सोमबार, जेठ १४, २०८१
21:57 | ०२:४२

नेपाल र संयुक्त राष्ट्रसंघः ६५ वर्षदेखि दर्विलो साथ र सहयोग

रासस अक्टोबर २८, २०२३

काठमाडौँ, ११ कार्तिक– संयुक्त राष्ट्रसङ्घको विश्व शान्ति अभियानमा नेपालको ६५ वर्षदेखि दर्विलो साथ र सहयोग रहँदै आएको छ भने नेपालको परराष्ट्र नीतिमा पनि राष्ट्रसङ्घकै बडापत्रको सिद्धान्तलाई सर्वाधिक प्राथमिकता दिइएको छ ।

नेपालले कुनै गुट वा उपगुटमा संलग्न नभई राष्ट्रसङ्घको आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा शान्ति सेना उपलब्ध गराउने सिलसिलामा संयुक्त राष्ट्रसङ्घको झण्डा मुनि मात्र जाने राष्ट्रिय नीति अवलम्बन गरेको छ ।

सन् १९४५ अक्टोबर २४ राष्ट्र सङ्घको स्थापना भएकामा नेपाल सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेको थियो । नेपालले सन् १९६९–७० र सन् १९८८–१९८९ मा दुई पटक राष्ट्र सङ्घको शक्तिशाली सुरक्षा परिषद्को अस्थायी सदस्यको भूमिकासमेत सफलतापूर्वक निर्वाह गरिसकेको छ ।

अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने, राष्ट्रबीच मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने तथा आर्थिक, सामाजिक, साँस्कृतिक वा विश्वकल्याणकारी प्रकृतिका अन्तर्राष्ट्रिय समस्या समाधान गर्ने मुख्य उद्देश्य संयुक्त राष्ट्रसङ्घको छ ।

राष्ट्र संघको शान्ति सहायता अभियानमा नेपाली सेनाको सहभागिता साढे छ दशकभन्दा बढीको छ । सन् १९५८ मा लेवनानमा पाँच सैनिक पर्यवक्षकको तैनाथबाट सेनाको राष्ट्रसंघ शान्ति सहायता अभियानसँगको सहकार्य सुरु भएको हो ।

पहिलो नेपाली युनिट पुरानो गोरखगण सन् १९७४ मा इजिप्टमा तैनाथ भएको थियो । नेपाल तत्कालीन समयदेखि नै राष्ट्रसंघका अधिकांश शान्ति ‘मिसन’मा सक्रिय सहभागी हुँदैआएको छ ।

यस अवधिमा लगभग ४४ मिसनमा एक लाख ४६ हजार छ सय २३ नेपाली शान्ति सैनिकले भाग लिइसकेका छन् । सेनाले इन्जिनियर, मेडिकल र विशेष फौजको टुकडीजस्ता विशिष्ट क्षमताको फौज सहभागी गराएर राष्ट्रसङ्घको शान्ति कार्यमा महत्वपूर्ण योगदान दिइरहेको छ । नेपाली शान्ति सैनिकको कर्तव्यप्रति निष्ठा र उत्कृष्ट कार्यसम्पादनको राष्ट्रसङ्घलगायत निकायबाट उच्च प्रशंसा हुँदैआएको छ । शान्ति स्थापनार्थ खटिएका नेपाली सैनिकले जहिले पनि चुनौतीलाई स्वीकार गर्दै कठिन जिम्मेवारी बहन गर्दै आएको छ ।

विश्व शान्ति स्थापनामा संलग्न हुने सिलसिलामा हालसम्म ७२ नेपाली शान्ति सैनिकको वीरगति प्राप्त गरेका छन् भने ६६ जना घाइते भएका छन् । शान्ति सैनिक खटाउने मुलुक सूचीमा नेपाल हाल दोस्रो ठूलो वरियतामा भएको राष्ट्र हो ।

विश्वका १३ मिसनमा हाल नेपाली सेनाका पाँच हजार आठ सय २६, नेपाल प्रहरीका ४४ र सशस्त्र प्रहरी बल नेपालका एक सय ९४ गरी छ हजार ६४ शान्ति सैनिक तैनाथ छन् । त्यसमध्ये पाँच सय ८६ महिला शान्ति सैनिक रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए ।

राष्ट्रसङ्घको आह्वान भएको खण्डमा नेपालले शान्ति कार्यमा दस हजारसम्म तालिम प्राप्त शान्ति सेनालाई परिचालन गर्न सकिने प्रतिबद्धता यसअघि नै जनाइसकेको छ । नेपाली सेनाले राष्ट्रसङ्घ स्थापना दिवस हरेक वर्ष विविध कार्यक्रम गरी मनाउने र त्यस अवसरमा नेपालले पुरयाएको योगदानको समीक्षा गर्ने अभ्यास रहिआएको छ ।

यसवर्ष पनि सेनाले यही कातिक १ गते शान्ति पदयात्रासहित उपप्रधानमन्त्री एवं रक्षामन्त्री प्रमुख आतिथ्यमा ‘युएन डे’ कार्यक्रम गरेको थियो । सो अवसरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल संयुक्त राष्ट्रसङ्घको बडापत्रको दृष्टिकोण, लक्ष्य र उद्देश्यप्रति प्रतिबद्ध रहेको उल्लेख गरेका थिए ।

‘शान्ति म बाट सुरु हुन्छ’ भन्ने नाराका साथ आयोजित समारोहमा खड्काले संयुक्त राष्ट्रसङ्को बडापत्रको आदर्श र विश्व शान्तिको उद्देश्यप्रति नेपालको प्रतिबद्धता स्पष्ट पारे । “संयुक्त राष्ट्रसङ्को बडापत्र नेपालको परराष्ट्र नीतिको एउटा मार्गदर्शक सिद्धान्त हो”, उपप्रधानमन्त्री खड्काले भने, “नेपालले अन्तर्राष्ट्रिय मञ्चमा शान्ति र समानताका लागि सदैव जोड दिँदै आएको छ । नेपाल सधैँ विश्व शान्ति र सद्भावका लागि प्रतिबद्ध छ ।”

राष्ट्रसङ्घले नेपालमा भएको दशवर्षे सशस्त्र द्वन्द्व समाधानका लागि नेपालस्थित संयुक्त राष्ट्र सङ्घीय मिसन (अनमिन) पठाएरसमेत सहयोग पुरयाएको थियो ।

राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको यही कात्तिक १२ गतेदेखि हुने चार दिने नेपाल भ्रमणका क्रममा विश्वसंस्था र नेपालबीच रही आएको सम्बन्ध र शान्ति प्रयासमा नेपालले निर्वाह गर्दैआएको भूमिकको विचार विमर्श र समीक्षा हुनेछ । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मैत्रीमूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् ।

राष्ट्रसङ्घका महासभा, सुरक्षा परिषद्, अन्तर्राष्ट्रिय न्यायालय, आर्थिक तथा सामाजिक परिषद्, जिम्मा जमानी परिषद् र सचिवालय राष्ट्रसङ्घका अङ्ग हुन् । अन्तर्राष्ट्रिय श्रम, खाद्य तथा कृषि, विश्व स्वास्थ्य, हुलाक, नागरिक उड्डयन, जलवायु, बौद्धिक सम्पति, सामुद्रिक, कृषि विकास कोष, औद्योगिक विकास र पर्यटन सङ्गठनलगायत उक्त विश्व संस्थाका १५ विशिष्टीकृत निकाय छन् । राष्ट्रसङ्घका ती संस्थाले नेपालको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, जलवायु र हुलाकका क्षेत्रमा सहयोग पुरयाउँदै आएका छन् ।

शान्ति स्थापना कार्यमा डिजिटल प्रविधिको विकास तथा नवीनतम् प्रविधिको प्रयोग गर्ने उद्देश्यले राष्ट्रसङ्घ सचिवालय सहयोग परिचालन विभागद्वारा गत जेठ ३० देखि असार १ गतेसम्म शान्ति स्थापना कार्यमा सहकार्य विषय यहाँ सङ्गोष्ठीसमेत गरिएको थियो । सातौँ संस्करणको उक्त गोष्ठी ‘शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य’ विषयकमा केन्द्रित थियो ।

वर्तमान विश्वमा भइरहेको सूचना प्रविधिको तीव्रतम विकास र बदलिँदो सुरक्षा परिस्थितिअनुरुप शान्ति कार्य मिसनमा प्रयोग भइरहेका प्रविधि, चुनौती र असल अभ्यासबारे सदस्य राष्ट्रबीच अनुभव आदानप्रदान गर्ने हेतुले नेपालले उक्त कार्यक्रम गरेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू