शनिबार, वैशाख १५, २०८१
12:34 | १७:१९

एनआरएनएले ‘एक्सटेन्डेड नेसनालिज्म’ को भावना जागृत गराउन आवश्यक छ: राजेन्द्र पुडासैनी

नेपाली लिङ्क अक्टोबर ९, २०२३

प्रवासी नेपाली एकता मंच, यूकेका पूर्व अध्यक्ष तथा सामाजिक अभियन्ता राजेन्द्र पुडासैनी लामो समयदेखि एनआरएनएमा संलग्न हुनुहुन्छ ।

हालै उहाँले एनआरएनएको आगामी ११औं अन्तराष्ट्रिय महाधिवेशनमा सचिव पदका लागि उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । त्यही सन्दर्भमा पुडासैनीसंग गरिएको संक्षिप्त संवाद:

. तपाईंले एनआरएनएको आगामी अन्तराष्ट्रिय अधिवेशनमा सचिव पदका लागि उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ? किन ?

संस्थाको इमेज बिग्रिएको छ । साधारण सदस्यहरु पनि अभियन्तामार्फत् बनाइनु पर्ने अवस्था छ । एनआरएनएको संठगनात्मक संरचनामा सुधार गर्नु पर्नेछ । एनआरएनएको सदस्यता र प्रभावलाई हरेक तह, क्षेत्र र उमेर समूहका प्रवासी नेपालीहरुका बीचमा पुर्‍याउनु पर्नेछ । त्यसका लागि एनआरएनएलाई रिब्रान्डिङ गरेर लाखौंको संख्यामा विदेशमा रहेका नेपालीलाई एउटै समुदायको रुपमा एकत्रित गरी फराकिलो राष्ट्रियता (extended nationalism) को भावना जागृत गर्न एनआरएनए संगठनलाई प्रभावकारी बनाउनु पर्ने आवश्यकता छ ।

एनआरएनएलाई सुनिने मात्र होइन, देखिने संस्थाको रुपमा सरोकारवालाहरुको बीचमा प्रभावकारी बनाउनु पर्छ भनेर मैले आफूलाई सचिवको रुपमा अघि सारेको छु ।

२.तपाईंको विचारमा एनआरएनएले हालसम्म गरेका मुख्य उपलब्धि के के हुन् ?

संस्थाले एनआरएन नागरिकताको सुनिश्चिता, बैदेशिक रोजगारीका लागि श्रम सम्झौता लगायत सामाजिक सुरक्षा कोषको स्थापनामा अग्रणी भूमिका खेलेको छ । भूकम्प र कोभिडको बेलामा नेपालमा सहयोगी र सकरात्मक भूमिका खेलेको थियो ।

बैदेशिक रोजगारीमा रहेकाहरुका लागि आवश्यकता अनुसारका कल्याणकारी सहयोगहरु गरेको छ । लाप्राक बस्ती निर्माण, एनआरएनए फाउण्डेसन, च्यारिटी मेनस्ट्रिमिङ, १० अर्बको एनआरएन इन्भेस्टमेन्ट फण्ड स्थापना आदिलाई एनआरएनएले गरेका महत्वपूर्ण काम मान्न सकिन्छ ।

३. संस्थामा जहिले पनि विवाद भइरहेको देखिन्छ । त्यसो किन भएको होला ? के मानिसहरु पदका लागि मरिहत्ते गर्ने भएर त्यसो भएको हो ?

संगठनको मर्म र भावनामा बुझाइको कमी हुन सक्छ । व्यक्तिगत सफलतालाई बाहिर देखाउने एउटा प्लेटफर्मको रुपमा एनआरएनएमा नेतृत्व गर्न चाहेर वा संगठनको पद हासिल गर्न चाहेर पनि हुन सक्छ । छिटो रिजल्ट खोजेर पनि हुन सक्छ । 

संस्थामा एक तहका एकेडेमिक मानिसहरु संलग्न नभएर पनि हुन सक्छ । जस्तैः विश्वविद्यालय र आफ्नो विषयका दिग्गजहरु- प्रा. सूर्य सुवेदी, कुलचन्द्र गौतम, प्रा. पदम सिंखडाजस्ता सयौं व्यक्ति यो संस्थाको अग्रपंक्तिमा हुनुहुन्न।

यस्ता कति धेरै उदाहरण छन् जो यस संस्थाप्रति सदैव चासो राख्ने गर्नु हुन्थ्यो । तर पदलाई प्रतिष्ठासंग जोडेर पदको प्यास मेटाउनेजस्ता मानिसहरुको संलग्नता धेरै भएकाले पनि हुन यस्तो भएको हुनसक्छ । 

४. एनआरएनएका अहिलेका चुनौतीहरु के के छन् ?

एनआरएनए सबैको हुन सकेको छैन । नेतृत्व र सदस्यहरुको बीचमा संचार र संवादको ग्याप छ । पैसाको चलखेल हुन्छ भन्ने न्यारेटिभ छ, त्यसलाई बदल्न जरुरी छ । त्यस्तै महिला, दोस्रो पुस्ता, पढे लेखेका तथा विभिन्न क्षेत्रका विज्ञ नेपालीहरुलाई संस्थामा आकर्षित गर्नु पर्ने आवश्यकता छ । यो एउटा सामाजिक अभियान हो भन्ने कुरा स्थापित गर्नका लागि सबै तहमा काम गर्नु पर्नेछ । संस्थामा विश्वासनियता र पार्दर्शीता कायम गरी यसलाई ‘रिब्रान्डिङ’ गर्ने चुनौती छ ।

चुनावमा हुने चलखेलहरुलाई विस्थापित गर्न, आफैं सदस्य बनेर व्यापकता र सबै देशका रजिस्टर्ड सदस्यहरुले आईसीसीको निर्वाचनमा भोट खसाल्ने व्यवस्था गर्न सकियो भने यसको इमेज फर्कन्छ । जिम्मेवार, उत्तरदायी र पारदर्शी बनाउन व्यवधानहरु छन् । मुलुकमा भएका परिवर्तनहरुले प्राप्त अधिकारहरुलाई प्रभावकारी बनाउन सकियो भने यो अभियान नेपाली समुदायसँग समाहित हुन सक्छ ।

नेपाली जनतालाई आशा देखाउने तर सरकारसँग कुरा मिलाएर आफ्नो स्वार्थ पुरा गर्नेजस्ता न्यारेटिभ आमरुपमा फैलिंदो छ । त्यसलाई चिर्न इन्भेस्टमेन्ट कति लगियो र प्रबिधिको विकासमा कस्तो काम गरियो भन्ने कुरा प्रतिविम्वीत हुन जरुरी छ ।

५. एनआरएनएको भविष्य कस्तो देख्नु हुन्छ ?

स्टेकहोल्डरहरुको मात्रा देख्दा भयंकर ठूलो भविष्य छ । भारत, चीनजस्ता ठूला मुलुकहरुले राष्ट्र निर्माण गर्न विप्रेषण मार्फत् गरेको सहयोग र लगानीको भोलुम हेर्ने हो भने हामीले ठूलो छलाङ मार्न सक्छौं । उनीहरुका अनुभव र कार्यक्रमबाट सिक्न सकिन्छ । 

लाखौंको संख्यामा नेपालीहरु सामाजिक र राजनितिक क्षेत्रमा जोडिएका छन् । त्यसलाई व्यवस्थित गरेर र नेपालको पर्यटन, कृषिजस्ता क्षेत्रको औधोगिकरण गरेर ठुलो रोजगारीको सिर्जना गर्न सकिन्छ । यो अभियानलाई देश विकाससंग जोड्न सकिन्छ । एक्सटेन्डेड नेसनालिज्मलाई बलियो बनाएर एक आपसमा सहयोग गर्न सकिन्छ, र त्यसले देशलाई स्वत: सहयोग पुग्दछ । भविष्य राम्रो छ ।

६. एनआरएनएमा नयाँ पुस्ता आकर्षित भएको देखिंदैन । त्यसो किन भएको होला ?

एनआरएनए नेतृत्वले संस्थाका उद्देश्य र कार्यक्रमहरुलाई समाजको तल्लो तहसम्म लैजान सकेन । एनआरएनए भनेको व्यापारीहरुको क्लब हो, नेतृत्व संकुचित छ, निर्वाचन प्रणालीमा पैसा र बलले प्रभाव पार्छ, महत्वपूर्ण निर्णयहरु केही सीमित व्यक्तिहरुले ढोका बन्द गरेर गर्छन् भन्ने आमसोचाईहरु छन् । नयाँ पुस्तालाई आकर्षित गर्ने खासै चलन छैन । संस्थामा खुलापन छैन । अहिलेको समयमा नयाँ पुस्ताले खुलापन र ट्रान्सपरेन्सी खोज्छ, त्यो नेतृत्वले दिन सकेको छैन ।

७. तपाईं एनआरएनएको सचिव हुनु भयो भने खास कुन कुन कुरामा सुधार गर्नु हुन्छ ? संस्था र समाजमा कस्तो योगदान दिनु हुन्छ ?

मैले आजसम्मको अनुभवमा समाजमा रहेका बेथितिहरु, असमानताहरु र संगठनमा देखिने कमजोरी सुधार्नु पर्छ भन्ने वकालत गर्दै आएको छु । संस्थामा सदस्यहरुको अपनत्व बढाउने तथा एनआरएनएलाई सदस्यहरु बलियो भएको संस्था बनाउन वकालत गर्नेछु । आईसीसीको निर्वाचनमा सबैले भोट दिने व्यवस्था, कम खर्चिलो र प्रविधिमैत्री बनाएर व्यवस्थित गर्ने कुरालाई अगाडि बढाउनेछु । साथै सबै थरीका मानिसहरुलाई समेटेर नेपालीहरुको बीचमा विस्तारित राष्ट्रियता (एक्सटेन्डेड नेसनालिज्म) लाई प्रचार गराई एनआरएनएलाई ‘रिब्रान्डिङ’ गर्ने प्रयास गर्नेछु ।

यो एउटा अभियान हो । यसमा सिमीत व्यक्तिहरुले कब्जा गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न लाग्नेछु । ‘माइग्रेन्ट वर्कर’ हरुको अधिकारको बारेमा आवाज उठाएर उनीहरुको हितमा काम गर्नेछु । एनआरएनएप्रति नेपालमा रहेको नकरात्मक धारणालाई बदल्न संगठनले गरेका राम्रा कामहरुको प्रचार प्रसार गरेर विश्वासको वातावरण सिर्जना गर्न भुमिका खेल्नेछु । रेमिट्यान्स कानुनी तरिकाले लैजानुपर्छ भन्ने कुरामा जोड दिनेछु । दिगो लक्ष्य, सुदृढ संगठन र चुस्त कार्यशैलीलाई प्रवर्धन गर्न छलफल केन्द्रित गर्ने छु।

संस्थालाई संकुचनमा राखेर हुँदैन, वास्तविक कार्ययोजना बनाएर देशलाई सशक्त बनाउन भूमिका खेल्नुपर्ने हुन्छ । देशको सर्वाङ्गीण विकासका लागि नीतिगत तहलाई प्रभाव पार्ने गरी गर्नु पर्छ । त्यसका लागि म समर्पित हुनेछु ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू