बेलायतमा पीडा मेटाउने मेरा साथीहरु नै अमूल्य रत्न !




लेखक सुशील गौतम
बुधबार अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइयो । सायद संसारका सबैभन्दा सुन्दर, सरल र शक्तिशाली सम्बन्धहरुमध्ये मित्रता नै एउटा यस्तो सम्बन्ध हो, जुन न त रगतले बाँधिएको हुन्छ, न त कुनै कागजी सम्झौताले । तर पनि यो सम्बन्ध यति मजबुत हुन्छ कि अनेक सम्बन्ध भन्दा अगाडि उभिन्छ । जब मनमा पीडा हुन्छ, जब साथको खाँचो पर्छ, जब हाँसो साट्न मन लाग्छ, अनि जब निःस्वार्थ माया महसुस गर्न खोजिन्छ । मित्रता त जन्मसँगै सुरु हुन्छ। जीवनका प्रारम्भिक पानाहरूमा बच्चा बेलाकै साथीहरु हुन्छन्, जसको साथमा पहिलोपटक घरको आँगन छोडेर संसार नियालिन्छ। उनीहरुसँग मिलेर खेलिएको लुकामारी, काँधमा काँध मिलाएर हाँसेको ती निस्वार्थ पलहरू आज पनि मानसपटलमा झल्किन्छन्।
त्यसपछि स्कुल जीवन आउँछ, त्यो समयमा साथीको परिभाषा अझ फराकिलो बन्छ। कापी साटिन्छ, होमवर्कका बहाना बनाइन्छ, एउटै बेन्चमा बसेर सिकाइ मात्र होइन, जीवनको पहिलो परीक्षा पनि साझा गरिन्छ । स्कुलका ती साथीहरुसँग हाँसो मात्र होइन, आँखाबाट झरेका आँसुहरू पनि साटिन्छ। कलेज पुगेपछि साथीहरुसँग सम्बन्ध अलिक परिपक्व बन्छ, गफ मात्र होइन, भविष्यका सपनाहरू पनि सँगै बुनिन्छन्। अनि जब कामकाजी जीवन सुरु हुन्छ, साथीहरु पनि व्यवसायिक सोच राख्ने बन्छन्। बैठक कक्षका गम्भीर कुराकानीदेखि कार्यक्षेत्रको दबाबसम्म साथीहरुकै सहारामा सजिलो लाग्न थाल्छ।
तर, मेरो जिन्दगीमा सबैभन्दा धेरै साथीहरु जोडिएको मोड भने दारी ग्याङसँगको यात्रा हो। ‘दारी ग्याङ’ नेपालभर छरिएका युवाहरुको एउटा यस्तो समूह हो, जसले मलाई देशका कुना–कुना पुग्ने अवसर दियो। त्यो अभियानमा अनगिन्ती अनुहार भेटिए, केहीसँग मित्रता बन्यो, केही त परिवारजस्तै भए । साँचो अर्थमा लाखौं भीडमा आफ्नोपन महशुस गराउने त्यो समूह मेरो जिन्दगीको अभिन्न अंश बन्यो ।
त्यसपछि आयो परदेशको बाटो। उच्च शिक्षा र उज्ज्वल भविष्यको सपना बोकेर म बेलायत आएँ। यहाँ आएपछि बल्ल थाहा भयो, परदेशी हुनु भनेको केवल देश छाड्नु मात्रै होइन, आफन्त र साथीहरूको भौतिक नजिकबाट टाढिनु पनि रहेछ । फेसबुकका मित्र सूचीमा सयौं साथी छन्, तीमध्ये धेरैजना बालापन, स्कुल, कलेज र पुराना दिनका साथीहरु छन् । तर त्यो मौलिक बोली, त्यो आत्मीयता भने कतै हराएको आभाष हुन्छ। बेलायतमा अहिले म जहाँ छु, यहीँको साथीहरु नै मेरो दिनचर्या, खुशी, पीडा, संघर्ष र सफलताको साक्षी बनेका छन्। विश्वविद्यालयको प्राङ्गणमा पहिलो चोटी भेटिएका साथीहरु आज जीवनका महत्वपूर्ण अंश भएका छन्। अनि दारी ग्याङ यूके, जसले बेलायतमा पनि आफ्नोपन, समर्थन र साथको भान गरायो। जब परिवार टाढा हुन्छन्, सच्चा साथी नै परिवारको स्थानमा आइपुग्छन्।
म आफैंलाई भाग्यमानी ठान्छु कि यहाँ पनि समय पर्दा सघाउने, हौसला दिने, नछुटाउने साथीहरु कमाएको छु। तर समयले सिकायो, साथी धेरै हुनु भन्दा पनि, थोरै भएपनि साथ दिने साथी हुनु नै जिन्दगीको असली कमाई हो । सबै साथी साथ दिने हुँदैनन्, सबैले सम्झने हुँदैनन्, तर जसले चुपचाप साथ दिन्छन्, तिनीहरू नै जीवनका अमूल्य रत्न हुन्।
जीवनको हरेक मोडमा साथ दिने साथी पाउनु सजिलो छैन । तर एकपटक पायो भने त्यो सम्बन्ध जोगाउनु भने अवश्य जरूरी छ । मित्रता त जन्म हुँदैन, तर मनले रोजेको आत्मा हुँदोरहेछ। जसरी सुकेको फूल पनि किताबको पानाभित्र याद बनि टाँसिन्छ, त्यसरी नै साँचो मित्रता पनि दिलको कुना–कुना टाँसिएर रहन्छ। त्यसैले, मित्रता भनेको सम्झदा हाँसो आउने नाम हो, बोल्दा मन हलुका हुने सम्बन्ध हो, अनि नजिक नभएपनि टाढाबाट पनि साथ दिने आत्मा हो । मित्रता दिवसको सन्दर्भमा सबै साँचो साथिहरुलाई धन्यवाद, जसले जीवनलाई रमाइलो बनाउने मात्र होइन, अर्थपूर्ण बनाउने हिम्मत दिएका छन्। साँचो मित्रता पैसाले किन्न सकिँदैन, तर समय, साथ र सत्यता साटेर बनाइन्छ । शुभ मित्रता दिवस ।