शुक्रबार, साउन ४, २०८१
19:21 | ००:०६

विश्व अर्थतन्त्रका लागि फलिफाप रहेन वर्ष २०२३

रासस जनवरी १, २०२४

तस्विर सिन्हवा

काठमाडौं- वर्ष २०२३ विश्व अर्थतन्त्रका लागि फलिफाप रहेन । युद्ध, भूराजनीतिक तनाव, व्यापारिक सम्बन्धको उतार–चढावजस्ता कारणले विभिन्न देशका अर्थतन्त्र प्रत्यक्ष प्रभावित भए । परोक्ष प्रभाव भने विश्वभर देखियो । आपूर्ति शृङ्खला खलबलिँदा खाद्य सङ्कट, ऊर्जा तथा पेट्रोलियम सङ्कटलगायतको सामना मानव जगत्ले गर्नुपर्यो । पेट्रोलियम पदार्थको मूल्यवृद्धि र आपूर्ति प्रणालीमा देखिएको व्यवधानलगायतका कारण मुद्रास्फीति उच्च रहन गएको पृष्ठभूमिमा हुन गएको ब्याजदरको बढोत्तरीले विश्व अर्थतन्त्रको वृद्धिदर सुस्त देखियो । कोभिड–१९ महामारीका कारण सिर्जित समस्याको निराकरण हुन नपाउँदै रूस–युक्रेन युद्ध र पछिल्लो समय इजराइल–हमास तनावका बाछिटा विश्व अर्थतन्त्रमा देखिए ।

अन्तर्राष्ट्रिय मुद्राकोषले विश्व अर्थतन्त्रको वृद्धिदर सन् २०२३ मा न्यून रहने र सन् २०२४ मा सामान्य सुधार आउने प्रक्षेपण गरेको छ । मुद्राकोषको गत अप्रिलको प्रक्षेपणअनुसार विश्व अर्थतन्त्र सन् २०२३ मा दुई दशमलव आठ प्रतिशत र सन् २०२४ मा तीन प्रतिशतले विस्तार हुने देखिएको छ । त्यस्तै, उच्च मुद्रास्फीतिको स्थिति विश्व अर्थतन्त्रका लागि यस वर्षको अर्को ठूलो समस्याका रूपमा रह्यो ।

सन् २०२३ मा विश्व मुद्रास्फीति सात प्रतिशत र सन् २०२४ मा चार दशमलव नौ प्रतिशत रहने प्रक्षेपण मुद्राकोषले गरेको छ । अधिकांश देशका केन्द्रीय बैङ्कहरूले सन् २०२२ को सुरुदेखि अवलम्बन गर्दै आएको कसिलो मौद्रिक नीतिको कार्यदिशालाई सन् २०२३ मा पनि कायमै राखे । विकसित मुलुकहरूले अवलम्बन गरेको कसिलो मौद्रिक नीतिको प्रभाव वित्तीय बजारमा पर्न नदिन उदीयमान मुलुकहरूले पनि कसिलो मौद्रिक नीति अपनाए । चर्को ब्याजदर र कर्जा विस्तारमा सङ्कुचनको अवस्था अधिकांश मुलुकका बैङ्क वित्तीय संस्थामा देखियो । चर्को मूल्यवृद्धि र उपभोक्ता खपतमा ह्रासको स्थिति उपभोक्ता बजारमा देखियो ।

अमेरिकी बैङ्क धराशायी
आर्थिक र वित्तीयरूपमा अमेरिकाले यस वर्ष सन् २००८ को आर्थिक मन्दीयताको सबैभन्दा खराब समयको सामना गर्नुपर्‍यो । गत मार्चमा अमेरिकाको सिलिकन भ्याली बैङ्क डुब्यो । वित्तीयरूपमा समस्याग्रस्त भएर निक्षेपकर्ताको बचतसमेत फिर्ता दिन नसक्ने अवस्थामा पुगेपछि उक्त बैङ्कलाई गत मार्च १० मा क्यालिफोर्निया डिपार्टमेन्ट अफ फाइनान्सियल प्रोटेक्सन एन्ड इनोभेसल (डिएफपिआई) ले बन्द भएको घोषणा गर्‍यो ।

त्यस्तै, अमेरिकाकै सिग्नेचर बैङ्क मार्च १२ र रिपब्लिक बैङ्क मे १ मा बन्द भएको घोषणा गरियो । ती बैङ्कबाट ठूलो रकम लगानी भएका प्रविधि (टेक) कम्पनी डुब्नु र क्रिप्टोलगायत अभौतिक मुद्रा (भर्चुअल करेन्सी) को कारोबारमा ठूलो गिरावट आउनुलाईलाई अमेरिकी बैंकिङ प्रणाली धराशायी हुनुको मुख्य कारण मानिएको छ । त्यस्तै, बैङ्कका निक्षेपकर्ताको बैङ्कप्रति विश्वास नहुनु र आफ्नो बचत एकैपटक फिर्ता माग्नु ती बैङ्क डुब्नुको कारण बन्यो ।

आर्टिफिसियल इन्टेलिजेन्सको दबदबा
कृत्रिम बौद्धिकता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को प्रार्दुभाव, प्रयोग र त्यसको परिणाममाथिको विमर्श विश्वभर नै यस वर्ष ‘हटकेक’का रूपमा रह्यो । सन् २०२२ को अन्त्यतिर च्याटजिपिटी आएपछि त्यसले विश्वभर नै एक किसिमको तरङ्ग सिर्जना गर्यो । ओपनएआईको च्याट जिपिटी, गुगलको च्याटबट, क्यारेक्टर डट एआई, क्विलवोट, मिडजर्नी, हगिङ फेस, बार्ड, नोभेल एआई, क्यापकटलगायतका एआई टुलहरू प्रयोगमा छन् । विद्युतीय उपकरण अर्थात् मेसिनले नै मानिस जसरी सोच्नसक्ने र निर्णय लिनसक्ने क्षमतासहित बनाइएको एआईको प्रयोगका कारण विभिन्न पेशामा पार्नसक्ने असरको पक्ष एकातिर छ भने अर्कोतिर यसको दुरुपयोगको सम्भावनाबारे पनि विश्वभर अझै बहस चलिरहेको छ । एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सलाई ‘कोलिन्स वर्ड अफ दि इयर’को उपमा दिइएको छ ।

सुनको मूल्य हालसम्मकै उच्च
यस वर्ष विश्व बजारमा सुनको मूल्य हालसम्मकै उच्च पुग्यो । यही डिसेम्बर ४ मा विश्व बजारमा सुनको मूल्य प्रतिऔस अमेरिकी डलर दुई हजार एक सय ५२ दशमलव तीन डलर पुगेको थियो । भूराजनीतिक अस्थिरता र अमेरिकी डलरको भाउ घट्दै जाँदा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो । त्यस्तै, केन्द्रीय बैङ्कहरूले आफ्नो भुक्तानी पर्याप्तता (रिजर्भ) बलियो पार्न बैङ्क नोटको सट्टा सुनलाई जम्मा गर्न थालेका कारण पनि मूल्य बढेको ठानिएको छ ।

सङ्कटग्रस्त श्रमबजार
मुख्यगरी प्रविधि कम्पनी र औद्योगिक क्षेत्रमा देखिएको समस्याका कारण कामदार कटौती गर्नुपरेको विषयले यस वर्ष विश्व श्रमबजारलाई तरङ्गित बनायो । गत जनवरीमा अमेजनले १८ हजार कर्मचारी कटौती गर्यो भने माइक्रोसफ्टले मार्चमा १० हजार कर्मचारी र त्यही महिना गुगलले १२ हजार कर्मचारी कटौती गर्ने निर्णय गरे । श्रमिक अधिकारका लागि अमेजन, वालमार्ट, फेडेक्स, टार्गेट, इन्स्टाकार्ट, अमेजनलगायत कम्पनीका कामदारले कोभिड महामारीपछि हड्ताल गर्नुपरेको समाचार विश्वभरका समाचार माध्याममा छाए ।

त्यस्तै, ‘राइटर्स गिल्ड अफ अमेरिका’ त्यहाँको मोसन पिक्चर्स र टेलिभिजन निर्माताको गठबन्धन विरुद्ध लामो समय आन्दोलन गरे । यो आन्दोलनको स्थिति सिर्जना हुनुमा आर्टिफिसियल इन्टेलिजेन्सका कारण ‘कन्टेन्ट राइटर’ को जागिर खोसिएको विषयलाई पनि जोडेर हेरिएको छ ।

असमानताको वर्ष
विश्व बैङ्कले आफ्नो समीक्षामा सन् २०२३ लाई असमानताको वर्ष भनेको छ । जलवायु परिवर्तन, युद्ध, खाद्य असुरक्षालगायतका कारण कोभिड महामारीको समयमा भन्दा पनि सन् २०२३ मा खराब स्थितिको सामना गर्नुपरेको उल्लेख गरेको छ । विश्व बैङ्कका अनुसार अहिले विश्वभर करिब ७० करोड मानिसले चरम गरिबीको सामना गरिरहेका छन् । त्यस्तै, करिब साढे १८ करोड मानिस अर्थात् विश्वको कुल जनसङ्ख्याको दुई दशमलव तीन प्रतिशत शरणार्थी र आप्रवासीका रूपमा बसिरहेका छन् । धनी र गरिबबीचको खाडल यस वर्ष थप गहिरिएको विश्व बैङ्कको ठहर छ ।

युद्धले अस्तव्यस्त विश्व व्यापार
विश्व व्यापार सङ्गठन (डब्लुटिओ)ले सार्वजनिक गरेको ‘वर्ल्ड ट्रेड स्टाटिस्टिकल रिभ्यु २०२३’ प्रतिवेदनअनुसार रुस–युक्रेन युद्ध, बढ्दो मुद्रास्फीति, कसिला मौद्रिक नीति, अधिकांश मुलुकमा देखिएको सार्वजनिक ऋणको चापलगायतका कारण सन् २०२२ जस्तै २०२३ मा पनि विश्व व्यापारले अपेक्षित गति लिन सकेन र सहज अवस्था बन्न सकेन । सन् २०२२ फेब्रुअरीदेखि चलिरहेको रुस–युक्रेन तनावका बाछिटा विश्व अर्थतन्त्रमा गम्भीररूपमा देखिइरहेका बेला गत अक्टोबर ७ मा इजराइल–हमास युद्ध शुरु भएपछि विश्व व्यापार थप अस्तव्यस्त भएको छ भने आपूर्ति श्रृङ्खला टुटेका छन् । यी दुई युद्धका कारण पेट्रोलियम र खाद्य पदार्थको बजार सबैभन्दा बढी प्रभावित हुन पुग्यो भने सहज आपूर्ति हुन नसक्दा मूल्यवृद्धि बढ्यो ।

विश्वको सबैभन्दा ठूलो चामल निर्यातक देश भारतले गत जुलाईमा निर्यात प्रतिबन्धको घोषणा गरयो । भारतले यस्तो निर्णय लिनुको मुख्य कारण भूराजनीतिक अस्थिरताका कारण बढ्दो खाद्य सङ्कटलाई मानिएको छ । यमनको हुथी समूहले यही डिसेम्बर पहिलो साता ‘रेड सी’को समुद्री मार्ग हुँदै गइरहेका पेट्रोलियम र कार्गो पानीजहाजमा आक्रमण गरे । यो समुद्री रुटबाट हुने व्यापारले विश्व व्यापारको करिब १२ प्रतिशत हिस्सा ओगट्छ । उक्त रुटमा हुथी समूहबाट भएको आक्रमणका कारण एसिया र युरोपको व्यापारमा नराम्रो असर परेको छ ।

श्रम बजारमा महिलाको योगदानबारेको अध्ययनलाई नोबेल पुरस्कार
श्रम बजारमा महिलाको योगदानबारे गरिएको अध्ययनलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको छ । हार्वर्ड विश्वविद्यालयका प्राध्यापक ७७ वर्षीया क्लाउडिया गोल्डिनलाई यो पुरस्कार दिइएको हो । श्रम बजार र पारिश्रमिकमा हुने लैङ्गिक विभेद विषय नयाँ होइन । तर क्लाउडियाले शताब्दीऔँदेखि महिलाको कमाइ र श्रम बजारको सहभागिताबारे बृहत् अध्ययन गर्नुभएको थियो । यो अध्ययनको केन्द्रमा महिलाको विवाह र घरपरिवारप्रतिको जिम्मेवारीलाई राखेर विश्लेषण गरिएको र महिलाले गर्ने कमाइलाई बहुआयामिक पक्षबाट विश्लेषण गरिएको जनाइएको छ ।

ट्वीटरको रिब्राण्डिङ
अर्बपति इलन मस्कले २०२२ अक्टोबरमा सामाजिक सञ्जाल ट्वीटरलाई ४४ अर्ब अमेरिकी डलरमा खरिद गरेपछि यो विषयले विश्वभर चर्चा छायो । ट्वीटरलाई थप परिस्कृत र परिमार्जन गर्दै जाने बताउने गरेका मस्कले २०२३ जुलाई २३ देखि ट्वीटरलाई एक्सका रूपमा ‘रिब्रान्ड’ गर्नुभयो । एक ‘सुपर एप’का रूपमा एक्सलाई स्थापित गर्ने लक्ष्यसहित यस्तो निर्णय लिइएको मस्कको भनाइ थियो । त्यसो त ट्वीटर खरिदपछि पुराना कर्मचारीलाई मस्कले बर्खास्त गरेको र विभिन्न कानूनी उल्झनमा पर्नुपरेको विषय पनि चर्चामा रह्यो ।

धेरै मुलुकमा टिकटक प्रतिबन्ध
सामाजिक सद्भाव र वातावरणमा खलल पुर्‍याएको ठहर गर्दै गत कात्तिक २७ गते नेपाल सरकारले मामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गर्‍यो । नेपालले मात्र नभई यस वर्ष अरु थुप्रै देशले चिनियाँ टेक–कम्पनी बाइटडान्सअन्तर्गतको भिडियो सेयरिङ प्लेटफर्म टिकटकलाई बन्देज गर्ने घोषणा गरे । व्यक्तिगत गोपनीयता र तथ्याङ्कको गोपनीयतामाथि प्रश्न उठाउँदै सन् २०२३ को फेब्रुअरीमा युरोपियन कमिसन, युरोपियन पार्लियामेन्ट र युरोपियन युनियन काउन्सिलले सरकारी कर्मचारीको मोबाइल डिभाइसमा टिकटक बन्द गर्ने निर्णय गर्‍यो ।

त्यस्तै निर्णय अमेरिका र क्यानडाले पनि गरे । ती देशका सरकारी कर्मचारीलाई ३० दिनभित्र आफ्ना डिभाइसबाट टिकटक हटाउन भनिएको थियो । संयुक्त अधिराज्य, न्युजिल्याण्ड, डेनमार्कलगायत देशले पनि टिकटकमाथि प्रतिबन्ध लगाए ।

विश्व तापमान हालसम्मकै उच्च
नासाले २०२३ सेप्टेम्बर १४ मा पृथ्वीको तापमान हालसम्मकै उच्च विन्दुमा पुगेको जनायो । त्यस्तै, विश्व मौसम विज्ञान सङ्गठनले कोप २८ सम्मेलनका क्रममा सन् २०२३ लाई मानव इतिहासकै सबैभन्दा गर्मी भएको वर्षका रूपमा बतायो । अत्याधिक गर्मीका कारण हिमालय र अन्टार्टिकाको हिँउ तीव्ररूपमा पग्लिरहेको तथा समुद्रको सतह बढेको र पानी तातो हुँदै गएकोबारे सङ्गठनले विश्व समुदायको ध्यानाकर्षण गरायो ।

उदीयमान भारत
गत मे महिनामा भारत चीनलाई उछिनेर विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक बन्यो । त्यस्तै गत अगस्ट २३ मा भारतले चन्द्रयान–३ पठाएर चन्द्रमा पुग्ने चौथो मुलुक र चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्षयान अवतरण गराउने पहिलो मुलुक बन्यो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू