शनिबार, साउन १२, २०८१
02:49 | ०७:३४

प्रहरी महानिरीक्षक कुँवर पनि बेलायततिर

रासस अक्टोबर ७, २०२३

काठमाडौँ, २० असोज- प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर बेलायत प्रस्थान गरेका छन् । बेलायत सरकारको निमन्त्रणामा यही असोज २२ देखि २६ गतेसम्म आयोजना हुने ‘सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत कार्यक्रम’मा सहभागी हुन उहाँ आज बेलायत प्रस्थान गरेका हुन् ।

महानिरीक्षक कुँवरसहित प्रहरी नायब महानिरीक्षक विष्णुकुमार केसी, प्रहरी वरिष्ठ उपरीक्षकद्वय दानबहादुर कार्की र शेखर खनाल बेलायत प्रस्थान गर्नुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज विदाइ गरे ।

कार्यक्रममा नेपाल प्रहरी र बेलायत प्रहरीका उच्च अधिकारीसँग सुरक्षा, अनुसन्धान र न्याय विषयमा भेटघाट तथा अनुभव आदानप्रदान गरिने बताइएको छ ।

पछिल्लो समय विकसित अपराधका चुनौतीहरूबारे अनुभव आदानप्रदान गर्नाका साथै ती चुनौतीहरूको सामना गर्न उपयुक्त कानुन, सीप, स्रोतसाधनको माध्यमद्वारा प्रयास गर्ने, सामुदायिक प्रहरी सेवा, यौनिक एवम् लैङ्गिक हिंसाका साथै बालबालिकाविरुद्ध हुने अपराधको समाधानलगायत विषयमा छलफल हुने कार्यक्रम तय भएको छ ।

प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उता, प्रधानसेनापति प्रभुराम शर्मा पनि संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आइतबार त्यसतर्फ जान लागेका छन् । बेलायती सेनाका जनरल सर प्याट्रिक स्याण्डर्सको निमन्त्रणामा उनी बेलायतको छ दिवसीय औपचारिक भ्रमणमा त्यसतर्फ जान लागेका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू