सोमबार, वैशाख २४, २०८१
21:09 | ०१:५४

बेलायती विश्वविद्यालयको विद्यार्थी युनियन अध्यक्षमा लड्दै नेपाली युवा

नेपाली लिङ्क फ्रेब्रवरी २४, २०२४

लन्डन- बेलायतको एक विश्वविद्यालयमा आसन्न विद्यार्थी युनियन निर्वाचनमा एक नेपाली विद्यार्थी अध्यक्ष पदको उम्मेद्वार बनेका छन्।  

लन्डन ग्रीनवीचस्थित ‘र्‍याभन्सवर्न युनिभर्सिटी’ मा अध्ययनरत दीपक कोइरालाले उक्त युनिभर्सिटीको विद्यार्थी युनियन अध्यक्षमा उम्मेद्वारी दिएका हुन्।

विद्यार्थी युनियन निर्वाचनका लागि आगामी मार्च ४ देखि ६ तारिखसम्म अनलाइन मतदान हुंदैछ जसमा युनिभर्सिटीमा अध्ययनरत झन्डै पाँच हजार विद्यार्थीले मतदान गर्न पाउनेछन्। सो युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थीहरुको अनुमानित संख्या एक हजार बढी रहेको कोइरालाले नेपालीलिंकलाई बताए।

कोइरालासँग युनियन अध्यक्षको चुनावी मैदानमा अरु दुई उम्मेद्वार छन्। निर्वाचनमार्फत् चुनिन सफल हुनेले युनियन अध्यक्षका रुपमा एक वर्षे कार्यकालभर त्यहाँ अध्ययनरत सबै विद्यार्थीहरुको प्रतिनिधिका रुपमा काम गर्नेछ। जुन भूमिका ‘फुलटाइम’ हुनेछ र त्यसवापत जागिरकै सरह तलबसुविधा समेत मिल्नेछ।

कालिकोटको राचुलीमा जन्मिएर हाल कैलाली टिकापुर बसाइ रहेका कोइराला अध्ययनका लागि तीन महिनाअघि मात्रै बेलायत आएका हुन्। उनले गत नोभेम्बर इन्टेकमा डिजिटल मार्केटिङ विषयमा एमएस्सी शुरु गरेका छन्।

२७ वर्षीय कोइरालाले बेलायत आउनुपूर्व काठमाडौँस्थित ग्लोबल कलेज इन्टरनेसनलबाट एमबीए गरिसकेका छन्।

विद्यार्थी युनियन अध्यक्षको चुनावी मैदानमा उत्रिएका कोइरालाले आफ्ना विभिन्न एजेन्डा अघि सारेका छन्।

सबै विद्यार्थीका लागि इन्ट्रनसिपसम्बन्धि सहायता, सिभी एन्ड करियर हेल्पडेस्क सञ्चालनदेखि ‘स्टार्ट अप’ संस्कृति विकास गर्ने र विद्यार्थी प्रतिनिधित्व बढाउने उनका प्रमुख एजेन्डा छन्। 

त्यस्तै, कोइरालाले युनिभर्सिटीमा विद्यार्थीहरुका लागि उपलब्ध प्राज्ञिक सहायता बढाउने, स्वास्थ्य तथा खेलकुद क्षेत्र व्यवस्था गराउने, क्याम्पस सुविधाहरु बढाउनेदेखि विविधता र समावेशितालाई प्रोत्साहन र सामुदायिक संलग्नतालाई प्रवर्द्धन गर्नेसम्मका एजेन्डा बनाएका छन्।  

कोइरालाले युनिभर्सिटीमा अध्ययनरत विद्यार्थीहरुले महशुस् गर्न सक्ने गरी परिवर्तन ल्याउन आफू युनियन अध्यक्षको उम्मेद्वार बनेको बताएका छन्।

‘म युनिभर्सिटीमा केही आवश्यक परिवर्तनहरु होस् भन्ने चाहन्छु’, उनले नेपालीलिंकसँग भने, ‘अहिलेसम्म यहाँ घरेलु विद्यार्थीलाई केन्द्रित गर्ने र अन्तराष्ट्रिय विद्यार्थीहरुको वास्ता नगर्ने परम्परा रहेछ । त्यसैलाई परिवर्तन गर्नु मेरो पहिलो प्राथमिकता रहनेछ ।’ 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू