लन्डनमा नेपाली मेला तयारी पूरा, यसपटक रहनेछन् झन् धेरै आकर्षण




तस्विर: मिलन तमु
लन्डन- तमुधिं यूकेले नेपाली दूतावासको सहकार्यमा आउंदो साता केम्पटन पार्क रेस कोर्समा गर्न लागेको १६ औं नेपाली मेलाको तयारी पूरा भएको छ ।
तमुधिं यूकेले आइतबार मिचेटस्थित आफ्नै भवनमा पत्रकार सम्मेलन गरि २४ अगष्टको मेला तयारीबारे अवगत गराएको हो ।
झण्डै ५१ हजार पाउण्ड खर्च हुने अपेक्षा गरिएको मेलामा विभिन्न जातजाति र संघसंस्थाको झांकी, लोकसंगीत, नृत्य, हस्तकला प्रदर्शन, परम्परागत भेषभूषा तथा परिकारहरु राखिने तमुधिं यूकेले जनाएको छ ।
मेला संयोजक एवं संस्थाका उपाध्यक्ष कमल कोने गुरुङले मेलामा ३५ बढी संघसंस्थाका झांकी, १५ बढी सांस्कृतिक प्रस्तुति, विभिन्न व्यवसायिक, खाना तथा च्यारिटीका झण्डै ७० स्टल र अन्य कयौं आकर्षण रहने जानकारी दिए ।
उनका अनुसार, मेलामा बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे प्रमुख अतिथी र उज्यालो नेपाल अभियन्ता नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ विशेष अतिथी रहने छन् ।
बेलायतस्थित विभिन्न देशका कूटनीतिक नियोग, नेपाल र युरोपबाट समेत सहभागिता अपेक्षा गरिएको तमुधिं यूकेको भनाइ छ ।
संयोजक गुरुङले यस पटकको मेलाले अघिल्ला वर्षहरुको गौरवलाई निरन्तरता दिंदै नेपाली संस्कृति संरक्षण, पर्यटन प्रवर्धन, बेलायतमा नेपालबाट भित्रिएका स्थानीय उत्पादनहरुको बजार विस्तार गर्ने उद्देश्य लिएको प्रष्टयाए । मेला विगत जस्तै उत्साहप्रद, वहुआयामिक र समुदायको एकताको प्रतीकका रुपमा रहने अपेक्षा उनको छ ।
अध्यक्ष जुमकाजी गुरुङले कला संस्कृति, रहनसहन, भेषभूषा जगेर्नाको उद्धेश्यले मेला आयोजना गरिंदै आएको बताए । उनले मेला तमुधिं यूकेको मात्र नभइ समस्त नेपाली समुदायको भएको भन्दै सहभागी भएर सफल बनाइदिन सबैमा अपिल गरे । मिडियाकर्मीहरुलाई व्यापक प्रचारप्रसार गरि सहयोग गरिदिन पनि उनको अपिल थियो ।
अध्यक्ष गुरुङले गत वर्ष गोर्खा कपबाट संकलित रकममध्ये १० प्रतिशत नेपालको लमजुङमा च्यारिटी कार्यमा सहयोग गरिएको भन्दै नेपाली मेलामा समेत आम्दानी वचत भए खर्च गरिने जनाए ।
पत्रकारहरुको जिज्ञासा मेटाउंदै महासचिव डा. विशाल गुरुङले आगामी वर्षहरुमा पनि अग्रजको मार्गदर्शनमा नेपाली मेला निरन्तर हुने आशा व्यक्त गरे ।
मेलामा सधैं एकै खालका प्रस्तुति रहने गरेको प्रश्नमा डा. विशालले नेपाली मेलाको विशेषता हराउने चिन्ताले मेलामा ठूलो परिवर्तन नगरिएको प्रष्टीकरण दिए ।
वरिष्ठ उपाध्यक्ष परशु गुरुङले दोश्रो पुस्ताले पनि यसलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य दिएका थिए । महासचिव डा. विशाल गुरुङले कार्यक्रम सञ्चालन गर्दै हेल्थ एण्ड सेफ्टी ब्रीफ दिए ।
मिडिया सेक्रेटरी एसके गुरुङले पत्रकारहरुको परिचय दिंदै उनीहरुलाई सम्मान गरिएको थियो । साथै नेपाली मेलाका लागि नेपालबाट आएका अतिथीहरुलाई विशेष सम्मान गरियो ।
पत्रकार सम्मेलनमा तमुधिं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्व अध्यक्षहरु मेजर रिटायर्ड डमर घले, ज्ञाम गुरुङ, नन्दजंग गुरुङ र हरि गुरुङ, उपाध्यक्ष दिलमाया गुरुङ, सचिव विमल गुरुङ, आमा समूह अध्यक्ष कमलादेवी गुरुङ र महासचिव शान्ता गुरुङ, ट्रष्टी सूर्य गुरुङसहित पदाधिकारी, सल्लाहकार, विभिन्न रिजनल समितिका प्रतिनिधिलगायतको उपस्थिति थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५