आइतबार, जेठ ६, २०८१
10:56 | १५:४१

हजारौं समर्थकबीच इंग्ल्याण्डसँग खेल्यो नेपालले ऐतिहासिक फुटबल (तस्विरहरु)

नेपाली लिङ्क मे ६, २०२४

लन्डन- नेपाली राष्ट्रिय फुटबल टिम इंग्ल्याण्ड सीसंगको ऐतिहासिक खेलमा २ गोल अन्तरले पराजित भएको छ ।

बेलायतको अल्डरसटस्थित इबीबी रंगशालामा सोमबार दिउसो भएको मैत्रीपूर्ण खेलमा इंग्ल्याण्ड सीले २ -० को जित हासिल गरेको हो ।

वर्षाका कारण पहिलो हाफमा नेपालको कमजोर प्रस्तुतिका कारण इंग्ल्याण्ड सीले दुई गोल स्कोर गरेपनि दोश्रो हाफमा नेपालले इंग्ल्याण्डलाई निकै दवावमा राख्यो ।

टिम कप्तान तथा गोल किपर किरणकुमार लिम्बुको उत्कृष्ट प्रदर्शनीका कारण नेपालले खेलमा दवाव दिइरहेको थियो । लिम्बु ‘म्यान अफ दि म्याच’ पनि घोषित भएका छन् ।

८ हजार क्षमताको भरिभराउ रंगशालामा झण्डै ९० प्रतिशत नेपाली दर्शकले खेल अवधिभर हुटिङ गर्दै खेलाडीलाई हौसला प्रदान गरेका थिए । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसहित लन्डनस्थित दूतावासका कर्मचारी र बेलायतको नेपाली समुदायका अभियन्ताहरु सहभागी थिए।

खेल हेर्न घण्टौं ड्राइभ गरी स्कटल्यान्ड, वेल्स, मिडल्यान्डलगायतका स्थानबाट नेपालीहरु अल्डरसट जम्मा भएका थिए । 

खेलपछि प्रिजेन्टेसन समारोहमा अल्डरसट टाउन फुटबल क्लब अध्यक्ष साहिद अजिम, इंग्ल्यान्ड एफए पदाधिकारी, नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, समाजसेवी व्यवसायी रविन्द्रजंग लामिछानेलगायतले खेलाडीलाई क्याप वितरण गरेका थिए ।

अल्डरसट टाउन फुटबल क्लवले एफए र नेपाली समुदायको सहयोगमा मैत्रीपूर्ण खेल आयोजना गरेको हो । नेपालले गोल गर्न नसकेपनि पहिलोपटक बेलायती भूमिमा खेल खेल्न पाउनुलाई प्रमुख उपलब्धि मानिएको छ ।

खेल सफल पार्न नेपाली समुदायका तर्फबाट कमल कोने गुरुङले संयोजक तथा दिलरास गुरुङ र कुमार गुरुङले टिकट संयोजकको भूमिका निर्वाह गरेका थिए। त्यस्तै, एनआरएनए यूके पूर्व अध्यक्ष समाजसेवी सूर्य गुरुङले आयोजक अल्डरसट  टाउन फुटबल क्लब र एन्फाबीच समन्वयलगायतका महत्वपूर्ण योगदान गरेका थिए ।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू