मंगलबार, साउन ८, २०८१
01:10 | ०५:५५

महावीर पुनः जसको जीवनमा आए ८ मोड

नरेश खपाङ्गीमगर डिसेम्बर २८, २०२३

कुनै समय नयाँ नेपाली पुस्तक भनेपछि हुरुक्कै हुने मेरो आशक्ति आजकल घट्दो छ । यसका पछाडि दुई कारण छन् । पहिलो, पछिल्ला पुस्तकहरुले पूरा मेरो तृष्णा पूरा गर्न नसक्नु । दोस्रो, व्यक्तिगत कारणले नेपाली पुस्तक पढ्ने समय खुम्चिनु । त्यसैले केही वर्षयता नेपालबाट आउने कुनै साथीभाइ वा आफन्तलाई ‘किताब ल्याइदिनु’ भन्न छोडेको छु ।

यसबीचमा आख्यान, गैरआख्यानका थुप्रै पुस्तकहरु निस्के । सार्वजनिक, पेशागत जीवनमा विशिष्ट र असाधारण अनुभव आर्जन गरेकाहरुको आत्मवृत्तान्तहरु पनि छापिए तर यी सबैबाट आफूलाई अलग राख्दै आएको थिएँ ।

तर, केही समयअघि महावीर पुनले नाच्दै ‘ल किताब आयो किताब’ भन्दै आफ्नो आत्मवृत्तान्त बेचेको सामाजिक सञ्जालमा देखेपछि के लेखेछन् त महावीरले भन्ने हलुका कौतुहल जाग्यो ।

महावीर पुनकै फेसबुक पोष्टमा बेलायतमा पनि सो पुस्तक उपलब्ध रहेको जानकारी पाएपछि सम्पर्क व्यक्ति गैरआवासीय नेपाली संघ यूकेका पूर्व अध्यक्ष योगकुमार फगामीसित पुस्तक मागेँ । व्यक्तिगत जीवनका ब्यस्तताबीच उहाँले रत्तिभर ढिलाइ नगरी पुस्तक घरमै पठाइदिनुभयो ।

हुन त महावीर पुन न मेरा लागि अपरिचित पात्र हुन् न त दोहोरो चिनजानका नै । नभेटेको भनुँ भने भेटेको, नचिनेको भनुँ भने चिनेको तर त्यो उही एकतर्फी चिनाजान ।

अहिले उनको पुस्तक पढ्दा सन् २००७ को अगष्ट महिनाको कुनै दिन रहेछ । म गोरखापत्र दैनिकको समाचार कक्षमा उताउति गर्दै थिएँ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीको समाचारमा महावीर पुनलाई रामोन म्यागासेसे पुरस्कार दिइने समाचार पाइयो । त्यतिञ्जेलसम्म मैले महावीर पुन को हुन्, उनको योगदान के हो थाहा पाएको थिइनँ । म मगर समुदायमा सक्रिय भएकाले उनको सम्पर्क नम्बर मैले एक-दुई जनालाई सोध्नासाथ पाइहालेँ । उनको प्रिपेड मोवाइल नम्बर थियो । मैले समाचारका लागि फोन गरेँ । त्यतिबेला उनी चितवनमा रहेछन् । समाचारका लागि आवश्यक कुराकानी भयो र भोलिपल्ट गोरखापत्रमा सो समाचार प्रकाशित भयो ।

त्यतिबेला म बिहान बिहान भर्खरै खुलेको सगरमाथा टेलिभिजनमा डेस्कमा काम गर्थेँ । एकदिन सहकर्मीहरु कुराकानी गर्दागर्दै महावीर पुनसित अन्तर्वार्ता गर्न पाए हुन्थ्यो भन्ने चर्चा चल्यो । मैले ‘हो त’ भनेर महावीर पुनलाई फोन गर्दा उनी सिंहदरबारमा रहेछन् । उनी दक्षिणी गेटबाट निस्कने र मैले मोटरसाइकलमा टेलिभिजनको तत्कालिन कार्यालय अनामनगर लैजाने सल्लाह भयो । पहिलोपटक उनलाई भेट्दा म चकित भएको थिएँ । एसियाको नोबेल पुरस्कार भनेर पढिएको रामोन म्यागासेसे पुरस्कार पाएका व्यक्ति टाइसुटमा होलान् भनेको त अति सामान्य टीसर्ट, ट्रेकिङ जाँदा लगाउने जस्तो सुरुवाल र चप्पलमा थिए ।

यसअघि करिब तीन वर्ष पत्रकारितामा बिताए पनि उनको पूरा कदको तस्वीर, टेलिभिजनमा अन्तर्वार्ता वा प्रत्यक्ष भेट भएको थिएन । सामान्य भलाकुसारीपछि उनलाई टेलिभिजन पुर्याएँ । कतिपय साथीहरुले ‘महावीर पुन भनेर कसलाई उठाएर ल्यायो’ भन्ने आशयले पनि हेरे । मेरो पनि मनोदशा त्यस्तै नै थियो । तर यथार्थ उनी महावीर नै थिए र सहकर्मी रामजी दाहालले उनीसित अन्तर्वार्ता गरेका थिए । महावीर पुनसितको मेरो प्रत्यक्ष चिनजान र भेट यति नै हो । बाँकी भर्चुअल मात्र ।

फर्कौँ पुस्तकतिरै । ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ नाम जुराइएको पुस्तक महावीर पुनको जीवनमा आएका आठ वटा मोडहरुमा केन्द्रीत छ । उनको बाल्यावस्थादेखि वर्तमानसम्मको जीवनयात्रालाई विभिन्न १७ वटा उपशीर्षकमा सँगालेर पुस्तक बुनिएको छ ।

पुस्तक किन प्रकाशन गर्नुपरयो भन्ने छोटो प्रष्टीकरणबाट पुस्तक शुरु हुन्छ । क्रमशः उनको जन्मस्थल हालको म्याग्दी जिल्लाको नाङ्गी गाउँ र पारिवारिक अवस्थाका बारेमा पुस्तक अघि बढ्छ । विक्रम सम्वत २०११ सालमा जन्मेका पुनको प्रारम्भिक शिक्षादीक्षा गाउँमै शुरु हुन्छ । कक्षा ७ सम्म गाउँमै उनले पढ्ने अवसर पाउँछन् । त्यसमाथिको कक्षा पढ्न गाउँमा विद्यालय नहुँदा उनको पढाइ अवरुद्ध पो हुने हो कि भन्ने अन्यौल छाउँछ । तर पूर्व गोरखा सैनिकसमेत रहेका उनका पिताले मल्लाज गाउँमा बसेर पढ्ने व्यवस्था गरिदिन्छन् । जसलाई उनले जीवनको पहिलो मोडको संज्ञा दिएका छन् । मल्लाजमा उनले कक्षा ८ पास गरे । त्यसपछि उनको उच्चशिक्षाकै लागि चितवनमा पितासहितको बसाइँसराइलाई उनले जीवनको दोस्रो मोड मानेका छन् । जहाँ उनी कक्षा ९ मा भर्ना भए र एसएलसीसम्मको शिक्षा पूरा गरे ।

आइएस्सी अध्ययनका लागि काठमाडौँ प्रस्थान र काठमाडौँको शहरिया जीवनमा अभ्यस्त हुन गरिएको प्रयासलाई उनले जीवनको तेस्रो मोड भनेका छन् । काठमाडौँको अति प्रतिष्ठित अस्कल कलेजमा आइएस्सी पढ्ने सौभाग्य पाएका महावीरले अध्ययनपश्चात चितवन फर्केर विभिन्न विद्यालयमा १३ वर्ष शिक्षकका रुपमा काम गरे । त्यसलाई उनले जीवनको चौथो मोड ठानेका छन् । शिक्षकमा बहाल छँदै त्यतिबेलाका चितवनका प्रमुख जिल्ला अधिकारी (सिडियो) रामकृष्ण पन्तसित वादविवाद हुन्छ र पन्तले पदको दुरुपयोग गर्दै उनलाई थुनामा राखे । बिनाकसुर एक व्यक्तिको सनकबाट थुनिनु पर्दा उनले आत्मसम्मानमा ठूलो चोट पुगेको ठाने र शिक्षक पेशाबाट राजिनामा दिए । त्यसपछि महिनौँसम्म काठमाडौँमा बिना जागिर भौँतारिँदै अमेरिका अध्ययनका लागि खोजी गरे । अन्तत उनले नेब्रास्कामा छात्रवृत्ति पाउन सफल भए । त्यसलाई उनले पाँचौँ मोड मानेका छन् ।

अहिले पनि धेरै नेपाली युवाको सपना अमेरिकामा पढ्ने र त्यतै बस्ने छ । तर आजभन्दा ३० वर्षअघि अमेरिकामा दीक्षित हुने अवसर पाएका उनी वहुसंख्यक नेपालीको अपेक्षाविपरीत नेपाल फर्के । नेपाल आएर उनले काठमाडौँ वा शहर केन्द्रीत जागिरमा आफूलाई सीमित गराएनन् । बरु आफ्नो जन्मथलो नाङ्गीमा गएर स्वयंसेवी शिक्षक बने । त्यो पनि एक दुई वर्ष होइन दशकौँसम्म । त्यसलाई उनले जीवनको छैटौँ मोड ठानेका छन् ।

म्याग्दीमा शिक्षण पेशामा मात्र सीमित नभएर गाउँलाई इन्टरनेटको सञ्जालमार्फत विश्वसँग जोड्न गरेको प्रयासलाई उनले सातौँ मोड भनेका छन् । माओवादी द्वन्द्वको समयमा अति जोखिम मोलेर गरिएको सो प्रयास सम्झँदा अहिले उनी आफैँ पनि झसङ्ग हुन्छन् ।

सूचना प्रविधिको क्षेत्रमा आएको नवीतम उपलब्धिहरुका कारण नेपालमा पनि इन्टरनेटको सहज र सुलभ रुपमा पाउन थालेपछि उनले आफ्नो जीवन ‘इन्नोभेसन’ मा मोडे । सन् २०१२ राष्ट्रिय आविष्कार केन्द्र खोलेर सरकार र सर्वसाधारणलाई नवप्रवर्तनका बारेमा बुझाउने, दबाब दिने मात्र होइन व्यवहारोपयोगी सामग्रीहरु निर्माणमा पनि उनी सक्रिय छन् । जुन उनको जीवनको आठौँ मोड हो ।

अत्यन्तै सादा जीवन बिताउने र प्रष्ट विचार राख्ने तर आफ्नो व्यक्तिगत जीवनका बारेमा महावीरले धेरै बताएका थिएनन् । आफ्नो जीवन व्यक्तिगत सुख, सयल, प्रगतिमा सीमित नराखी सर्वसाधारणको हितमा खर्चेका महावीरका बारेमा जानकारी पाउन खोज्नेहरुलाई यस पुस्तकले उनले गरेको संघर्ष, उनले हासिल गरेका उपलब्धिहरुका बारेमा विस्तारमा जानकारी दिन्छ । सरसर्ती हेर्दा र राष्ट्रिय-अन्तर्राष्ट्रिय रुपमा उनले पाएको सम्मान हेर्दा उनी एक सफल व्यक्ति देखिन्छन् तर पुस्तक पढ्दा उनले गरेका दर्जनौँ प्रयास, स्थानीय र राष्ट्रिय रुपमा पाएको हण्डरका बारेमा बुझ्न सकिन्छ ।

पुस्तकमा उनीमाथि लाग्ने गरेको विभिन्न आरोपहरुका बारेमा पनि उनले स्पष्टीकरण दिएका छन् । जस्तै आफ्नो पहिरनलाई धेरैले सादा जीवन उच्च विचार भनेको, आविष्कार केन्द्रको नामअनुसार काम नभएको आदि । साथै उनले राष्ट्रको सबल अर्थतन्त्रको विकास, अन्तर्राष्ट्रिय सहयोग, पर्यटन उद्योगको दीगोपनका बारेमा उल्लेख्य दृष्टिकोण पनि प्रस्तुत गरेका छन् ।

पुस्तकको सबल पक्ष भनेको पुस्तकको संरचना र सम्पादन हो । सरल शैलीमा लेखिएको पुस्तक शुरु गरेपछि छोड्न मन लाग्दैन । सलल बगेको खोला जस्तै छ पुस्तक । पुस्तकमा महावीरको परिवारको बारेमा थोरै मात्र उल्लेख छ । हरेक सफल पुरुष वा महिलाको पछाडी सहयात्रीको हात हुन्छ भनिन्छ । उनले गरेका यावत प्रयासहरुमा परिवारको भूमिका र प्रतिक्रिया के हुने गर्दथ्यो ? भन्ने बारेमा पुस्तक अनुत्तरित नै छ ।

३०६ पृष्ठको सो पुस्तकको प्रकाशन राष्ट्रिय आविष्कार केन्द्रले गरेको हो । पुस्तकको बिक्रीबाट आएको रकम उनले कृषि औजार केन्द्र वीरगञ्जका लागि खर्चने बताएका छन् । पुस्तकको मूल्य नेपालमा ७५० रुपियाँ राखिएको छ ।

बेलायतमा यो पुस्तक योगकुमार फगामीलाई 077 8719 3928 मा सम्पर्क गरी प्राप्त गर्न सकिन्छ ।

(लेखक नरेश खपाङ्गीमगर नेपाल पत्रकार महासंघ बेलायतका पूर्व अध्यक्ष तथा वीनेपाली डटकमका सम्पादक हुन्)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू