मंगलबार, जेठ १, २०८१
07:03 | ११:४८

लन्डन बरो अफ बार्नेटका काउन्सिलरहरु पोखरामा

नेपाली लिङ्क अप्रिल २८, २०२४

लन्डन– पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको निमन्त्रणामा लन्डन बरो अफ बार्नेटका पूर्व मेयर काउन्सिलर क्यारोलिन स्टकको नेतृत्वमा ६ सदस्यीय प्रतिनिधिमण्डलले नेपालको सुन्दर शहर पोखरा भ्रमण गरेको छ ।

आफ्नो साताव्यापी नेपाल भ्रमणका क्रममा लन्डन बरो अफ बार्नेटको पहिलो आधिकारिक प्रतिनिधिमण्डलले मेयर आचार्यको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँग औपचारिक वार्ता गरेको थियो ।

भेटमा मेयर आचार्यले बार्नेट प्रतिनिधिमण्डललाई स्वागत गर्दै निमन्त्रणा स्वीकार गरी पोखरा महानगरपालिकाको भ्रमण गरेकामा धन्यवाद दिए । उनले पोखरा म्याराथनमा सहभागी हुन पनि आग्रह गरे ।

बैठकलाई सम्बोधन गर्दै काउन्सिलर क्यारोलिन स्टकले तत्कालिन उपमेयर लक्ष गुरुङले ल्याएको सोचबाट बार्नेट र पोखराबीचको मितेरी सम्बन्ध सुरु भएको बताइन् ।

‘यो एक सोच थियो जसले हाम्रा विभिन्न समुदायबीच सांस्कृतिक आदानप्रदान र समझदारी बढाउने प्रयत्न गरयो । हाम्रा शहरबीचको मित्रता प्रतीकात्मक भन्दा बढी छ र आज हामीमध्ये धेरै जना बार्नेटबाट यहाँ छौं’, क्यारोलिनले भनिन्, ‘हामी दुई नगरबीच दिगो विकास र वातावरणीय संरक्षणदेखि लिएर सम्बन्ध विस्तार गर्ने प्रयास गर्नेछौं ।’

बार्नेट बरोका पूर्व उपमेयर तथा हाल काउन्सिलर लक्ष गुरुङले दुवै पक्षबीच शिक्षा, स्वास्थ्य, पर्यटन, पोखरा म्याराथन र दुवै शहरलाई फाइदा हुने अवसर खोज्ने विषयमा छलफल भएको जनाए । ‘हामी हाम्रा दुई शहरबीचको सहकार्य अझ प्रवर्धन गर्न र हाम्रा नागरिकहरूको हितमा नजिकबाट काम गर्न तत्पर छौं’, उनले थपे ।

लन्डनबाट गएको प्रतिनिधिमण्डलमा काउन्सिलर क्यारोलिन स्टक, काउन्सिलर लक्ष गुरुङ, काउन्सिलर अर्जुन कुमार मित्रा, काउन्सिलर अम्मर नक्भी, काउन्सिलर कमल गुरुङ र डा रिचर्ड स्टक छन् ।

पोखरा बसाइका क्रममा लन्डन बरो अफ बार्नेट प्रतिनिधिमण्डलले फेवाताल, बेगनास ताल, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय, गोर्खा सङ्ग्रहालय र ब्रिटिश क्याम्प भ्रमण गरेको थियो । प्रतिनिधिमण्डल सूर्योदय हेर्न सराङकोट पनि पुगेको थियो भने विश्व शान्ति प्यागोडा, डेभिस फल्स, गुप्तेश्वर गुफा र पुम्दीकोट अवलोकन गरेको थियो ।

उनीहरुले मातृशिशु मितेरी अस्पताल, विन्धवासिनी उच्चमावि अस्पताल र बेलायती परोपकारी संस्था किडाशाको नेपाल अफिसको पनि भ्रमण गरेका थिए ।

किडाशाले पोखरा र नेपालका अन्य शहरमा बालबालिकाको स्वास्थ्य सुधार गर्न, उनीहरूको शिक्षा र रोजगारीलाई सक्षम बनाउन र उनीहरूलाई दुर्व्यवहार एवं शोषणबाट जोगाउन काम गरिरहेको छ।

बार्नेट र पोखरा महानगरपालिकाबीच सन् २०२१ मेमा मितेरी शहर बनाउने सम्झौता भएको थियो ।

गत १५ जनवरी २०२३ मा पोखरामा भएको दुःखद हवाई दुर्घटनामा जहाजमा सवार सबै ७२ जनाको ज्यान गएपछि बार्नेटका तत्कालीन मेयर काउन्सिलर एलिसन मुरले पोखराका आफ्ना समकक्षीलाई शोक सन्देश पठाएका थिए । श्रद्धान्जली अर्पण गर्न लन्डन हेन्डन टाउन हल बाहिर फहराइरहेको बरोको झण्डा आधा झुकाइएको थियो ।

पोखरा भ्रमणका लागि प्रतिनिधिमण्डलको नेतृत्व बार्नेटका मेयर नागुस नरेन्थिराले गर्ने भनिए पनि व्यक्तिगत कारणले गर्दा अन्तिम समयमा उनले भ्रमण रद्द गर्नुपरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू