शनिबार, कार्तिक १०, २०८१
15:54 | २०:३९

गुल्मी जिल्ला समाज यूकेमा अध्यक्ष बन्न हानथाप, आइतबार मतदान तयारी

नेपाली लिङ्क मे ३, २०२४


लन्डन- सामाजिक कार्यका हिसाबले बेलायतमै अग्रणी मानिएको गुल्मी जिल्ला समाज यूकेको आठौँ अधिवेशन यही आइतबार अल्डरसटमा हुंदैछ ।

अधिवेशनले आगामी तीन वर्षका लागि निर्वाचित गर्ने नयाँ कार्यसमितिको अध्यक्ष पदमा सहमति बन्न नसकेपछि निर्वाचन तयारी गरिएको छ ।

कार्यसमितिका अधिकांश पद निर्विरोध भइसकेपनि अध्यक्ष र सचिव पदमा निर्वाचन गर्न लागिएको हो । आइतबार मध्यान्ह १२ देखि ३ बजेसम्म मतदान गराउने गरी निर्वाचन समितिले जम्मा ३ सय ४२ जना मतदाताको सूची प्रकाशन गरेको छ ।

यसअघि सधैं सहमतिमै कार्यसमिति चुनिने परम्परा रहंदै आएपनि यसपटक समाज निर्वाचनको मुखमा पुगेको छ ।

समाजको नयाँ अध्यक्ष बन्न वर्तमान उपाध्यक्षद्धय मञ्जु भण्डारी र तारा भट्टराईसंगै महासचिव रुद्र थापा चुनावी मैदानमा छन् । यसअघि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका उपाध्यक्ष वरुण भण्डारीले आफ्नो उम्मेदवारी फिर्ता लिएपनि अन्य तीन उम्मेदवार यथावत् छन् ।

सचिव पदमा पनि राधा खरेल र वसन्त खनाल गरी दुई उम्मेदवार कायम रहेकाले निर्वाचन गर्नुपर्ने भएको छ ।

यसअघि अध्यक्ष उम्मेदवार रुद्र थापाले कुनै पनि उम्मेदवारका पक्षमा अरु सबै सहमत बने आफू वाधक नबन्ने घोषणा गरेका थिए । तर अन्तिम समयसम्म पनि त्यस्तो सहमति नबनेपछि उनले ४ बुंदे प्रतिवद्धता सार्वजनिक गर्दै समाजका सदस्यहरुसंग आफ्नो पक्षमा मत मागेका छन् ।

समाजका संस्थापक एवम् अगुवाहरुले सकेसम्म सर्वसम्मत् कार्यसमिति चयन गर्ने भन्दै सहमति निर्माणका लागि गरेको प्रयास विफल बनेको छ ।

संस्थापक अध्यक्ष एवम् पूर्व अध्यक्षहरुले पनि सबै उम्मेदवारलाई संगै राखेर सहमति बनाउन कोशिस गरेपनि सफल हुन नसकेको वर्तमान अध्यक्ष वीर बलालले जानकारी दिए।

निर्वाचन समिति संयोजक फत्त थापाले निर्वाचनका लागि आवश्यक सबै प्राविधिक तयारी भइरहेको जानकारी दिए । समयभित्रै सहमति बने स्वागतयोग्य हुने भन्दै थापाले त्यसो हुन नसके तोकिएकै समयमा निर्वाचन प्रक्रिया अघि बढाउन निर्वाचन समिति दृढ र तम्तयार रहेको बताए ।

संस्थाको नेतृत्व चयनमा निर्वाचनको प्रजातान्त्रिक अभ्यास अन्यथा नभएपनि गुल्मी जिल्ला समाजस्तो प्रतिष्ठित परोपकारी सामाजिक संस्थाको अध्यक्ष पदमा भइरहेको हानथापले समाजका कयौं सल्लाहकार तथा सदस्यलाई निराश बनाएको छ ।

उम्मेदवारहरु स्वयम् भन्दा पनि उनीहरुलाई पछाडिबाट समर्थन गर्नेहरुबीचको आपसी तिक्तता र इगो नै सहमतिको वाधक बनेको बुझाइ उनीहरुको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू