोत्सवमा मन्दिरको तर्फबाट सहभागी मञ्जु गौतम, शिवा भण्डारी, कमला भण्डारी खराल, कमला कंडेल, अम्बिका भण्डारी, गीता भण्डारी अर्याललाई मायाको चिनोसहित सम्मान गरेका थिए । त्यस्तै, मन्दिरको दैनिक सञ्चालनमा सहयोग पुर्याएबापत संरक्षक सरिता पौडेललाई पनि सम्मान गरियो ।

तस्विरः प्रज्वल कंडेल

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू