शनिबार, साउन १२, २०८१
02:12 | ०६:५७

बेलायतमा सातौं नेपालकप क्रिकेट हुंदै, नौ टीम भिड्दै

प्रतियोगिता ३० जुन तथा ३ र ७ जुलाईमा

नेपाली लिङ्क जुन ५, २०२४


लन्डन- बेलायतको नेपाली समुदायमा वर्षेनी आयोजना हुंदै आएको ‘नेपालकप टी ट्वान्टी क्रिकेट’ को सातौं संस्करण यहि महिनाको अन्त्यमा शुरु हुने भएको छ ।

यहि जुन ३० तारिख तथा जुलाई ३ र ७ तारिख गरी तीन दिन प्रतियोगिता सञ्चालन गरिने आयोजक पोखरेली मञ्च यूकेले जनाएको छ।

रेडिङको सोनिङ लेनस्थित रेडिङ क्रिकेट क्लब एण्ड हक्की क्लबको मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ । यसपटक प्रतियोगितामा बेलायतका विभिन्न क्षेत्रबाट जम्मा ९ टोलीको सहभागिता पक्का भएको आयोजक मञ्चले जनाएको छ ।

नेपालकपको सातौं संस्करणमा भाग लिने टोलीहरुमा हिमालयन क्रिकेट क्लब, क्वीन गोर्खा सिग्नल क्रिकेट क्लब, नेप्लिज वारियर क्रिकेट क्लब, माया क्रिकेट क्लब, रमाइलो क्रिकेट क्लब, नव युवा क्रिकेट क्लब, गोर्खा क्रिकेट क्लब केन्ट, गोर्खा टाइगर्स स्पोर्टस् क्लब र खुकुरी क्रिकेट क्लब छन् । जसमा रेडिङ, अल्डरसट आसपासदेखि लन्डन, केन्ट र मिडल्याण्डसम्मका टीम समावेश छन् ।

प्रतियोगिताका विजेता टीमलाई १५ सय पाउण्ड नगद र ट्रफीसहितको पुरस्कार दिइनेछ भने दोस्रो स्थानमा आउने टीमले ८ सय पाउण्ड नगद पुरस्कार प्राप्त गर्नेछ ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई म्यान अफ द सिरिजका रुपमा २ सय पाउण्ड नगद र ट्रफी प्रदान गरिनेछ । सर्वाधिक रन तथा सर्वाधिक विकेट हासिल गर्ने दुवै खेलाडीलाई पनि १ सय ५० पाउण्ड नगद र ट्रफीसहित पुरस्कृत गरिनेछ ।

नेपालकप क्रिकेटका खेलहरु सञ्चालन गर्न आइसीसीबाटै मान्यताप्राप्त रेफ्रीहरु ल्याइने आयोजकले बताएको छ । हरेक खेल पूरै २० ओभर खेलाइनेछन् भने टीममा खेलाडी संख्या पनि ११ नै रहनेछ ।

पोखरेली मञ्च यूकेको आयोजना रहने सातौं नेपालकप क्रिकेटमा ग्रेटर रेडिङ नेपाली कम्युनिटीको पनि सहयोग रहनेछ । प्रतियोगिताको टाइटल स्पोन्सर पीपल मोर्गेजेज छ ।

सातौं नेपालकप क्रिकेटको इभेन्ट संयोजक आयोजक मञ्चका उपाध्यक्ष पवित्र गुरुङ छन् भने क्रिकेट संयोजक मञ्चका स्पोर्टस कोअर्डिनेटर प्रकाश गुरुङ हुन् ।

आयोजक मञ्चका अध्यक्ष करम गुरुङले बेलायतमा रहेका नेपाली क्रिकेटरहरुलाई प्रोत्साहन गर्नु नै नेपालकपको प्रमुख उद्धेश्य रहेको नेपालीलिंकलाई बताए।

अध्यक्ष गुरुङले बेलायतस्थित सबै खेलप्रेमी नेपालीलाई नेपालकपको निम्तो दिंदै खेल हेर्न उपस्थित भएर खेलाडीको हौसला बढाइदिन अपील गरेका छन्।

नेपालकप क्रिकेटमा दर्शकलाई प्रवेश निशुल्क छ । खेलस्थलमा नेपाली खानाको स्टल समेत उपलब्ध रहनेछ । साथै, मनोरञ्जनका लागि विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुति र आकर्षक पुरस्कारसहित राफल ड्र पनि गराइनेछ ।

पोखरेली मञ्च यूकेले सन् २०१६ देखि शुरु गरेको नेपालकप टी ट्वान्टी क्रिकेट त्यसयता कोभिडकालमा बाहेक वर्षेनी आयोजना हुंदै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू