शनिबार, साउन १२, २०८१
06:32 | ११:१७

संयुक्त राष्ट्रसङ्घका महासचिव नेपाल आउंदै

राष्ट्रिय समाचार समिति (रासस) अक्टोबर २७, २०२३

काठमाडौँ, १० कात्तिक– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमणका क्रममा यही कात्तिक १२ गते नेपाल आउँदै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मैत्रीमूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले न्यूयोर्कमा गत असोजमा सम्पन्न संयुक्त राष्ट्रसंघको ७८औँ साधारणसभा र इलटीको रोममा गत साउनमा सम्पन्न राष्ट्रसङ्घीय खाद्य प्रणालीसम्बन्धी शिखर सम्मेलनमा सहभागी हुनेक्रममा महासचिव गुटेरेसलाई नेपाल भ्रमणको निमन्त्रणा गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डको निमन्त्रणा स्वीकार गरी यसअघि राष्ट्रसंघीय सचिवालयले असोजमा भ्रमण हुनेगरी कार्यतालिका सार्वजनिक गरेपनि प्यालेस्टाइनका हमास समूहद्वारा इजरायलमा गरिएको आक्रमणपछि महासचिव गुटेरेसको भ्रमण स्थगित भई कात्तिक १२ गतेदेखि हुन लागेको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

महासचिव गुटेरेसको नेपाल भ्रमणका क्रममा शान्ति प्रक्रियालाई टुङ्गोमा पुरयाउने तथा मुलुकमा दिगो शान्ति कायम गर्नेजस्ता शान्ति प्रक्रियासँग सम्बन्धित विषयले प्राथमिकता पाउने आचार्यले बताए । यसैगरी जलवायु परिवर्तन, दिगो विकास र अति कम विकसित राष्ट्रहरूको मुद्दाले समेत प्राथमिकता पाउने बताइएको छ ।

यसअघि शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको जिम्मेवारीमा रहँदा सन् २००७ मा गुटेरेसले नेपालको भ्रमण गरेका थिए । महासचिव वान की मुनको कार्यकालपछि सन् २०१७ देखि महासचिवको जिम्मेवारीमा रहेका गुटेरेस अहिले दोस्रो कार्यकालका लागि कार्यरत छन् ।

सन् १९७० र ८० को दशकमा तत्कालीन महासचिवले नेपालको भ्रमण गरेको र पछिल्लोपटक सन् २००८ मा महासचिव वान की मुनपछि गुटेरेसको भ्रमण हुन लागेको संयुक्त राष्ट्रसंघले जानकारी गराएको छ ।

सन् १९४५ मा पोर्चुगलको लिस्वनमा जन्मिएका गुटेरेस भौतिक शास्त्र तथा इलेक्ट्रीकल इन्जिनियर विषय अध्ययन गरी केही वर्ष प्राध्यापन पेशामा संलग्न थिए । सन् १९९५ देखि २००२ सम्म पोर्चुगलको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका ७४ वर्षीय महासचिव गुटेरेस एक अनुभवी राजनीतिज्ञ र कूटनीतिज्ञका रुपमा परिचित छन् । उनी सन् १९९९ देखि २००५ सम्म सोसलिस्ट इन्टरनेसनलको अध्यक्ष समेत थिए ।

नेपालको औपचारिक भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेट गर्नेछन् ।

यसैगरी पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख राजनीतिक दलका नेताहरूसँग समेत उनले भेटघाट गर्ने कार्यक्रम छ ।

महासचिव गुटेरेसलले नेपालको संघीय संसदको दुवै सदनलाई यही कात्तिक १४ गते मंगलबार अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

चारदिने भ्रमणका क्रममा महासचिव गुटेरेसले पाटन दरबार स्क्वाएर क्षेत्र, पोखरा, अन्नपूर्ण बेस क्याम्प (एबीसी) र लुम्बिनीको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू