गोर्खा भर्तीपछि उसले प्रेममा गरेको त्यो घात…
कथा



मुकेश राई
मैले एउटा कथा लेख्ने जमर्को गरेको निकै समय भयो । आधा, अपुरो छ मेरो कथाकी नायिका र नायक जसलाई मैले भरपूर प्रेमप्रितको बन्धनमा बाँधेको थिएँ, नायक विश्वासघाती बन्यो, नायिका विव्हल । ति दुईबीचको मध्यस्थकर्ता थिएँ म । यो मेरो जीवनमा घटित एउटा सत्य घट्ना हो, यसैले जब यो कथा लेख्न बस्छु अलिकति लेख्ने बित्तिकै दिमाग घुम्छ, यो कथाको सत्यता उजागर गरुँ कि नगरुँ? म यो घट्नाको कारण पश्चातापमा जलेको धेरै भयो ।
जुनको पहिलो दिन, आइतबार धेरै समयको योजना पश्चात सेमन्त भाई, रिता बहिनी, भरत सर अनि मीरा बहिनी, सुशीला र मेरो आतिथ्य स्वीकारेर बिहान ११ बजेतिर आइपुग्नु भयो । सिर्जनात्मक साइनोले निकटता दिएको मेरो प्रिय मित्रद्वय भरत लोहोरुङजी अनि सेमन्त राई, समयानुकुल बन्दा हामी साहित्यिक गफमा गफिन्छौ, हाम्रो गफ प्रायः गीत, संगीत र सिर्जनात्मक कुराहरुमा केन्द्रित रहन्छ । गत वर्ष समरमा हामी तीन जोडी ग्लोव थिएटर लन्डन भ्रमण पनि गइसकेका छौं । यस वर्षको हाम्रो पहिलो प्रत्यक्ष भेट मेरै घरमा, साहित्यिक र पारिवारिक कुराकानीको गजबै माहौल बन्यो, साथमा भरतजी र सेमन्तजीको बाँसुरीको सुमधुर धुन अत्यन्तै रमाइलो भयो । कुरैकुरामा फेरी मैले कथा लेख्दैछु भनि टोपलें र मनमनै अठोट गरेँ । अब जसरी पनि एउटा कथा त लेखिसक्छु । वास्तवमा कथाको थिम थुप्रै जन्मिरहन्छ दिमागमा तर लेख्छु भनेर बसेपछि कलम चल्न हिच्किचाउँछ । सायद यसैलाई भनिन्छ कि मुड नचलेको? जे होस् निकै सोचेर मेरो अधुरो कथा पूर्ण गर्ने निर्णय गरेँ ताकि मेरा मित्रहरुलाई दिएको वचन पनि पुरा होस् अनि पाठकहरुसँग शेयर गरेर मन हल्का पनि गरुँ ।
घट्ना यसरी शुरु हुन्छ । म जन्मेर, हुर्किएको जन्मथलो इलामको पशुपतिनगर, जुन नेपाल कै पहाडी सिमानामा रहेको एउटा मुख्य ब्यापारिक केन्द्र अनि भारतको दार्जिलिङतिर जाने आउने प्रमुख द्वार पनि हो । १७, १८ वर्षे अल्लारे बैशंको बेला घटित एउटा सत्य घटना पाठक समक्ष प्रस्तुत गर्दैछु, तर यही सामान्य घटनाले गर्दा मलाई एकप्रकारको अपराधबोध भइरहेको छ र यसको भारले सधैं थिचिरहेको भान हुन्छ । मेरो एकजना साथी, जसको नाम सविन थियो । उमेरले म भन्दा केही वर्ष जेठो भए पनि हामी मित्रवत ब्यवहारमा ज्यादा घुलमिल थियौं । हामी फुर्सदको समयमा सँगसँगै हुन्थ्यौं । ब्रिटिश आर्मीमा भर्ती जाने भन्ने हाम्रो इच्छाले पनि निकट बन्नुमा ठूलै भूमिका खेलेको थियो ।
एकदिन सविनहरुको कुलपितृ गर्ने बिजुवा कोपालाई बोलाउन सल्लेरीसम्म साथी गएको थिएँ । झण्डै एकाध घन्टामा हामी कोपाको घरमा पुग्यौं।
त्यहाँ चिया खाजा खाएपछि कोपाले साउनमा पूजा गर्न नहुने र भदौ लागेपछि आउने निधो दिएपछि हामी बाटो लाग्यौं । तीन बुलाक, मेची गाउँ छब्बिसे हुँदै तेर्सै तेर्सो हिंड्दा वरपर देखिने अलौकिक प्राकृतिक सुन्दरतालाई धुम्म ढाक्दै थियो । नेपाल र भारत सिमाना अर्थात दश गजामा नै पर्ने सानो गाउँ छब्बिसेबाट नेपाल भारत छुट्याउने रेखा झैं भारतीय मूलसडकै सडक हिंडेर दम्साइलो उकालो हाम्रो गाउँ पशुपतिनगरतर्फ लाग्दा दाहिने तिर दार्जिलिङको कमानहरु चामोङ, सेलेम्बोङ, नागरी हुँदै पारी सुनादह, खर्साङ् झिलिमिली अनि तल खोँच परेको गहिराईबाट बग्दै गएको राङभाङ खोला, दक्षिणतिर तराईको धुमिल समथर भुभाग अनि अन्तुको शिखरसगैँ नेपाल पट्टिका गाउँहरु गोरख, छिविटार, कन्याम आदिको दृष्य यदि दिन सफा हुने हो भने साँच्चै नै मनोरम देखिन्छ । तर बर्खामास प्राय यहाँको मौसम धुम्मिएकै हुन्छ । हामी छब्बिसे आइपुगेपछि नेपाल पट्टिको छोटो घोडेटो बाटो छोडेर अलि लामो भए पनि त्यही दशगजाको सडक बाटै हिंड्दै हिले आइपुग्यौं । त्यहाँबाट फेरी हामी नेपाल पट्टिको छोटो बाटोतर्फ लागेको केहीबेरमा अर्थेटार आइपुग्दा पानी पर्न शुरु भयो । हामी केहीबेर भिज्दै दगुरेपछि कान्ला माथि एउटा घर देखियो ।
हामी ओत लाग्न त्यतातिर लाग्यौं, अचानक एउटा हेर्दै डरलाग्दो टाटेपाङ्रे कुकुरले झम्टिएर सातो लियो, धन्य साङ्लोले बाधिएको रहेछ ।
हामी डराउँदै त्यो घरको सिकुवामा ओतियौं । त्यही बेला ढोका अलिकति खोलियो । हामीले सोच्यौं ठूलो मान्छे होला तर सानो झन्डै १०, ११ वर्ष जतिकी केटी रहिछ । हामीलाई नौलो देखेर होला यति लामो जिब्रो निकालेर लजाउँदै भित्रै पसी । लगत्तै अर्की तरुनी केटीले ढोकाबाट मुस्कुराउँदै सोधी, ‘ए तपाईंहरु ओत लाग्नु भएको हो?’ सविनले जवाफमा हो भनिनसक्दै ‘ए ठिकै छ नि भित्रै बस्नु भए पनि हुन्छ नि’ भन्दै उनले खै कस्तो आत्मियता वा दयालु भाव प्रकट गरिन् । हामी अलिकति संकोच मान्दै भित्र पस्यौं । एकैछिनमा उनले चियाको ट्रे सानो टेबलमा राख्दै सोधिन् – ‘तपाईंहरुको घर नि?’ म बोलेँ पशुपति, अनि तपाईंको नाम? उनले सानो स्वरमा बोलिन् ‘सुमनलता’ । अहा कस्तो युनिक नाम रैछ । सविनले यसो भन्दा सुमनलता अलि लजाएर बहिनीतिर देखाउँदै बोलिन् उसको चाहिं सञ्जना अनि तपाईंहरुको चाहिं? हामीले चियाको कप टिप्दै मैले सविनको नाम भनिदिएँ, सविनले मेरो नाम । केहीबेरमा पानी रोकियो हामी बिदा भएर बाटो लाग्यौं ।
स्कुले जीवनमा मेरा केही साथी मलाई उनीहरुको पत्र लेखिदिन आग्रह गर्थे । पत्र चाहिं कहिलेकाही स्कुलमा अनुपस्थिति भएको विषयमा कारण जनाएर लेख्नु पर्ने हुन्थ्यो भने प्रायः प्रेमपत्र लेखिमाग्थे । अल्लारे बैंस र त्यो बेला पढिने विशेष प्रेमिल उपन्यासहरु अनि भर्खर गाउँमा भित्रिएका टिभीमा हेरिने रोमाण्टिक फिल्महरुले दिमागमा राम्रै प्रभाव पारेको थियो । उबेला पत्रमा रोमाण्टिक गीतका अंश लेख्ने चलन थियो अनि मेरो ह्याण्डराइटिङ्ग पनि निकै सफा र राम्रो भएको र उनीहरुले लेखिमागे जस्तै आसयका पत्र झर्को नमानी लेखिदिने भएका कारण पनि होला म उनीहरुको प्रिय थिएँ । यस्तै सविन पनि ब्रिटिश गोर्खाको छोरा फेमिली टुर सकेर नेपाल फर्किएको धेरै भएको पनि थिएन । यसैले उसले पनि अचानक एकदिन आग्रह गरयो उही पानी परेको दिन ओत लागेको घरको युवती अर्थात सुमनलतालाई प्रथम प्रेमपत्र लेखिदिने ।
हुन त अहिलेको विद्युतीय संसारको डिजिटल युगमा यो कुरा नयाँ पिंढीलाई अपत्यारिलो लाग्छ । तर २५, ३० वर्ष अगाडि यस्तै चलन थियो । आँखा जुधेकै भरमा माया प्रिती बस्ने जमाना अनि मनमा उठ्ने माया ज्वारभाटा र भावनाहरु प्रेमपत्रमा छल्काउनु पर्ने जसले धेरै अनि मिठो मिठो मायालु भावना ब्यक्त गर्न सक्यो उही सच्चा प्रेमी । यसरी मैले उनीहरुको प्रेमपत्र लेखिदिनु पर्ने गजबको काम थियो । सविन र मैले उसको भावना अनुसार पत्र लेखी सिध्यायौं, सविनले त्यो चिठी सुमनलताको हातसम्म पुरयाउने काम मलाई नै सुम्पियो । मैले आइडिया लगाएँ, अर्थेटारबाट स्कुल आउने साथी निमाको हातमा पठाउने, पहिले त उ अलि हच्कियो तर फकाइफुलाइ मनाएँ, निकै अप्ठ्यारो मान्दै चिठी समायो । चिठीको जवाफ आयो भने क्रमशः पत्राचारको निम्ति म उनीहरुको झनै प्यारो बन्थें । मलाई निमाले पत्र दियो कि दिएन भन्ने शंका थियो, धन्न दिएछ यसैले झन्डै एकहप्ता पछि जवाफ आयो सविन खुशीले उफ्र्यो ।
समय बित्दै गयो उनीहरुको प्रेम मौलाउँदै गयो, उनीहरुको भेट हरेक पशुपतिनगरको सोमबारे हटियाको दिन हुन्थ्यो । ति दुई प्रायः भिडियो हलमा दिउँसोको शो हेर्न पस्थे । अचम्मकै प्रेम कथा पत्र मैले लेखिदिनु पर्ने पिरती उनीहरु लाउने । जति भावनात्मक कुराहरु सुमनलताले लेख्थिन् तिनिहरु प्रति सविनको खासै प्रतिकृया झल्कदैनथ्यो । हरेक पल्ट उ जवाफ चाहिं मिलाएर लेख है भन्ने गथ्र्यो । म लेखिदिन्थे सुमनलताको हरेक प्रश्न र उत्सुकताहरु केलाएर, उनको भावनासंग सन्दर्भ मिलाएर । यो क्रम झन्डै एक वर्ष चलिरह्यो । पछि सुमनलता नर्स ट्रेनिङको निम्ति सिलिगुडी जाने भइन् । उनीहरुको चिठी आवतजावतको क्रम सविनको आग्रहमा जारी राखिदिएँ । गाउँकै चिने जानेकै हुलाकी दाई भएकाले हामीले घरमा नदिनु है दाई भनेर उनको हातबाटै सोझै लिन्थ्यौं ।
हामी एकै दवाँले साथीहरु गोर्खा भर्तीको तयारीमा थियौं तर सबै एकैचोटी पास हुन्छ भन्ने पनि छैन्, यस्तै भयो सविन भर्ती लागेर गयो । सुमनलतालाई सविन भर्ती हुने कोशिस गर्दैछ भन्ने त थाहा थियो तर धरानबाट सोझै पास भएर गइहाल्छ भन्ने चाहिं थाहा थिएन । मैले पत्र लेखिरहने भएकोले सविनले लेख्ने कुरा पनि भएन । सुमनलताको पत्र पठाउने क्रम यथावत थियो । एक दुई पल्ट त मैले जवाफ लेखिदिएँ कारण सविनले हङकङ पुगेर मलाई पनि चिठी लेख्ला भन्ने लागेको थियो । तर उसले हामी सबैलाई बिस्र्यो । मैले पनि सुमनलतालाई जवाफ लेख्नै छाडी दिएँ । मलाई अप्ठ्यारो पनि लाग्न थाल्यो अनि फेरी सविनको नाम गरेर म उनलाई कति आशाको त्यान्द्रोमा बाधिरहुँ । न म उनलाई म नै सविनको नाममा पत्र लेख्ने मान्छे हो भनेर सत्य कुरा भन्न सक्थेँ । यसै क्रममा धेरै चोटि सुमनलताले पत्रहरु पठाई जसमा प्रेम वियोग र अन्योल मिश्रित कुराहरु र पहिले गरिएका प्रेम प्रणयका वाचा वन्धनका कुरा उल्लेख हुन्थे ।
हो अर्को पक्षबाट कुनै प्रतिकृया नै नपाएपछि उनी आजित भइन् क्यारे । सम्भवतः अन्तिम पत्र हुलाकी दाईले मेरो हातमा थमायो, पत्रको सार यसप्रकारको थियोः
“…जो मुटु माझ सजाइन्छ, त्यो कहिल्यै नओइलिने चोखो प्रितको फूल हो, जो मन मन्दिरमा बसेको देवतालाई अर्पण गरिएको हुन्छ भलै त्यो पवित्र प्रेमलाई आफूले मानेको देवताले स्वीकारोस् या ठुकराओस्, कुनै भक्तको आराधनामा वरदान देओस् या श्राप । मैले पनि यही अजम्बरी प्रितको फूल तपाईंलाई आफ्नो मन मुटुमा सजाएर अर्पण गरेको थिएँ । यति हो त्यही फूल आज तपाईंको घातले सदा मुटुमा बिझिरहने काँडा बनेको छ मेरो निम्ति…”
“…म ति प्रितीको अनुभूतिलाई तपाईंले लेख्नु भएको प्रत्येक शब्द र ति हरफहरुमा गरिएका वाचा वन्धन, ति मायाका झुटो तर मोहक बयान कदापी भुल्न सक्ने छैन्, जो वसन्त बहार पछि मुर्झाएका छन्, बाँकी छन् त कठ्याङ्रिएर जिङ्रिंगै परेका नाँगो रुखहरु र काँडा बनेर घोचिरहने यादका लस्करहरु …”
“…तर तपाईंले आफ्नो मनबाट यस्तरी निकालेर फ्याँक्नु भयो कि मैले छनकसम्म पाउन सकिन । तपाईंको वाध्यता या धोका मैले बुझ्नै सकिन । यसैले मलाई लाग्छ या मेरो दिवानापनको आग्रह, तपाईंको जीवनमा कहिल्यै पनि मेरो यादले दुःख नदेओस् किनकि मलाई थाहा छ छोडी जानेले माया मारेपछि त्यो दुःखाईको पीडा कस्तो हुन्छ । म तपाईंसगँको त्यो भेटहरु अनि ति चिठी भरी पोख्नु भएको मिठा मिठा प्रेमिल आभासहरु बोकेर अर्कै संसारमा पदार्पण गर्दैछु । यो मेरो वाध्यता हो मैले सधैं अर्काको खुशीलाई आत्मसात गरें भने अहिले आएर मेरो आमा बुवाको खुशीको खातिर आज मेरो खुशी समर्पित गर्दैछु किनकी तपाईंको अत्तो पत्तो नभएपछि मैले तपाईंलाई पर्खिरहनुको मूल्य नै देखिन । आमा बुवाले मेरो बिहे कालिम्पोंगको केटासंग गरिदिने भएका छन्, म उनैलाई आफ्नो भाग्य सम्झेर स्वीकार्दैछु । तपाईंलाई कुनै दिन मेरो सम्झना मात्रै आयो भने पनि यो संसार छोडेर गएको अभागीनी सम्झिदिनु जो अब यस भौतिक संसारमा छैन्…अलबिदा ।
जो माया लाउने मान्छे सविन, भर्ती लागेर गएपछि सबै भुल्यो । उनको आमा मनसरा देमालाई मैले कतिचोटि सोधेँ कहिले काहीं मात्रै चिठी लेख्छ नानी रेक्रुट ट्रेनिङ गाह्रै नै हुन्छ त्यही भएर होला भन्नु हुन्थ्यो । मैले देमालाई उसको ठेगाना मागेर चिठी पठाएँ तर जवाफ लेखेन । यथार्थमा भन्दा उसले म मार्फत सुमनलतालाई हावाको सपना मात्रै देखायो । सविनको माया स्वार्थी भयो, ऊ खाली सुमनको रुपमा मोहित थियो तर पत्रको आशय बुझेर लेख्ने म पो अप्रत्यक्ष नै भावनाको गहिराईमा पुगेर जवाफ लेखिदिन्थे र हरेक पल्ट सुमनलताको पत्र पढ्दा सविन सकारात्मक जवाफको मात्रै अपेक्षा गथ्र्यो अनि त्यति मै सिमित रहन्थ्यो । कुनै प्रकारको सहयोग र दुःखको बेलामा उचित सुझावको जरुरत पथ्र्यो भने ऊ मलाई भन्थ्यो, मिलाएर लेखी दे ल । म हुन्छ भन्थें अनि उनका लागि मैले घोरिनु पथ्र्यो । कति कुरा सान्तवना कै निम्ति पनि लेखिदिनु पर्दथ्यो । यसैले मलाई लाग्छ सुमलताको निम्ति सविन भन्दा धोकेवाज त म पो हुँ । जानी नजानी मैले पो उनको कलिलो भावनासगँ खेलवाड गरेको हुँ । अहिले आएर यो अवस्थामा न म प्रायश्चित गर्ने ठाउँ पाउँछु न म कसैलाई सुनाउन सक्छु । त्यो पत्र पढेर मलाई भान भयो, थुक्क पहिल्यै त्यो सविनेले लेखिदे भन्दा नै शुरु नगरिदिएको भए कसैको कलिलो हृदयमा आघात त पर्ने थिएन ।
अर्को साल त म पनि सविन जस्तै गोर्खा भर्ती लागेर हङकङ पुगेँ । रेक्रुट ट्रेनिङ साँच्चै नै मनसरा देमाले भने झैं ब्यस्त भईंदो रहेछ । रेक्रुट ट्रेनिङको बेला एकदिन आइतबार सविन मलाई भेटन आएको थियो, योबेला खासै कसैसँग भेटघाट गर्न दिदैंन थियो, दिए पनि गुरुजीको निगरानीमा जेलको कैदीलाई जस्तो एकछिन मात्र भेट्न दिइन्थ्यो । यसरी एकैछिन भेटने समय पाएपछि हाम्रो सामान्य भलाकुसारी भयो, तालिमको विषय अनि गाउँघरबारे केही कुराकानी भए पछि सविनले सुमनलताको बारेमा सोध्यो । मलाई एकप्रकारले उ प्रति रिस पनि उठेको थियो । कारण पत्र लेख्ने भार मलाई बोकाएर उ यत्तिकै रमाइलो मान्थ्यो तर भावनात्मक पीडा मैले भोगेको थिएँ । सुमनको पछिल्लो समयका पत्रहरुले मलाई धेरै नमिठो लागेको थियो । उनले लेखेको अन्तिम पत्रको हरफ ‘यो संसार छोडेर गएको अभागीनी सम्झिदिनु जो अब यस भौतिक संसारमा छैन…’ अलबिदा । अनायसै सम्झे अनि भनिदिएँ उ अब यो संसारमा छैन् । मेरो कुराले सविनलाई खासै केही असर परे जस्तो थिएन, उ बरु ठट्टयौली गर्दै बोल्यो- ए अब छुट्टी गएर उसलाई बिहे गरुँ भनेको त, विचरी के भएर बिति?
खै कसरी मेरो मुखबाट फुत्त निस्कियो “बच्चा जन्मने बेला कम्लिकेसन भएर अरे, मैले पनि सुनेको मात्रै“ तर मनमा सुमनको बारे असत्य बोलेकोमा मलाई अति नै नमज्जा लाग्यो । मलाई सत्य कुरो भनुँ कि जस्तो लाग्यो तर यहीबेला गुरुजीले तिमेरुको भेट्ने समय सकियो है भनेर चिच्यायो, यसैले मैले यत्तिमै कुरो टुङ्ग्याए, सविन विदा भएर गयो ।
सविन गएपछि पनि मलाई सुमनलतालाई ज्यूँदै मारेकोमा अत्यन्तै पश्चाताप लागिरह्यो । केही दिन यो कुराले डिस्टर्ब भए पनि ट्रेनिङको चटारोले बिर्सिएँ । ट्रेनिङ्ग सकेपछि म अर्कै पल्टनमा परें, सविन गोर्खा इन्जिनियरमा थियो, त्यै माथि ऊ एडभान्स ट्रेनिङको निम्ति यूके गयो, खासै भेट भएन र एकदुई पटकको भेटमा सुमनको कुरै निस्केन । ३ वर्ष पछि छुट्टी गएको बेला सुनेँ सुमनलता त साँच्चै नै बिहे भएको वर्ष दिन नबित्दै नै नानी जन्माउन नसकेर मरिन रे । ओ माइ गड, यो बेला छाँगाबाट खसें लाग्यो, म उनको निम्ति पनौती हुँ, उ ज्यूँदै छँदा मैले उनलाई मारेको थिएँ, उफ्फ सविनसँग भेट हुँदा कसरी मेरो मुखबाट त्यो अलच्छिना वाक्य निस्कियो होला? म उसको हत्यारा हुँ, यो पश्चातापको भारले मलाई वर्षौं भयो थिचेको । जब, जब यो घट्ना सम्झछु, मलाई साँच्चै नै एकप्रकारको पीडा हुन्छ, कस्तो समयमा मैले त्यस्तो अपसकुन बोलेन हुँला?
सविन र सुमनलताको अधुरो प्रेमकथालाई जोडेर मैले मेरो कथा पूर्ण गरेँ । ऋतु परिवर्तन जस्तै जीवनको भोगाइका अनुभूतिहरुमा रङहरु भरिन्छन् । भनिन्छ विगतका गल्तीहरुको भार बोकेर हिंड्नु हुदैँन, जे भयो, सकियो, हरेकको वर्तमानमा आफ्नै एउटा सुन्दर संसारको निर्माण हुन्छ, हामी त्यसैमा रमाएर बाँच्नु पर्छ किनकि सृष्टिको नियम अनुसार संसार चल्नै पर्छ, जीवनमा मृत्यु निश्चित छ यसैले दुःख पिर बिर्सेर वर्तमानमा भरपुर जीउने प्रयत्न गर्नु पर्छ । हो, यो सत्य कथामा पनि मैले नाम परिवर्तन गरेर पूर्ण गरेको मुख्य पात्र सविन पनि आज यो संसारबाट अलविदा भनेर गइसकेको छ । उ हङकङमा नै बिहे गरेर स्थापित भएको थियो, कोरोनाको समयमा उनको निधन भएको दुःखद खबर मात्रै सुन्न पाएँ । हाम्रो प्रत्यक्ष भेट अन्तिम पटक सन् १९९७ साल कोल्चेस्टरमा भएको थियो । त्यसपछि उ आर्मी नै छोडेर हङकङवासी भएको थियो । मनमनै सोचे सुमनलता र उसको सायद वैकुण्ठमा आत्मिक मिलन भयो होला, उनीहरुको मिलन भए त म पनि दोषमुक्त हुन्थेँ सायद । जे होस् उनीहरु दुवैको चिर आत्मा शान्तिको कामना अनि हार्दिक श्रद्धाञ्जली ।