शनिबार, साउन १२, २०८१
05:59 | १०:४४

म माथि षड्यन्त्रपूर्वक झुट्टो आरोपहरु लगाइयो: प्रख्यात आरोही निर्मल पुर्जा

नेपाली लिङ्क जुन ११, २०२४


काठमाडौं ।  प्रख्यात हिमाल आरोही निर्मल पुर्जाले आफूलाई षड्यन्त्रपूर्वक  विवादमा पारिएको र झुट्टो आरोपहरु लगाइएको बताएका छन् । एक पछि अर्को भ्रम फैलाएर नियोजित रुपमा नै बदनाम गर्न खोजिएको भन्दै उनले दुख व्यक्त गरेका हुन् ।  

केही सातादेखि निर्मल पुर्जा विरुद्ध एक पछि अर्को आरोपका समाचारहरु आइरहेका छन् । 

हिमाल आरोहण क्षेत्रमा बेथितिका चाङ्ग छन् । त्यसैले निर्मल पुर्जाले देखिएका चुनौती र समस्याबारे आफ्नो सोसल मिडियामा खुलेरै राख्ने गर्छन् । त्यही क्रममा उनले पछिल्लो समय बाल्कोनी र साउथ समिटबीचको आरोहणको क्रममा चाहिने डोरी काटिएको विषय राखेका थिए ।

पुर्जाले आफ्नो सामाजिक संजालमार्फत एउटा भिडियो सार्वजनिक गरेका थिए।  जसमा पर्यटन व्यवसायी आङबाबु शेर्पाले वकिटकी मार्फत् सगरमाथाको बाल्कोनी र साउथ समिट बीचको डोरी काटिएको र त्यहाँबाट आफ्नो टोलीले संकलन गर्नुपर्ने शव  संकलन नगरी फर्किन बाध्य भएको भिडियोमै सुन्न सकिन्छ । तर यो भिडियो सार्वजनिक भएपछि पर्यटन विभागले जेठ १४ गते एक विज्ञप्ति जारी गर्दै डोरी काटिएको सत्य नभएको भन्दै समिति नै बनाएर छानविन शुरु गर्‍यो   

नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान दिएका निर्मल पुर्जालाई  नेपाल नै आउन दिन नहुने कांग्रेस सांसद राजेन्द्र बजगाईले संसदमै अभिव्यक्ति दिए।

तर यो अभिव्यक्ति पछाडिको कारण अर्कै देखिन्छ। सांसद बजगाईको होटल व्यवसाय छ । केही समय अगाडि आफ्नो होटलमा पर्यटकहरु राखिदिन र आफ्नो व्यवसायमा सहयोग गर्न सांसद बजगाईले पुर्जासंग आग्रह गरेका थिए । तर पुर्जाले उनको प्रस्ताव अस्वीकार गरे । 

सांसद बजगाईले एक अन्तरास्ट्रिय पत्रिकामा आएको समाचारलाई विषय बनाएका थिए । तर निर्मल पुर्जाले महिला आरोहीद्वारा लगाइएको आरोप अस्विकार गर्दै यस विषयमा सत्य तथ्य बाहिर आउने भन्दै कानुनी हिसाबले नै अघि बढिसकेको बताएका छन् ।

उनलाई एक पछि अर्को आरोप लाग्ने शिलशिला रोकिएको छैन । प्रख्यात पर्वतारोही निम्स दाई अर्थात् निर्मल पुर्जाले सरकारको अनुमतीविना आफ्ना ग्राहकलाई सगरमाथा क्षेत्रको आरोहणका लागि लगेको आरोप पनि लागेको छ ।  

यस विषयमा उनी भन्छन् ‘अनुमति बिना विदेशीलाई हिमाल चढ्न लैजान सम्भव नै छैन र त्यस्तो गरिएको पनि छैन।’ अनुमति लिएर नै पर्यटक लगेको प्रमाण आफूसंग भएको उनले बताए । 

यस्ता अनेक आरोप र षडयन्त्र गरेर आफूलाई यस क्षेत्रबाट अलग्याउन खोजिएको उनको गुनासो छ । 

आफ्नो मिहेनत र परिश्रमले देशलाई विश्व सामु चिनाउन प्रयास गरिरहँदा उल्टै आफूमाथिको यो प्रहारले दुखी भएको उनी बताउंछन् । 

पर्वतारोहण क्षेत्रमा गैर शेर्पा र त्यसमाथि हिमाल चढ्न नेपाल आउने विश्वभरका अधिकांश बिशिस्ट ब्यक्तिहरु पुर्जामार्फत नै नेपाल आउने गर्छन् । 


निर्मल पुर्जा अर्थात ‘निम्सदाई’ एक कीर्तिमानी हिमाल आरोही तथा बेलायती भूतपूर्व गोर्खा सैनिक हुन्। उनले ६ महिनाभन्दा कम अवधिमा समुद्री सतहबाट ८ हजार मिटरभन्दा अग्ला संसारका सबै १४ वटा हिमालको सफल आरोहण गरेका छन् । निर्मल पुर्जा यी सबै हिमाल चढ्ने नेपालीहरूमा पाँचौँ र गैरशेर्पा नेपालीमा पहिलो हुन् ।

१६ वर्ष बेलायती सेनामा काम गरेका  पुर्जाले २०६९ पुसमा पहिलोपटक सगरमाथा आधारशिविरसम्म पदयात्रा गरेका थिए । त्यही वर्ष उनले पहिलो पटक ६ हजार १ सय १९ मिटर उचाइको लोबुचे हिमालबाट आरोहण यात्रा थालेका थिए ।

१२ वर्षको छोटो अवधिमा ४४ पटक विश्वका अग्ला शिखरमा पुगेका र दर्जनौं रेकर्ड बनाएका छन् । 

ब्रिटिश गोर्खा पल्टनमा हुँदाहुँदै सगरमाथा चढेपछि जागीर छाडेर ‘फूलटाइम क्लाइम्बर’ बनेका पुर्जाले आफ्नो जीवन नै हिमाल आरोहणमा समर्पण गर्ने सोच बनाएका छन् । 

म्याग्दीको दाना गाउँमा जन्मिएका पुर्जा सानै हुँदा परिवार चितवन सर्‍यो। गाउँमै हुर्किएका पुर्जा सानैदेखि निडर स्वभावका र हरेक चुनौतीसँग लड्न तयार हुने ब्यक्ति हुन् ।  ब्रिटिश सेनाको सबैभन्दा एलिट कमान्डो दस्ता ‘स्पेशल बोट सर्भिस’सम्म पुग्ने उनी पहिलो नेपाली गोर्खा हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू