सोमबार, ११ अगस्ट, २०२५
04:05 | ०८:५०

१८औं रेडिङ कप ३० अगष्ट शनिबार- फुटबल, भलिबलसंगै सांस्कृतिक महोत्सव तयारी

नेपाली लिङ्क अगस्ट १०, २०२५

लन्डन- ग्रेटर रेडिङ नेपलिज कम्युनिटी एसोसिएसन (जिआरएनसीए) ले रेडिङ कप फुटबल प्रतियोगिताको १८ औं संस्करण आउंदो ३० अगष्टमा पाल्मर्स पार्कमा हुने भएको छ ।

आइतबार रेडिङमा आयोजित एक पत्रकार सम्मेलनमार्फत संस्थाले फुटबल प्रतियोगिताबारे जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक मीन गुरुङले १८ वर्षमाथिका युवाहरु सम्मिलित १६ मेन टिम र ३८ वर्ष माथिका ८ भेट्रान टिमबीच प्रतिष्पर्धा गरिने जनाए । टिम ड्र अगष्ट २६ मंगलबार गरिने छ ।  

प्रतियोगिताका युथ वीनरले २०२५ पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र, रनरअपले १०२५ पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र एवं भेट्रान वीनरले १०२५, रनरअपले ५२५ पाउण्ड, ट्रफी र प्रमाणपत्र पाउने छन् ।

अध्यक्ष भिमसेन खड्काले युवालाई जोड्ने, अनुशासन कायम राख्ने र उनीहरुलाई गतिशील बनाउने उद्देश्य रेडिङ कपको रहेको प्रष्टयाए । 

यसपटक रेडिङ भलिबल क्लवको सहयोगमा फ्रेण्डसीप महिला भलिबल टुर्नामेन्ट समेत समावेश गरिएको उनले जनाए । प्रकाश सापकोटाले भलिबल संयोजन गर्नेछन् ।

रेडिङ कपका दिन बालबालिकाका लागि खेल, सांस्कृतिक झांकी, नाचगान, पञ्चे बाजा, खाना, निशुल्क स्वास्थ्य शिविर, बालबालिकाबीच खेल प्रतियोगिता, लक्की ड्र लगायत कयौं आकर्षण रहने जनाउंदै अध्यक्ष खड्काले आएर रमाइलो गर्न अनुरोध गरे । मेलाकै रुपमा इभेन्ट गर्न आफूहरु जुटिरहेको उनको भनाइ थियो ।

फुटबल प्रतियोगितामा स्थानीय काउन्सिलको सहयोग नभएको तर नेपाली व्यवसायी र संघसंस्थाले सहयोग गरेका उनले प्रष्ट्याए । ‘जष्ट गिभिङ’ बाट समेत सहयोग दिन सकिने उनले जनाए । व्यवसायिक स्टल राख्न चाहनेलाई अझै अवसर रहेको उनको भनाइ थियो ।

सन् २००६ सालदेखि (कोभिडमा एकपटक बाहेक) निरन्तर प्रतियोगिता हुंदै आएको जनाउंदै यसपटक पनि सहयोग गर्न सबैलाई आग्रह गरे । इभेन्ट गर्न आर्थिक पक्ष महत्वपूर्ण भएको भन्दै उनले प्रायोजकहरुप्रति आभार समेत व्यक्त गरे ।


रेडिङ कपका परिकल्पनाकार पूर्व अध्यक्ष महेश गुरुङले नेपालबाट यूके आए लगत्तै गोर्खा कपमा जोडिएपछि रेडिङ कप पनि किन नगर्ने भन्ने भएर तमुधिं यूकेको सहयोगमा यो शुरु गरिएको जनाए ।

आफ्नो पृष्ठभूमि फुटबल क्षेत्र नै भएको जनाउंदै उनले एन्फा कास्की र केन्द्रको सहसचिव भएर काम गरेकाले यसप्रति अझ लगाव बढेको उनले बताए । सबैको सहयोगका कारण अहिले रेडिङ कपले वृहत रुप लिंदा आफूलाई गर्व लागेको उनको भनाइ थियो ।

संस्थापक अध्यक्ष सिबी गुरुङले रेडिङ नेपाली समाज कसरी मिलेर बसेको छ त्यो उदाहरणीय भएको जनाउंदै यो एकताले पनि प्रतियोगिता थप वृहत बन्दै गएको बताए । उनले यसलाई थप मलजल गर्दै अगाडि बढाउन पनि सुझाए ।

कार्यक्रममा पूर्व अध्यक्ष अर्जुन बस्नेतले प्रतियोगिताको बिजारोपण महेश गुरुङले गरेको स्मरण गर्दै त्यतिबेला अहिलेजस्तो नेपाली समुदाय उल्लेख्य नभएको, प्रचार प्रसार माध्यम नभएको अवस्थामा शुरु यस प्रतियोगिता अहिले झन् लोकप्रिय बन्दै गएकामा खुशी व्यक्त गरे । यसलाई निरन्तरता दिन आफूहरु सधैं लागेको जनाए ।

पूर्व अध्यक्ष कृष्ण न्यौपानेले कार्यक्रमको शुभेच्छा दिंदै वाह्य समुदायमाझ रेडिङ कप निकै अनुशासित र पूर्ण तयारीका साथ सञ्चालन हुने गरेको बताएको जनाए ।

उपाध्यक्ष प्रेम गुरुङले कपको शुरुवातदेखि नै ‘खेल खेलौं, स्वास्थ्य बनौं’ भन्ने मान्यताका साथ निकै मिहेनत गरिएको बताउंदै काउन्सिल र अरुको सहयोगमा प्रतियोगिता सफल भएको बताए ।

यस प्रतियोगिता सफल बनाउन रेडिङवासी सबैको उत्तिकै सहयोग रहेको उनको भनाइ थियो । रेडिङ कपले भाइचारा बढाउंदै यसले संस्थाको प्रतिष्ठा बढाएको पनि उनले बताए ।


मिडिया कोअर्डिनेटर एवं कम्युनिटी सचिव सुभाष चौलागाईंले कार्यक्रम सञ्चालन गर्दै यसको प्रचार प्रसारमा सहयोगका लागि मिडिया र अन्य समुदायमा आग्रह गरे ।

सहकोषाध्यक्ष जगन्नाथ सापकोटाले गत वर्ष लगभग १६ हजार पाउण्ड खर्च र तीन हजार नाफा भएको जनाउंदै यस वर्ष पनि इभेन्टले मुनाफा दिने आशा व्यक्त गरे ।

आर्थिक व्यवस्थापनमा लागिरहेका उपाध्यक्ष बालकृष्ण दाहालले सहयोग उत्साहजनक रुपमा जुटिरहेको जनाउंदै थप सहयोगका लागि अपिल गरे ।

स्थानीय नर्स सुभाष दाहालले करिब ५ वर्षदेखि हेल्थ क्याम्प शुरु गरेको जनाउंदै यसपटक पनि पेशेवर चिकित्सक, नर्सहरुबाट विशेष गरि ४० प्लस उमेरकालाई ब्लड प्रेसर, हाइट वेट, डायबेटिज आदि परीक्षण गरिने जनाए ।

पूर्व अध्यक्ष टेकबहादुर गुरुङले पनि कार्यक्रम सफलताको शुभकामना दिए । 

कम्युनिटी सदस्य तथा तनहुं समाज यूकेका महासचिव महेन्द्र आलेले संस्थाले आग्रह गरे कौडा नाच ल्याउन पहल गर्ने बताए ।

कार्यक्रममा महासचिव डा. भरत पौड्यालले ‘हेल्थ एण्ड सेफ्टी’ ब्रीफ गरेका थिए ।

सो अवसरमा उपाध्यक्ष लक्ष्मण श्रेष्ठ, सल्लाहकार एवं तमुधिं यूके संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ लगायत सहभागी थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू