शनिबार, साउन १२, २०८१
06:24 | ११:०९

यूकेको पहिलो नेपाली ब्याङक्वीट: हुन्छन् बिहे, पास्नीदेखि च्यारिटी र सभा समारोह (भिडियो)

नेपाली लिङ्क मे १३, २०२४


लन्डन । बेलायतको अल्डरसट शहरलाई ब्रिटिस सेनाको घर पनि भनेर चिनिन्छ जहाँ १०० वर्षभन्दा बढी समयदेखि गोर्खा रेजिमेन्ट तैनाथ छ । यही शहरमा नेपालीको बसोवास उल्लेख्य छ । यसलाई नेपालीको राजधानी पनि भनिन्छ।

गोर्खा सैनिकले वर्षौंदेखि चिनाएको रसमोर 
बरोस्थित अल्डरसटमा अचेल एउटा आइकोनिक हल ‘एम्पायर’ ले पनि नेपाली पहिचान दिलाइरहेको छ । एम्पायर नपुगेका वा नाम नसुनेका नेपाली बेलायतमा विरलै होलान् । बिहे, व्रतवन्ध, पास्नी, जन्मदिन जस्ता नितान्त निजी कर्मदेखि च्यारिटी, कन्सर्ट र संस्थागत सभा समारोहका लागि उत्कृष्ट रोजाइ बनेको छ यो हल ।

एम्पायर भन्ने बित्तिकै जोडिन्छन् सञ्चालक पूर्णचन्द्र गिरी (पुरण) । बेलायतमा नेपालीको सम्भवतः पहिलो विशाल ब्याङक्वीटिङ हल एम्पायरका सञ्चालक गिरीले कसरी ल्याए यो कन्सेप्ट ? एम्पायरमा पाइने सेवा के के छन् ? आफ्नो वाल्यकाल, पारिवारिक पृष्ठभूमिदेखि युरोपको संघर्षपूर्ण यात्राबारे यहां निकै खुलेका छन् पुरण ।

पर्वत कुश्मा नगरपालिका ६ मा बाबा कलाधर गिरी र आमा इन्द्रकुमारीको जेठो छोराका रुपमा जन्मिए उनी । तीन दाजुभाईमध्ये एकजना भाई यूके र अर्को भाई अमेरिकामा छन् ।

नारायण मावि हुंदै कुश्मा गुप्तेश्वर बहुमुखी क्याम्पसमा आइए पढ्दा पढ्दै व्यवसायमा लागेका थिए उनी ।

त्यसो त बच्चादेखि नै पुरण व्यवसायतिर आकर्षित भएका थिए । हजुरबुवा बलभद्र गिरीले घरभरि फलफूलका बोट लगाएका थिए । पुरण घरका फलफुल बजार लगेर सस्तो दाममा बेच्ने गर्दथे, सस्तो भएपछि व्यापार पनि राम्रै हुने भयो ।

बुबाको चाहना भने छोरालाई धेरै पढाउने थियो । इण्डियन आर्मीको जागिर छाडेर छोरालाई पढाउन नेपाल फर्किएका थिए बुबा । तर पुरणले पढाइतिर ध्यान नदिएपछि बुबाको इच्छा अधुरै रह्यो । नपढेपनि छोरालाई ब्रिटिश वा इण्डियन आर्मीमा भर्ती गराउन खुब जोड दिएका थिए बुबाले । ब्रिटिश आर्मीका लागि पोखरा भर्ती केन्द्रमा उनका मित बुबा नै थिए । त्यसमाथि बेलायतबाट गएका ब्रिगेडियरले पनि पुरणलाई भर्ती हुन आग्रह गरे तर उनले मानेनन् ।

राजनीतिक पारिवारिक पृष्ठभूमिमा हुर्किएका पुरणलाई त्यता झन् मोह नै थिएन । जेठो बुबा १७ वर्ष कुश्माको प्रधानपञ्च भएका थिए । त्यतिबेलाका प्रधानमन्त्रीहरु सूर्यबहादुर थापा, लोकेन्द्र बहादुर चन्द, तुलसी गिरी लगायत नेताहरु सबै उनको घर जान्थे । हजुरबुबा दरबार हाइस्कुल पढेकाले राणाहरुसंग पनि निकट सम्पर्क थियो । पशुपति शमशेर जबरा अझ नजिक थिए । राजदरबार हत्याकाण्डपछि दिव्यानी राणा इण्डियाबाट बेलायत आउंदा आफ्नो घरमा दुईदिन बिताएकी पुरण स्मरण गर्छन् । दरबार हत्याकाण्डबारे आफूलाई धेरै थाहा भएको र यसलाई कुनै दिन अनुकुल मिले सेयर गर्ने उनले बताए ।

राजनीति र आर्मी छाडेर व्यवसायमै किन होमिए उनी ? उनले सुनाए, ‘सानैदेखि मेरो व्यापारिक मोह थियो । घरमा रुख कटहर, नासपति, केरा, आदि फलफुलका असंख्य बोट थिए हजुरबुबाले रोपेका । फल लागेपछि सस्तोमा बेचेर पैसा कमाउन थालें ।’ उमेर सानै थियो, सन् १९९४ तिर २ वटा बस किनेर चलाउन थालिसकेका थिए उनले । ट्रक व्यवसाय शुरु गरेपछि उनी पृथ्वी राजमार्ग बस सञ्चालक समितिको कान्छो सदस्य निर्वाचित पनि भए । व्यवसायमा लागेपछि पुरणलाई पढाई र आर्मी भर्तीतिर चासै भएन ।

पुरण गिरी

५ वर्षजति बस व्यवसाय चलाएपछि उनी ट्राफिक व्यवस्थापन अध्ययन भ्रमण गर्न फ्रान्स आए सन् १९९६ मा । एक महिना त्यहां बसेपछि जर्मनी गए उनी जहां उनका साथीहरु थिए । त्यहां दुई वर्षजति बसेपछि सन् १९९९ जुनमा बेलायतको फार्नबोरो आइपुगेका हुन् उनी ।

‘युरोप बसाइ निकै संघर्षपूर्ण रह्यो । बिरानो देश, भाषा समस्या । कागको कुइरो जस्तो अलमलमा थिएं । दुईवटा छोरीमध्ये एउटी ५ महिनाकी बच्ची छाडेर विदेशिएको थिएं’, उनी सम्झन्छन् ।

कुश्माबाट युरोप छिर्ने थोरैमध्ये एक र परिवारमा आफूमात्र थिए उनी । गन्तव्य अन्यौलपूर्ण थियो । देशमा माओवादी द्धन्द्ध चर्किएको थियो, व्यापार व्यवसाय धरासायी बनिरहेको थियो । जागिरको अवसर थिएन । राजनीतिक उतारचढाव बढिरहेको थियो । विविध परिस्थितिबीच उनी सुन्दर भविष्य खोज्न यतै बसे ।

पुरण सानैदेखि अलिक बढी चन्चल, निडर र हक्की स्वभावका थिए । अन्याय, विकृति विसंगति पटक्कै नसहने उनको स्वभाव थियो । एकपटक स्कुलमा हेडसरलाई कोठामा ताला लगाएर हिंडेको उनी स्मरण गर्छन् । उनले १८ वर्षमै भागेर बिहे (लभ म्यारिज) गरेका थिए । एसएसलसी लगत्तै मगरसंग अन्तरजातीय बिहे गर्दा घर परिवार र समाजमा यसले नयां तरंग ल्याएको थियो ।

सन् २००० देखि यूकेमा व्यवसाय शुरु गरे उनले । एट्लीमा पहिलो व्यवसाय गोर्खा स्पाइस रेष्टुरेन्ट खोलेका थिए पार्टनरसीपमा । तर त्यसको विजनेश राम्रो भएन, छाडेर अरु केही रेष्टुरेन्ट खोले, फेरि बेचे । जम्माजम्मी दुई वर्षजति रेष्टुरेन्ट व्यवसाय चलाउंदा उनले यसमा भविष्य देखेनन्, केही समय विश्राम लिए हस्पिटालिटीबाट ।

बीचमा फार्नबारो टेकबाट फुड एण्ड बेभरेजमा ‘लेभल थ्री’ कोर्ष गरेपछि क्वालिफाइड सेफ भए उनी । पहिलेदेखि नै गरेको र अध्ययन पनि भएपछि रेष्टुरेन्ट व्यवसायमा फेरि फर्किए उनी ।

रेष्टुरेन्ट व्यवसाय बिग्रिएपछि सन् २००८ तिर ट्याक्सी कम्पनी पनि शुरु गरे उनले । पहिलो नेपाली थिए यस्तो व्यवसाय गर्ने उनी । हार्ट काउन्सिलसंग समन्वय गरेर ट्याक्सी बस सञ्चालन गरेका थिए । पछि ट्याक्सी कम्पनी बेचेर सन् २०१५ मा एम्पायर हल खोले पुरणले ।

कसरी आयो एम्पायर हल कन्सेप्ट ?

उनी सन् २००२ मा पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्ष बनेका थिए । एकपटक उपाध्यक्ष र तीन कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका उनलाई यही समाजको नेतृत्व लिंदा ब्याङक्वीटिङ हलको परिकल्पना आयो ।

सन् २००५-६ तिर ओकफार्म स्कुलमा एउटा बीबीक्यूसहित भव्य सांस्कृतिक कार्यक्रम गरिएको थियो । कार्यक्रम सफल भयो, सहभागिता उल्लेख्य थियो । कार्यक्रम गर्दा गर्दै ढिला हुंदा स्कुल व्यवस्थापनले बत्ति निभाइदियो, राखेको डिपोजिट पनि लग्यो । त्यतिमात्र होइन्, कार्यक्रम सकिएपछि अरु सबै घरतिर हिंडे । उनी भने अन्तिमसम्म बसेर आफैंले सरसफाइ गर्न थाले ।

‘टाई सुट लगाएको मान्छे आफैं सफा गर्नु पर्ने वाध्यताले मलाई आफ्नै हलको आवश्यकता महशुस गरायो’, उनले सुनाए ।

शुरुमा उनले त्यो प्रपर्टी आफैं किन्न खोजेका थिए तर मिलेन । ‘एक नेपालीले होल्ड गरेर राखेको थियो । मेरो ड्रिम प्रोजेक्ट हो म लाख पाउण्ड दिन्छु भन्दा पनि मानेन । पछि मेरो इण्डियन साथीले प्रपर्टी लिजमा पाएपछि मैले लिएं’, उनी भन्छन् । शुरुमा ८ लाख पाउण्ड रिफर्बिसमा खर्च भएको उनी बताउंछन् ।

एम्पायरमा सुविधा के के छन् ?

६०० (राउण्ड टेबुल डाइनिङ), उभिएर ९९९ जना, २५०, १५०, ८० र ५० जना अट्ने सबै गरेर ७ वटा हल छ एम्पायरमा । नाइट क्लव पनि छ एउटा । एम्पायर हलमा लेआउट, साउण्ड सिस्टम, डेकोरेसन, फोटो भिडियोग्राफर, सुरक्षा केहीमा चिन्ता लिनुपर्दैन । खाना त्यहीं खाने भए हलको भाडा पनि लाग्दैन ।

एम्पायरमा नेपाली, अफ्रिकी, अंग्रेजी सबै खालका समुदायले कार्यक्रम गर्छन् । नेपालीका ९० प्रतिशत कार्यक्रम यहीं हुन्छ । हप्तामा २० वटा पार्टीसम्म भएको उदाहरण छ ।

अंग्रेजी खानाका साथ रसमोर मेयर बरो च्यारिटी डिनर पनि गरिएको पुरणले बताए । ब्रिटिश बक्सिङ बोर्डबाट बक्सिङ भेन्यूका लागि लाइसेन्स पाएको एम्पायरमा बक्सिङ खेल र रिफरेन्डम पनि भएका छन् । नेपालबाट आएका कलाकारले विशाल कन्सर्ट यहीं गर्छन् ।

‘हामी नेपाली सबै खाले इभेन्ट्स जस्तै मलामी ख्वाउने, बिहे, व्रतवन्ध, ८४ पूजा समेत गर्न हल उपलब्ध गराउंछौं’, पुरण भन्छन्, ‘तर नाफा कमाएको छैन्, कमाइ यही हलमा लगाएको छु । यहां सम्पन्न भएका च्यारिटीले नेपालमा धेरै सहयोग हुंदा गर्व लाग्छ ।’

वीकेन्ड सधैं विजी हुने यस हलको व्यवस्थापन नारायण गिरी र राजकुमार गुरुङले गर्छन् ।

नेपाली समुदायका कतिपय च्यारिटी निशुल्क पनि गर्न दिएको पुरणले बताए । च्यारिटीका लागि ह्दय ठूलो बनाएर फ्रि हल, खाना नै दिने उनले सुनाए । ‘म यही नेपाली समुदायबाटै यहांसम्म आइपुगेको छु, म पनि सामाजिक प्राणी हो। गुड कजका लागि भएका च्यारिटीमा मेरो सहयोग सधैं रहन्छ’, उनी भन्छन् ।

हेल्थ एण्ड सेफ्टीका कुरामा सबैभन्दा बढी सतर्कता अपनाइने पुरण बताउंछन् । ‘हामी खाना आफैं सर्भ गर्छौं । खाना मानिसको स्वास्थ्यसंग सम्बन्धित भएकाले गुणस्तर र फ्रेस बनाउंछौं’, उनले सुनाए । एम्पायर हलले सातामा सयौंलाई खाना ख्वाउंछ ।

पुरण ग्राहकको स्वास्थ्य सवालमा धेरै सजग छन् । उनी खानाको क्वालिटीमा कहिल्यै सम्झौता गर्दैनन् ।

‘मैले लेभल थ्री गरेकाले खानाको आयु कति हुन्छ वा कति बेलासम्म खाइसक्नु पर्छ राम्ररी थाहा छ । खाना कराइमा पाकोस् भनेर एम्पायर हलमा माइक्रो ओभन राखिएको छैन । स्वास्थ्य खाना खुवाउन सके मलाई त्यो नै खुशी लाग्छ’-उनी भन्छन् ।

एम्पायरमा कार्यक्रम गर्दा सुरक्षा प्रवन्ध पनि हुन्छ । एउटा सेक्यूरिटी कम्पनी छ, उसले नै सबै सुरक्षा व्यवस्थापन गर्छ ।

व्यवसायमा चुनौति त पक्कै छ । हल खोलेपछि दिनकै खर्च १५०० पाउण्ड लाग्ने पुरण बताउंछन् । कर्मचारी २५ जनाजति काम गर्छन् । कर्मचारीको व्यवस्थापन सहज छैन् । व्यवसाय पनि त्यस्तो उत्साहजनक छैन् ।’तर, आर्थिक रुपमा त्यस्तो नाफा नभएपनि सामाजिक काम गर्दा सन्तुष्टि मिलेको छ’, उनले भने ।

एम्पायर हल व्यवस्थापनको भार कम लिएर अचेल प्रोपर्टी विजनेशमा पनि लागेका छन् उनी । उनको अल्डरसटमै सुसी मोतो रेष्टुरेन्ट छ ।

कोभिड महामारीका बेला विश्व नै प्रभावित बन्दा पुरण मात्र जोगिने कुरै भएन । घाटा सहे तर हलको ले-आउट परिवर्तन गर्न कोभिड समय सदुपयोग गरेको उनले बताए। पार्टी पार्टीले गर्दा मर्मत (रिफर्बिस) को मौका मिलेको थिएन । तर त्यो बेला सिनेमा हल स्टाइलको एम्यायरलाई पार्टी प्यालेस बनाइयो ।

अन्तर्राष्ट्रिय पर्वत समाजका संस्थापक अध्यक्ष उनको नेतृत्वमा कोभिडका बेला पर्वतेलाई अक्सिजन र मास्कको अभाव हुन नदिएको उनी बताउंछन् । तत्कालिन राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले ति मास्क र अक्सिजन पठाउन सहयोग गरेका थिए । समाजले गाउंमा एम्बुलेन्स र शव बहान किनिदिएको छ । बाढी पीडितलाई घर बनाइदिएको छ ।

समाजले पर्वतमा हस्पिटलको स्तर उन्नतिका लागि बेल्जियममा च्यारिटी गर्दैछ जुन २४ मा ।

पुरणलाई परिवारबाट पनि मोरल सपोर्ट छ । जेठी छोरी अस्मिता गिरी चिकित्सा क्षेत्रमा छिन् । उनले सन् २०२० मा सेन्ट जोर्जेज युनिभर्सिटी अफ लन्डनबाट ९२.३० प्रतिशतसहित सुपर्व रिजल्ट ल्याएकी थिइन् । अर्की छोरी सुस्मिता गिरी सफ्टवेयर इन्जिनियर हुन् । छोरा पुकास भने अहिले १३ वर्षमात्र भए । भाई नारायण गिरी एम्पायर हलकै बाग्डोर सम्हालेर बसेका छन् ।

हेरौं एम्पायर सञ्चालक गिरीसंग नेपालीलिंकको भिडियो संवाद-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू