सोमबार, २८ जुलाइ, २०२५
22:08 | ०२:५३

बेलायतको गुल्मेली मेला आइतबार, राष्ट्रियदेखि स्थानीयसम्मका थुप्रै कलाकारले प्रस्तुति गर्दै

नेपाली लिङ्क जुलाइ २८, २०२५

लन्डन- गुल्मी जिल्ला समाज यूकेको आयोजनामा बेलायतमा वर्षेनी हुंदै आएको गुल्मेली मेलामा यस वर्ष थुप्रै कलाकारले प्रस्तुति गर्ने भएका छन् ।

आउँदो ३ अगष्ट आइतबार लन्डन फेल्थामको ट्युडोर पार्क स्पोर्टस् एन्ड लिजरको मैदानमा हुने कार्यक्रममा राष्ट्रियदेखि स्थानीय स्तरसम्मका आधा दर्जन बढी कलाकारको प्रस्तुति हुने भएको हो ।

समाजका महासचिव महलाल घिमिरेका अनुसार कार्यक्रममा प्रस्तुति गर्न समाजको निमन्त्रणमा नेपालबाट गुल्मेली लोकदोहोरी गायक अर्जुन कुंवर आउँदैछन् । कार्यक्रमको प्रमुख आकर्षणका रुपमा लोकप्रिय गायिका रचना रिमालले पनि सांगीतिक प्रस्तुति गर्ने भएकी छन् ।

त्यसबाहेक राष्ट्रिय स्तरकै गायिकाहरु रेनुका भट्टराई घिमिरे, सीता परियार र सृष्टि पुनका साथै डान्सर अस्मिता पुरीले पनि आफ्नो प्रस्तुति गर्ने भएका छन् । साथमा स्थानीय कलाकारहरु प्रिसा खत्री, महिमा जुग्जाली मगर, अञ्जना सापकोटालगायतले पनि आकर्षक नृत्यहरु प्रस्तुत गर्दैछन् ।

सो अवसरमा नेपाल र विशेषतः गुल्मीतिर प्रचलित मौलिक सोरठी नाच, सराय नाच, लाखे, घांटु नाच, तीजगीत, भजनदेखि गुल्मेली झयाउरे, ठाडो भाका र सालैजोसम्मका प्रस्तुति पनि रहनेछन् । सधैंजस्तै प्रथम नौमति बाजा गुल्मी यूके समूहले पनि नौमती बाजाको प्रस्तुति गर्नेछ ।

मेलामा सहभागी हुन लनडनबाट सयौं माइल टाढा स्कटल्यान्ड, मिडल्यान्डदेखि आसपासका विभिन्न क्षेत्रबाट गरी १५ सय बढी गुल्मेली भेला हुने आयोजकको अपेक्षा छ ।

कार्यक्रममा सहभागिताका लागि २० पाउण्ड टिकट शुल्क छ । १२ वर्षमुनिका बालबालिकाको लागि १२ पाउण्ड छ भने ५ वर्ष मुनिका लागि निशुल्क छ ।

सोही शुल्कमा सहभागीहरुलाई लाइभ स्टलमा जलेवी, चटपटेका साथै बारबीक्यूसहित तीन कोर्स खाना उपलब्ध गराइनेछ ।

कार्यक्रम संयोजक क्याप्टेन ताम ढेगाले यसपटकको कार्यक्रममा सहभागी कलाकार, सांस्कृतिक कार्यक्रमदेखि क्याटरिङ र व्यवस्थापनका सबै पक्षलाई सुढृढ पार्ने कोशिस गरिएको बताउँदै कार्यक्रम थप गुणस्रीय र मनोरञ्जनत्मक बन्ने आशा गरिएको बताए ।

सोही अवसरमा आकर्षक पुरस्कारसहितको राफल ड्र पनि गराइने भएको छ। राफलमा पहिलो तथा दोस्रो पुरस्कारमा सुनको चन्द्रमा, तेस्रो पुरस्कारमा १ सय पाउन्ड नगदलगायत छन् ।

आयोजक गुल्मी जिल्ला समाज यूकेले बेलायतवासी सबै गुल्मेलीका साथै गैरगुल्मेली नेपालीहरु समेतको उपस्थिति अपेक्षा गरेको छ र सोहीअनुसार सबैलाई कार्यक्रममा आमन्त्रण गरेको छ ।

यो पनि पढौं: बेलायतको गुल्मेली मेला ३ अगष्ट लन्डनमा, यो वर्ष झन् धेरै मौलिक कार्यक्रम

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू