सोमबार, वैशाख १७, २०८१
14:12 | १८:५७

‘द गुर्खाज डटर’ का लेखक प्रज्वलले ल्याए दोश्रो कृति ‘चित्रलेखाको चौरासी’

नेपाली लिङ्क सेप्टेम्बर २, २०२३

काठमाडौं, भदौ १६- लेखक प्रज्वल पराजुलीको दोश्रो कृति ‘चित्रलेखाको चौरासी’ विमोचित भएको छ । यो पुस्तक लेखक पराजुलीको चर्चित कृति ‘ल्याण्ड ह्वेर आइ फ्ली’ को नेपाली अनुवाद हो ।

लेखक पराजुलीले शनिबार आफूले मनपराएका अर्का लेखक नारायण वाग्लेलाई पुस्तक उपहार दिएपछि सार्वजनिक भएको घोषणा गरिएको थियो । 

अंग्रेजी पाठकहरुका प्रिय लेखक पराजुलीले नेपाली साँस्कृतिक परिवेशमा उभिएका आख्यानलाई संसारभर फैलाइरहेका छन् ।

अघिल्लो पुस्तक लघुकथा संग्रह ‘द गुर्खाज डटर’ जस्तै प्रज्वलको यो उपन्यासले पनि समीक्षकहरुको मन जित्न सफल भइसकेको छ । यसलाई विश्वका अग्रणी अखवारहरुले ‘वर्षकै उत्कृष्ठ पुस्तक’ उपमा दिइसकेका छन् ।

‘यो उपन्यासलाई मैले अंग्रेजी भाषामै पढिसकेकी थिएँ,’ पुस्तकको समीक्षा गर्दै विमोचन समारोहमा लेखिका सगुना शाहले भनिन्, ‘कुशलतापूर्वक गरिएको नेपाली अनुवादमा भने यसका पात्र र परिवेशले अझ विविधता समेटेको पाएँ ।’

सिक्किमवासी प्रज्वल नेपालका भान्जा हुन् । उनी दक्षिण एशियाली त्यसमा पनि विशेषगरि भारतीय उपमहाद्वीप भित्र समाजले वर्जित गरेका विषयलाई लेखनको प्राथमिकतामा राख्छन् । सुललित लेखनबाट अघि बढ्ने यी विषयवस्तुले भित्रभित्रै वहस पनि सिर्जना गरिरहेको हुन्छ । 

उनको पहिलो पुस्तक ‘द गुर्खाज डटर’ सन् २०१२ मा बेलायतबाट प्रकाशनभए लगत्तै ‘डिलन थोमस प्राइज’ को मनोनयनमा पर्न सफल भएको थियो । त्यसयता प्रज्वल सन् २०१८ र २०२३ मा गरी दुई पटक त्यस पुरस्कारको निर्णायक समेत रहिसकेका छन् । 

सन् २०१५ मा उक्त पुस्तकलाई ‘गोर्खाकी छोरी’ शिर्षकमा नेपाली भाषाका पाठकहरुसम्म ल्याउने पब्लिकेशन्स नेपालयले नै प्रज्वलको यो दोश्रो कृतिलाई पनि तयार पारेको हो ।

‘यो उपन्यास हजुरआमाको चौरासीका लागि संसारभरबाट भेलाभएका सन्तानहरुको भोगाइमा आधारित छ,’ समारोहमा लेखक प्रज्वलले भने, ‘त्यसैले अंग्रेजी पुस्तकमा प्रयोग गरिएको नाम ‘ल्याण्ड ह्वेर आइ फ्ली’ भन्दा नेपाली अनुवाद पुस्तकको नाम ‘चित्रलेखाको चौरासी’ अझ बढी सान्दर्भिक महशुस गरेँ ।’ 

यस पुस्तकलाई अंग्रेजी मूल कृतिबाट नेपाली भाषामा अनुवाद विभू लुइँटेलले गरेकी हुन् ।

विमोचन समारोहमा लेखक प्रज्वलसँग लेखिका सगुनाले संवादसमेत गरेकी थिइन् ।

प्रज्वलको अघिल्लो आख्यान जस्तै यसमा पनि नेपाली पहिचान बोकेका पात्र र तिनका प्रवृत्तिको मिहिन चित्रण गरिएको छ । 

यो उपन्यासले पनि आफूलाई तीन वर्षअघिको ‘इमिल गिमेट प्राइज’ मनोनयनमा पार्न सफल भइसकेको छ भने यसको फ्रान्सेली अनुवाद समेत त्यसै वर्ष उक्त मुलुकको ‘फर्स्ट नोबल प्राइज’ को मनोनयनमा परिसकेको छ । 

त्यसैगरि बेलायतको ‘इन्डिपेन्डेन्ट’, अमेरिकाको ‘अ कान्सास सिटी स्टार’ र भारतको ‘हिन्दूस्तान टाइम्स’ अखवारहरुले आफ्ना समीक्षाहरुमा यसलाई वर्षकै उत्कृष्ठ पुस्तकको सूचीमा राखेको थियो । भारतकै ‘भोग’ पत्रिकाले दक्षिणएशियाकै आठ सर्वोत्कृष्ठ उपन्यासमध्ये यस पुस्तकलाई पनि समावेश गरेको थियो ।

कार्यक्रममा पब्लिकेशन्स नेपालयका किरणकृष्ण श्रेष्ठले साहित्यमा अनुवाद विधाबारे भने, ‘हारुकी मुराकामी र पाउलो कोयल्हो जस्ता लेखकहरु उनीहरुले लेख्ने जापानी र पोर्चुगाली समुदायभन्दा अनुदित अंग्रेजी भाषाबाट संसारभर चिनिन्छन् ।’

श्रेष्ठले थपे, ‘अनुवाद नभएको भए, यी लेखक लगायत थुप्रै युरोपेली, चिनिया, रुसी लेखनबारे हामी अनविज्ञ रहने थियौं ।’

यस्तो महत्वपूर्ण विधा अर्थात् अनुवादका मामलामा नेपालभित्र देखिएका बिना अनुमति प्रकाशनको सिलसिलाले हाम्रो प्रकाशन उद्योगबारे विश्वभर अविश्वसनीय छबि बनाउने डर रहने उनको भनाइ थियो ।

श्रेष्ठले फ्रान्सेली प्रकाशन गृहबाट अनुमति लिएरै आनी छोइङ डोल्माको जीवनी प्रकाशन सुरु गरेपछि नेपालयले हालसम्म विदेशबाट प्रकाशित थुप्रै पुस्तक आधिकारिक रुपमा नेपाली पाठकसम्म पुरयाउँदै आएको स्पष्ट पारे ।  

कूल ३ सय ८८ पृष्ठको यस पुस्तकलाई पब्लिकेशन्स नेपालयले आठ सय ७५ रुपैयाँमा उपलब्ध गराएको छ ।

नेपाली भाषामा अनुवाद गरिएको पराजुलीको यो पुस्तकलाई विश्वभरका पाठकले अमेजनबाट खरिद गर्न सक्छन् भने थुप्रै डट कम (thuprai.com) बाट यसको इबुक पनि किन्न सकिनेछ ।

फोटो: मोहन पुन / नेपालय 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू