शनिबार, वैशाख १५, २०८१
10:08 | १४:५३

यसरी सफल बन्यो बेलायतवासी नेपालीको सामूहिक लगानी अवधारणा (भिडियो)

नेपाली लिङ्क फ्रेब्रवरी १०, २०२४


लन्डन । सन् २०१३ अक्टोबरमा एनआरएनए विश्व सम्मेलनका लागि बेलायतसहित विश्वभरबाट डेलिगेट्स थुप्रिएका थिए काठमाडौंमा । सम्मेलन सकियो, एनआरएनए अभियन्ताहरु समूह-समूह बनाएर तितरबितर भए । कतिपय आफ्नो व्यापार व्यवसायतिर त कतिपय पारिवारिक जमघटमा । बेलायतबाट गएका मोहन गुरुङसहितका केही प्रतिनिधिहरु जाने ठाउं खासै थिएन । यही बेला मोहनले सोचे, कम्तीमा हाम्रो पनि केही व्यवसाय भइदिएको भए त्यसैको निरिक्षणमा जान हुन्थ्यो ।

यूके फर्किएपछि डिसेम्बरतिर एउटा कोअपरेटिभ खोल्नेबारे छलफल शुरु भयो गुरुङकै नेतृत्वमा । जनवरीदेखि महिनामा एकसय पाउण्ड उठाउन थालियो । ६ महिनामा १०१ जना शेयर होल्डर पुगे। सामूहिक लगानी परियोजनाको उद्देश्यसहित सन् २०१४ मा स्थापना भएको एनसीआइ यूकेमा १८१ जनासम्म शेयरहोल्ड पुगे। अहिले १४१ जना सेयरहोल्डर छन् एनसीआइमा ।

एकजना सदस्यले १५ हजार पाउण्डसम्म हाल्न पाउने भन्ने प्रस्ताव बमोजिम तीन लाख हाराहारीमा कम्पनीले घर किन्यो जुन पहिलो प्रोजेक्ट थियो । केही समयपछि ३५ हजार पाउण्ड नाफा दिएर एक सदस्यले नै घर किने । अर्को वर्ष अल्डरसटमा नयां घर किने उनीहरुले, त्यो पनि राम्रो नाफा पाएर बेचे, सन् २०१६ मा ।

एनसीआइको नाफा र सावा एकातिर हुन्थ्यो, व्यक्तिगत रुपमा गरेको लगानी बांड्ने निर्णय भएको थियो । एनसीआइभित्र रहेको इन्भेष्टमेन्ट ग्रुपको अगुवाइमा घर किनेर बेच्दा राम्रो नाफा भएपछि कम्पनीले योर्कसायरमा फ्ल्याट किन्यो, जिलिङह्याममा अर्को थप्यो । योर्कसायर र जिलिङहामको प्रोपर्टी अझै भाडामा गइरहेको छ । ४ वटा घर किनेर सबै नाफामा बेचिएको अध्यक्ष गुरुङ बताउंछन् ।

यहांसम्मको लगानी बेलायतभित्रै सिमित थियो । तर, बेलायतका नेपाली व्यवसायीहरु आफ्नो मातृभूमिमा केही सामूहिक लगानी गर्न चाहन्थे । फलस्वरुप सन् २०१७ मा गोर्खा अर्गानिक फार्म काभ्रेमा ६० लाख रुपैयां लगानी गरे । यो नै पहिलो लगानी थियो नेपालका लागि । यहां ३२ रोपनी जग्गामा सानो गेष्ट हाउस पनि छ । बोटविरुबा उत्पादन भइरहेको छ । जग्गाको भाउ बढेर ७५ लाख रुपैयां भइसकेको छ अहिले ।

एकपछि अर्को व्यवसायमा सफलता मिल्दै गएपछि एनसीआइ ग्रुप थप हौसियो । ग्रुपले सन् २०१८ मा तनहुंको शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित सोलार फार्ममा एक करोड ५० लाख रुपैयां हाल्यो ।

सोलार फार्ममा एनसिआइमार्फत् बेलायतसंगै क्यानडा, अमेरिका, बेल्जियम, जापान र फिनल्याण्डका नेपालीले लगानी गरेका छन् ।

एनसीआइले बेग्लै, आफ्ना इच्छुक सदस्यहरुले पनि बेग्लै पैसा हाल्न पाइन्थ्यो । एनसीआईमार्फत सदस्यहरुको व्यक्तिगत झण्डै ५ करोड बेग्लै लगानी छ यसमा । यस फार्मको कुल लगानी ४५ करोड रुपैयां छ ।

सन् २०१९ मा कोरोना महामारी बाबजुद २०२१ सेप्टेम्बर १४ तारिख त्यहांबाट उत्पादित ५ मेघावाट बिजुली नेशनल ग्रीडमा जोडियो । तत्कालिन उर्जामन्त्री पम्फा भुषालले उद्घाटन गरेको उक्त सोलार फार्म नै गैर आवासीय नेपालीले नेपालमा लगानी गरेको पहिलो प्रोजेक्ट थियो । विद्युत प्राधिकरणसंग ७ रुपैयां ३० पैसामा खरिद विक्री सम्झौता गरिएको उक्त प्रोजेक्ट नाफामा रहेको बताउंछन् अध्यक्ष गुरुङ ।

गत जनवरी १३ तारिख, २०२४ मा पोखराको होटल मालामा यसको वार्षिक साधारणसभा समेत भइसकेको छ । सोलार प्रोजेक्ट आइपीओमा जाने तयारीमा रहेको अध्यक्ष गुरुङले बताए । आउंदो मार्च ३ मा एनसीआइ ग्रुपले लन्डन ब्ल्याकहिथस्थित एभरेष्ट रेष्टुरेन्टमा आफ्नो एजीएम गर्दैछ । प्रत्येक वर्ष बांडे जस्तै यसपटक पनि एजीएममा लाभांश बांड्ने योजना रहेको मोहनले सुनाए ।


एनसीआइ यूकेले दोश्रो सोलार फार्ममा समेत लगानी गर्दैछ । इष्ट सोलार प्रा. लि. ले झापा गौरादह-९ बैगुनधारामा ५ मेघावाटकै प्रोजेक्ट गर्दैछ र त्यसमा एक करोड ७० लाख रुपैयां लगानी गर्ने निष्कर्षमा पुगेको हो एनसीआइ यूके । इष्ट सोलारका चिअरमेन मोहन गुरुङ नै हुन् । आउंदो असारभित्र नेशनल ग्रीडमा जोड्ने लक्ष्यका साथ दोश्रो सोलार फार्मको काम भइरहेको छ ।

अर्गानिक फार्मका अध्यक्ष मेजर रि. लक्ष्मीप्रसाद गुरुङले प्रस्ताव ल्याएपछि एजीएममा सबै सदस्यहरुले सोलार फार्ममा लगानी गर्न सहमति जनाएको स्मरण गर्छन् अध्यक्ष गुरुङ ।

आफ्नो मातृभूमिको समृद्धिका लागि नै सामूहिक लगानीको अवधारणा अगाडि बढेको उनले सुनाए । ‘इन्जिनियरिङ अध्ययनरत विद्यार्थी आएर सोलार फार्मको प्रोजेक्ट अध्ययन गर्दा खुशी र गर्व लाग्छ’, एक सप्ताहन्त भेटिएका व्यवसायी तथा समाजसेवी गुरुङले नेपालीलिंकसंग अनुभव सांटे ।

भविष्यमा सोलार फार्म आइपिओमा गएपछि क्यापिटल मार्केटमा बेच्ने सोच बनाइएको उनले बताए । धेरै गैर आवासीय नेपालीको गुनासो सुनिन्छ- ‘नेपालमा लगानीको वातावरण छैन् । लगानी मैत्री सरकारी नीति छैन् ।’ उनी के भन्छन् ? ‘पहिलोपटक सोलार फार्म गर्दा सरकारको केही नीति थिएन जसले केही समय लाग्यो । प्रोजेक्ट गर्न समय लागेपनि झन्झट भने भएन । मुनाफा बेलायत ल्याउन पनि सजिलो होला भन्ने विश्वास हामीलाई छ ।’ ब्यूरोक्रेसी पनि अहिले सहयोगी बन्दै गएको अनुभव अध्यक्ष गुरुङले सुनाए ।

वैदेशिक लगानी लान पनि सहजीकरण गरिदिए आफूहरु झन् उत्साहित हुने उनको भनाइ छ । सोलार फार्मको लाभांश एफडिआइबाट ल्याउंदा कत्तिको सहज हुन्छ आफूहरु प्रतिक्षामा रहेको उनले बताए ।

बेलायतमा होटल क्षेत्रमा पनि लगानी गर्ने सोच एनसीआइको छ । सोका लागि प्रोपर्टी खोज्ने काम भइरहेको अध्यक्ष गुरुङले जनाए ।

को हुन् मोहन गुरुङ ?

एनसीआइ यूके हांक्ने गुरुङ बेलायतका सफल व्यवसायी तथा वरिष्ठ समाजसेवी हुन् । सन् २००१ देखि अकला रिक्रुटमेन्ट लि. सञ्चालन गरेका उनले हजारौं नेपालीलाई जागिर दिएका छन् । ग्रीनवीच रियल स्टेटमार्फत प्रोपर्टी विजनेशमा उनी सफलता चुमिरहेका छन् भने सुनचांदीको व्यवसाय पनि चालु छ । विगत ६ वर्षदेखि साउथ इष्ट लन्डन, प्लमस्टिडमा चलिरहेको छ श्री अकला ज्वेलर्स प्रा.लि. ।

शुक्लागण्डकी ७ तनहुं स्थायी घर भएका गुरुङ २५ वर्षअघि बेलायत आएका थिए । त्यसयता लन्डनमा बस्न थालेका गुरुङ बेलायतमा नेपालीहरुबाट सञ्चालित पहिलो टिभी च्यानल नेपाली टिभीका संस्थापक हुन् ।

गुरुङ एनआरएनए यूके, साउथ इष्ट तमुधिं, आरजीएनएस, तमुधिं यूके लगायतमा सल्लाहकार छन् । उनी डायमण्ड बुद्धिष्ट सेन्टर र पशुपतिनाथ मन्दिरमा सल्लाहकार एवं ट्रष्टी पनि छन् । उनले हजारौं पाउण्ड च्यारिटी पनि गरेका छन् ।

सधैं हंसिलो देखिने उनी अप्ठेरो परेका नेपालीलाई सहयोग गर्नु आफ्नो प्रमुख दायित्व ठान्छन्।

हेरौं भिडियो:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू