शनिबार, साउन १२, २०८१
06:24 | ११:०९

लन्डनमा आयोजित पर्यटन कुम्भ मेलामा नेपाल अनुपस्थित

नेपाली लिङ्क नोभेम्बर ७, २०२३

लन्डन । पर्यटन क्षेत्रको कुम्भमेला पनि भनिने वर्ल्ड  ट्राभल मार्केट (डब्लुटिएम) मा नेपालले यसपटक सहभागिता जनाएन । 

नोभेम्बर ६ देखि ८ सम्म लन्डनको एक्सेल एक्जिबिशन सेन्टरमा जारी उक्त मार्टमा प्रत्येक वर्ष सहभागी हुने नेपाल पर्यटन बोर्डले यसपटक बजेट अभाव देखाउंदै सहभागिता नजनाएको हो । 

लन्डनस्थित नेपाली दूतावासले बजेट अभावले बोर्डको संलग्नता नभएको बताएको छ । 

‘विश्वभरका पर्यटक आकर्षित गर्न यो मेला राम्रो अवसर थियो । तर, यसपटक नेपालको सहभागिता भएन’, दूतावासकी नियोग उपप्रमुख रोशन खनालले भनिन्, ‘बोर्डलाई समयमै बजेट निकासा नभएर आउन सकिएन भन्ने छ । सायद अर्को वर्षदेखि यसमा निरन्तरता होला ।’

४२ वर्षदेखि निरन्तर भइरहेको यस मेलामा विगत वर्षहरुमा नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रका विभिन्न नेपाली कम्पनीले भाग लिने गरेका थिए । यसपटक सोल्टी ग्रुपले मात्र सहभागिता जनाएको बेलायतका लागि पूर्व पर्यटन दूत महन्त श्रेष्ठले जनाए । सोल्टी ग्रुपको नेतृत्व अध्यक्ष दिनेश विष्टले गरेका छन् ।

‘नेपालमा पर्यटन क्षेत्रले गति लिइरहेका बेला यस्तो महत्वपूर्ण जमघटमा नेपाल नहुनु ज्यादै दुःखद कुरा हो’, श्रेष्ठले भने, ‘भाषणमा लाखौं पर्यटक भित्रयाउंछौं मात्र भन्नु भन्दा यस्ता फोरममा प्रत्यक्ष सहभागिता जरुरी थियो । नेपालले आफ्नो देश प्रवर्धन गर्ने एउटा सुनौलो अवसर गुमाएको छ ।’

वर्ल्ड ट्राभल मार्ट आइटिबी बर्लिन पछि पर्यटन व्यवसायीहरुको दोश्रो ठूलो विश्व मेला मानिन्छ । झण्डै ५ हजार प्रदर्शनी कक्षमार्फत विश्वभरका पर्यटन व्यवसायीले आआफ्नो प्रचार प्रसार र सम्पर्क स्थापित गर्ने गर्छन् । पर्यटन सम्भावना र नीतिबारे मन्त्रीस्तरिय विभिन्न अन्तरकृया समेत गरिन्छ । 

गत वर्ष मेलामा १८४ देशका ३५ हजार बढि प्रोफेसनल्स् सहभागी भएका थिए । 

डब्लुटिएममा विश्वभरिका टुर अपरेटर, ट्राभल एजेन्टहरु, डेस्टिनेशन म्यानेजमेन्ट कम्पनी, प्रविधि पार्टनर, विमानसेवा, विभिन्न देशका पर्यटन निकाय आदिले भाग लिन्छन् । 

‘डब्लुटिएम’मा सहभागी भएर आफ्ना ग्राहकसंग सम्बन्ध सुदृढ गर्ने र नयां ग्राहकहरु खोज्ने सरकारी तथा निजी क्षेत्रका सहभागीको उद्देश्य हुने लन्डनस्थित पर्यटन व्यवसायी बिराज भट्टले बताए ।

नेपालमा पर्यटक आगमन कोभिड महामारी अगाडिकै अवस्थामा फर्किएको बताइएको छ । पर्यटन बोर्डका अनुसार, गत महिना अक्टोबरमा मात्र एक लाख १७ हजार ३०६ पर्यटक हवाइ यात्रा गरी नेपाल घुम्न गएका थिए । यस बर्षको १० महिना अक्टोबरभित्र ८ लाख ९ हजार ६७८ पर्यटक नेपाल गएको तथ्यांक छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू