बेलायतमा तीज रौनक शुरु, आमाको इभेन्टमा कोमल वलीलाई वान्स मोर…



लन्डन । नेपाली महिलाहरुको महान पर्व तीजको पूर्व सन्ध्यामा यसको रौनक शुरु भएको छ । विभिन्न संघसंस्थाले तीज कार्यक्रम मनाउन शुरु गरिसकेका छन् भने केही कार्यक्रम छिट्टै हुंदैछन् ।
लन्डनस्थित नेपाली दूतावासले केही वर्षको स्थगनपछि तीज विशेष कार्यक्रम गर्दैछ आउंदो शुक्रबार । त्यस्तै यती नेपाली एसोसिएसन यूके आगामी २४ अगष्ट आइतबार हेजमा तीज कार्यक्रम गर्ने तयारीमा छ ।
यसैबीच, एसियन महिला एसोसिएसन (आमा) ले गत १७ अगष्ट आइतबार एम्पायर हलमा भव्य तीज कार्यक्रम गरेको छ । आमाकी अध्यक्ष कल्पना गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ५०० बढी महिला सहभागी भए । कार्यक्रमको प्रमुख अतिथीमा सरे हिथ मेयर लुइस एश्वरी, विशेष अतिथीहरु लोकप्रिय गायिका कोमल वली, गोर्खा मेजर पत्नीहरु गोमा श्रीष र विष्णुमाया तामाङ लगायत थिए ।
प्रमिला लाबुङ राईले सञ्चालन गरेको कार्यक्रमको सुरुमा दुर्गा पुनले स्वागत मन्तव्य दिइन् ।
कार्यक्रममा नेपालबाट आएकी लोकप्रिय गायिका कोमल वलीको बेजोड गायनमा सहभागी मज्जाले नाचे । गायिका वलीको सुमधुर स्वरले दर्शकलाई निकै आकर्षित गरेको थियो । डान्सरहरु आरुषी मगर, सङ्गीता गैरे लगायत कलाकारको मनमोहक नृत्यकलाले दर्शकहरूलाई थप मन्त्रमुग्ध पारेको थियो ।
सो अवसरमा नृत्य प्रतियोगिता समेत गरिएको थियो जसमा उत्कृष्ट प्रदर्शनी गर्ने नर्तकीहरूलाई पुरस्कृत गरियो । नाच प्रतियोगिताको हजुरआमा श्रेणीमा मैली गुरुङ, आमा श्रेणीमा निरु पौडेल कंडेल, छोरी श्रेणीमा उषा लिम्बु र नातिनी श्रेणीमा दियान्ची विश्वकर्मा उत्कृष्ट ठहरिएर पुरस्कार जिते ।
कार्यक्रममा थप रौनकताका लागि ‘राफल ड्र’ समेत गरिएको थियो । राफलमा पहिलो विजेता बनेर सपना थापाले जितिन् एक तोला सुनको तिलहरी र पोते । यो पुरस्कार नवीन एण्ड नवीन ज्वेलर्सले प्रायोजन गरेको थियो ।
दोश्रो पुरस्कार आधा तोला सुन श्रीमति देवी पुनले जितिन् जसलाई गोर्खा मोर्गेजले गरेको थियो भने तेश्रो पुरस्कार मिन गहना यमुना थापा मगरले पाइन् । यस पुरस्कार प्रायोजक थियो अनुग्रह ज्वेलर्स ।
त्यसैगरि, चौंथो सिरफूल लिना गुरुङले जितिन् जुन प्रायोजन दीप ज्वेलर्सले गरेको थियो । पाँचौं पुरस्कार लालीगुराँस क्लिप दिलमाया गुरुङले प्राप्त गरिन् । सो पुरस्कार लामा ज्वेलरीले प्रायोजन गरेको थियो । पद्मश्री ज्वेलर्सले प्रायोजन गरेको छैटौं पुरस्कार मणिकला राई गुरुङले जितिन् ।
राफलबाट संकलित रकमबाट एकलाख रुपैयां कोमल वली फाउन्डेसनलाई र चर्चित नर्तकी आरुषी मगरकी आमाको क्यान्सर उपचार सहयोगार्थ एकलाख रुपैयां उनलाई प्रदान गरिएको आमाकी अध्यक्ष कल्पना गुरुङले बताइन् ।
कार्यक्रमको अन्त्यमा आमाकी अध्यक्ष कल्पना गुरुङले तीज शुभकामनासहित प्रायोजकहरु, प्रमुख अतिथी, विशेष अतिथी र अतिथीहरु, कलाकारहरु लगायत सहभागी सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरेकी थिइन् ।