शनिबार, साउन १२, २०८१
05:35 | १०:२०

२२औं गोर्खा कप आइतबार, टिम र पुरस्कार राशी वृद्धि

नेपाली लिङ्क मे १८, २०२४

लन्डन । बेलायतको नेपाली समुदायमा सबैभन्दा वृहत मानिने फुटबल प्रतियोगिता गोर्खा कपको २२ औं संस्करण आउंदो २६ मे आइतबार हुने भएको छ ।

आयोजक तमुधिं यूकेले शनिबार मिचेटस्थित आफ्नै कार्यालयमा एक पत्रकार सम्मेलन गरि गोर्खा कपको तयारी पुरा भएको जनाएको छ ।

गोर्खा कप संयोजक तथा स्पोर्टस् सेक्रेटरी क्याप्टेन दीपकराज घलेले २२ औं गोर्खा कपमा मेन क्याटेगोरिजमा ३२ टिमले प्रतिष्पर्धा गर्ने जनाए । भेट्रानमा यसपटक दोब्बर वृद्धि गरि १६ टिमबीच प्रतिष्पर्धा गराइनेछ । गत वर्ष यो क्याटेगोरीमा जम्मा ८ टिम सामेल थिए ।

मेन वर्गीकरणमा पहिलो हुने टिमले ३००० पाउण्ड, रनरअपले १८०० पाउण्ड, ट्रफी एवं सर्टिफिकेट पाउनेछन् भने भेट्रान टिम वीनरले १५०० पाउण्ड, रनरअप १२०० पाउण्ड, लेडिज वीनरले ६०० पाउण्ड र रनरअपले ४०० पाउण्ड पुरस्कार पाउने संयोजक घलेले बताए । वेष्ट प्लेयरलाई गोर्खा वाच दिइनेछ ।

संयोजक घलेले फुटबल स्तरवृद्धि, युवाहरुमा लागूऔषध र मदिराको कुलत न्यूनीकरण, स्थानीय समुदायसंग अन्तरघुलन, कोष अभिवृद्धिलगायत उद्देश्सहित गोर्खा कप गर्न लागिएको बताए ।

गोर्खा कप फुटबल प्रतियोगितामात्र होइन्, यहां खाना र व्यापारिक स्टल समेत रहनेछन् ।

स्टल संयोजक तमुधिं यूके उपाध्यक्ष कमल कोने गुरुङले यो पटक रेष्टुरेन्टका १८, लत्ता कपडाका २६, नेपाली हस्तकलाका १० र व्यापारिक ६० स्टल रहने जानकारी गराए । अल्कोहल विक्री भने प्रतिवन्ध छ ।

गोर्खा कपको मुख्य आकर्षण मानिने प्यारासुट जम्प भने विविध कारण यसपटक नगराइने भएको छ । ठेलो खेल रद्द गरिएको छ ।

सो अवसरमा व्यवसायिक फुटबलरहरु कविन राई, विभेस गुरुङ र गोरक घलेलाई निमन्त्रणा गरिएको छ । सांस्कृतिक कार्यक्रम पनि गोर्खा कपको मुख्य आकर्षण रहनेछ ।

खेल संयोजक घलेले गोर्खा कप सम्पन्न गर्न तीनसय बढी स्वयंसेवक खटिने जनाए । ५५ हजार पाउण्ड खर्च हुने अनुमान छ । गत वर्ष ४८ हजार ८०७ पाउण्ड खर्च भएको थियो ।

सो अवसरमा संयोजक घलेले विभिन्न जिम्मेवारी बांडफांटबारे पनि अवगत गराए ।

तमुधिं यूके अध्यक्ष हरि गुरुङले यसपटकको गोर्खा कपमा केही नयां गर्ने दुष्साहस गरिएको बताए । उनले गोर्खाकप बेलायतका सबै नेपालीको साझा कार्यक्रम रहेको भन्दै यसलाई सफल पार्न सबैको साथ र सहभागिताका लागि आव्हान गरे ।

यसपटक टिम वृद्धि र पुरस्कार राशी बढाइएको उनको भनाइ थियो । केही शीर्षकमा खर्च कटौती पनि गरिएको छ ।

पत्रकार सम्मेलनमा उपाध्यक्ष परशु गुरुङ, कोषाध्यक्ष दिलमाया गुरुङ, सचिव विमल गुरुङ, संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्व अध्यक्ष एवम् एनआरएनए यूके अध्यक्ष हितकाजी गुरुङ, पूर्व अध्यक्षहरु ज्ञाम गुरुङ, रामचन्द्र (सूर्जे) गुरुङ, नन्दजंग गुरुङ, आमा समूह अध्यक्ष सन्ध्या गुरुङ र पदाधिकारी, तमुधिं यूके इकाई अध्यक्षहरु, सल्लाहकारहरु लगायतको सहभागिता थियो ।

कार्यक्रममा तमुधिं यूकेका वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तव्य दिएका थिए भने महासचिव डा. विशाल गुरुङले कार्यक्रम सञ्चालन गर्दै ‘हेल्थ एण्ड सेफ्टी’ ब्रीफ गरेका थिए ।

सो अवसरमा मिडिया सेक्रेटरी एस के गुरुङले पत्रकारहरुको परिचय गराएका थिए भने अध्यक्ष गुरुङ लगायतले खेलमा निमन्त्रणा गर्दै उनीहरुको सम्मान गरे ।

तमुधिं यूकेले खेलबाट वचत भएको रकम च्यारिटीमा खर्चने जनाएको छ । च्यारिटीलाई विशेष प्राथमिकता दिंदै आएको संस्थाले गत वर्षमात्र ३५ हजार पाउण्ड नेपाल पठाएको थियो ।

सो अवसरमा कुमार गुरुङ र कुसाङ गुरुङले ‘टिम ड्र’ गराएका थिए । प्रतियोगिताका लागि उपलब्ध स्थानभन्दा धेरै टिमहरुको आवेदन आएपनि केहीलाई रिजर्भमा राखिएको र कतिपयलाई फर्काउनुपरेको कुमार गुरुङले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू