बेलायतको गुल्मेली मेला ३ अगष्ट लन्डनमा, यो वर्ष झन् धेरै मौलिक कार्यक्रम



लन्डन- बेलायतमा वर्षेनी आयोजना हुंदै आएको गुल्मेली मेला यसपटक आगामी अगष्ट ३ तारिख आइतबारलाई तय छ।
गुल्मी जिल्ला समाज यूकेको आयोजनामा लन्डन फेल्थामको ट्युडोरपार्क स्पोर्टस् ग्राउन्डमा हुने १७औं वार्षिक मेला विगतभन्दा फरक र नौलो हुने भएको छ ।
नेपालबाट आएका चर्चित राष्ट्रिय कलाकार समेतको प्रस्तुति रहने कार्यक्रममा यसपटक मौलिक नेपाली कला संस्कृति झल्काउने झन् धेरै सांस्कृतिक प्रस्तुतिहरु देखाउने तयारी रहेको समाजका महासचिव महलाल घिमिरेले नेपालीलिंकलाई बताए।
कार्यक्रममा प्रस्तुति दिन नेपालबाट लोकदोहोरी गायक अर्जुन कुंवर आउने पक्का भएको छ भने अहिले बेलायतमै रहेका रेणुका भट्टराई, सृष्टि पुन र सीता परियारलगायत कलाकारले पनि सांगीतिक प्रस्तुति गर्ने भएका छन् ।
महासचिव घिमिरेका अनुसार कार्यक्रममा विशेष आकर्षणका रुपमा नेपाल र विशेषतः गुल्मीतिर प्रचलित मौलिक सोरठी नाच, सराय नाच, लाखे, घांटु नाच, तीजगीत, भजनदेखि गुल्मेली झयाउरे, ठाडो भाका र सालैजोसम्मका प्रस्तुति रहने भएका छन् ।
त्यस्तै, प्रथम नौमति बाजा गुल्मी यूकेबाट पनि नौमती बाजाको प्रस्तुति गरिनेछ ।
भेलामा यसपटक बेलायतभरबाट १५ सय बढी गुल्मेलीहरुको सहभागिता अपेक्षा गरिएको छ । कार्यक्रममा सहभागी हुन लन्डन र आसपासका क्षेत्रदेखि मिडल्यान्ड र स्कटल्यान्डसम्मबाट पनि लामो यात्रा गरेर गुल्मेलीहरु भेला हुनेछन् । कयौं क्षेत्रबाट कोचहरु बुकिङ गरेरै पनि भेलामा आउने तयारी भइरहेको छ ।
कार्यक्रममा लन्डनस्थित नेपाली दूतावाससहित बेलायतका विभिन्न नेपाली संघसंस्था र समुदायलाई प्रतिनित्वि गर्ने कयौं अतिथिहरु समेत निम्त्याइएको कार्यक्रमका संयोजक एवम् समाजका सल्लाहकार रिटायर्ड क्याप्टेन ताम ढेगाले बताए ।
‘यसपटकको कार्यक्रम पहिलाका वर्षहरुमा भन्दा झन् धेरै विशेष र मनोरञ्जनात्मक हुन्छ भन्ने आशा हामीलाई छ । मौलिक सांस्कृतिक कार्यक्रमहरु र प्रस्तुति गर्ने कलाकारदेखि खाना उपलब्ध गराउने क्याटरिङसम्ममा स्तर वृद्धि गरेर गुणस्तरीय र मनोरञ्जनात्मक बनाउने कोशिस हामीले गरेका छौं’, संयोजक ढेगाले भने।
कार्यक्रममा सहभागिताका लागि २० पाउण्ड टिकट शुल्क राखिएको छ । १२ वर्षमुनिका बालबालिकाको लागि १२ पाउण्ड छ भने ५ वर्ष मुनिका लागि निशुल्क छ ।
सही शुल्कभित्र सहभागीहरुलाई लाइभ किचनमा तयार बारबीक्यूसहितको तीन कोर्स खाना उपलब्ध गराइनेछ ।
आयोजक गुल्मी जिल्ला समाज यूकेले बेलायतवासी सबै गुल्मेलीका साथै गैर गुल्मेली नेपालीहरुलाई समेत कार्यक्रममा सहभागी हुन आव्हान गरेको छ ।
गुल्मी जिल्लामा प्रचलित विभिन्न कला, संस्कृति झल्काउने मौलिक प्रस्तुतिहरु देखाइने भएकाले अरु जिल्लाका नेपालीहरु पनि सहभागी हुने र गुल्मेली कला, संस्कृतिलाई नजिकबाट नियाल्ने र बुझ्ने अपेक्षा आयोजकको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५