शनिबार, साउन १२, २०८१
03:02 | ०७:४७

भूकम्प अपडेट: १५७ जनाको मृत्यु, १९७ घाइते

रासस नोभेम्बर ४, २०२३

जाजरकोटमा रामीडाँडा केन्› बिन्दु बनाएर शुक्रबार राति आएको भूकम्पले भेरी नगरपालिका–३ ठाँटीबजारमा भत्किएका घर । तस्बिर- सुरेश आचार्य/रासस

काठमाडौँ, १८ कात्तिक– भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् ।

सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ ।

यसैगरी भूकम्पबाट जाजरकोटमा एक सय ५, रुकुम पश्चिममा ८५, दैलेख र बैतडीमा तीन-तीन तथा रोल्पामा एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज, काठमाडौँ तथा अन्य ठाउँमा ल्याउने क्रम जारी छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ । प्रभावित क्षेत्रमा यसका लागि एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँचवटा हेलिकप्टर तथा जहाजको प्रयोग गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ ।

तस्विरहरु- रासस

जाजरकोटमा रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएकाहरुको जाजरकोट जिल्ला अस्पतालमा उपचार गरिँदै

जाजरकोट सदरमुकाम खलङ्गा बजारमा भूकम्पको डरले सडकमै बसेका स्थानीय

जाजरकोटमा रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्प प्रभावित क्षेत्रमा पठाउनका लागि तयारी अवस्थामा राखिएको खाद्य सामाग्री

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू