मंगलबार, वैशाख १८, २०८१
23:02 | ०३:४७

मध्यपूर्व अस्थिर बन्दै, इरानद्वारा इजरायलमाथि तीनसय बढी ड्रोन र क्षेप्यास्त्र प्रहार

रासस/एएफपी अप्रिल १४, २०२४

तस्विर रोयटर्स

जेरुसेलम, वैशाख २ गते । इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरायलमा आक्रमण गरेको छ । इजरायली सेनाका अनुसार तेहरानले इजरायलतर्फ तीनसय बढी ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको हो । तीमध्ये अधिकांशलाई विफल पारिएको छ ।

केही आक्रमण इराक र यमनबाट समेत भएको इजरायली सेनाका प्रवक्ता रियर एडमिरल डेनियल हागारीले जानकारी दिएका छन् ।

सेनाले आक्रमणमा प्रयोग गरिएका ड्रोन र क्षेप्यास्त्रमध्ये ९९ प्रतिशत इजरायली प्रतिरक्षा प्रणालीले रोकेको जनाएको छ ।

प्रवक्ता हागारीले एक टेलिभिजन कार्यक्रममा भने, “इरानी आक्रमण विफल पारिएको छ ।” हगारीका अनुसार इजरायलतर्फ प्रहार गरिएका कुनै पनि ड्रोन र क्रुज क्षेप्यास्त्र आफ्नो क्षेत्रमा प्रवेश गरेका छैनन् र केही ब्यालेस्टिक क्षेप्यास्त्र मात्र इजरायलसम्म पुगेका छन् ।

ब्यालेस्टिक क्षेप्यास्त्रमध्ये एउटाले सेनाको ‘नेभाटिम शिविर’ मा हल्का प्रभाव पारेको उल्लेख गर्दै उनले सैन्य परिसरमा ‘अझै पनि काम भइरहेको’ उल्लेख गरे ।

रक्षामन्त्री योआभ ग्यालान्टले भने, “संयुक्त राज्य अमेरिका र थप साझेदारहरूसँग मिलेर हामीले इजरायली भूमिको रक्षा गर्न सफल भएका छौँ । “आक्रमणको जोखिम अझै सकिएको छैन, हामी सतर्क रहनुपर्छ,” ग्यालेन्टले भने ।

इजरायली बासिन्दालेले जेरुसेलम र अन्य स्थानहरूका आकाशमा विस्फोटनको आवाज सुनेको बताएका छन् ।

यसैबीच, आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपतिसँग समेत टेलिफोन संवाद गरेका छन् भने इजरायलले दिने जवाफबारे छलफल गर्न ‘वार क्याबिनेट’ को बैठक बोलाएका छन् ।

उता, इरानको रिभोल्युशनरी गार्डसले एक विज्ञप्तिमार्फत ती आक्रमण ‘इजरायली अपराध’ को जवाफ भएको बताएको छ । गार्डसले अप्रिलको सुरुमा सिरियास्थित इरानी कूटनीतिक परिसर ध्वस्त पार्ने गरी भएको आक्रमणलाई इजरायली अपराध भनेको छ । गार्डसले आफ्ना हमलाहरू ‘निश्चित निशानाहरूमा’ लक्षित गरिएको जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू