सोमबार, जेठ ७, २०८१
12:53 | १७:३८

इंग्ल्यान्डसंग खेलेको नेपाली फुटबल टोलीलाई लन्डन दूतावासमा सम्मान

नेपाली लिङ्क मे ९, २०२४


लन्डन- गत मे ६ मा अल्डरसटमा इंग्ल्यान्ड ‘सी’ संग ऐतिहासिक फुटबल खेलेको नेपाली राष्ट्रिय टोलीका खेलाडी लन्डनस्थित नेपाली दूतावासमा सम्मानित भएका छन् ।

विहिबार साँझ दूतावासमा एक रिसेप्सन आयोजना गरी खेलाडी र अफिसियलका साथै आयोजक, स्वयमसेवक र प्रायोजकसमेतलाई सम्मान गरिएको हो ।

सो अवसरमा राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली टोलीका खेलाडीहरुसंगै प्रशिक्षक र व्यवस्थापन समूहका सदस्यहरुलाई खादा ओढाएर सम्मान गरे ।

उनले खेल आयोजक अल्डरसट टाउन फुटबल क्लबका अध्यक्ष साहिद अजिम, इंग्ल्याण्ड एफएका नेश्नल लिग प्रमुख लरेन्स जोन्स, खेल सफल पार्न नेपाली समुदायबाट स्वयमसेवकका रुपमा योगदान गर्ने सूर्य गुरुङ, कमल कोने गुरुङ, कुमार गुरुङ र दिलरास गुरुङलगायतलाई पनि सम्मान गरे ।

साथै, खेलका लागि आर्थिक सहयोग प्रदान गर्ने समाजसेवी व्यवसायी रविन्द्रजंग लामिछाने तथा प्रायोजक नेपाल फुड्सका विकास नेपाल, रोशन गुरु पनि सम्मानित भए।

समारोहमा मन्तव्य राख्दै राजदूत आचार्यले इंग्ल्याण्ड र नेपालबीचको ऐतिहासिक पहिलो फुटबल खेलले दुई देशबीच रहंदै आएको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रवर्द्धन गर्न सहयोग पुर्याएको विश्वास व्यक्त गरे ।

खेल आयोजक अल्डरसट टाउन फुटबल क्लब अध्यक्ष साहिद अजिमले खेल सफल पार्न नेपाली पक्षबाट प्राप्त साथ, सहयोगप्रति आभार प्रकट गरे ।

उनले खेलको सोच बनाएर शुरुमा एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङसंग भेट्न पुगेको स्मरण गर्दै भने, ‘त्यसयता मलाई निरन्तर साथ र हौसला दिने नेपाली समुदायका सबै मित्रहरुलाई धन्यवाद दिन चाहन्छु ।’

इंग्ल्याण्ड एफएका नेश्नल लिग प्रमुख लरेन्स जोन्सले नेपालसंगको शुरु भएको फुटबल सम्बन्ध र सहकार्य अघि बढाउन इंग्ल्याण्ड तत्पर रहने उल्लेख गरे ।

खेल आयोजनामा प्रारम्भिक चरणबाटै संलग्न रहेर सहयोग पुर्याएका सूर्य गुरुङले भविष्यमा नेपाली महिला फुटबल टोलीलाई पनि इंग्ल्याण्डमा खेलाउने पहल गरिदिन अल्डरसट टाउन फुटबल क्लब र इंग्ल्याण्ड एफएलाई आग्रह गरे ।

त्यस अवसरमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले इंग्ल्यान्डसंगको खेलले नेपाली खेलाडीलाई ठूलो हौसला र अनुभव मिलेको सुनाउँदै भविष्यमा नेपाली खेलाडीले यहाँका क्लबहरुबाट खेल्ने अवसर पाउने आशा व्यक्त गरे ।


सोही अवसरमा अल्डरसट एफसी अध्यक्ष अजिमले खेल सफल पार्न खटिएका नेपाली समुदायका स्वयमसेवक र प्रायोजकहरुलाई कदरस्वरुप मायाको चिनो वितरण गरेका थिए।

त्यस्तै, नेपाली टोलीले स्वयमेवक र दूतावासका अधिकारीहरुलाई राष्ट्रिय टोलीको जर्सी उपहार दिएको थियो ।

कार्यक्रम सञ्चालन लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनालले गरेकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू