सोमबार, वैशाख २४, २०८१
00:53 | ०५:३८

साउथ इष्ट लन्डनमा पूर्व कप्तान मल्ललाई सम्मान

नेपाली लिङ्क अगस्ट १७, २०२३

लन्डन। नेपाली क्रिकेट टीमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई  साउथ इष्ट लन्डनमा सम्मान गरिएको छ।

पासा पुच: गुथि साउथ इष्ट शाखाको आयोजनामा मंगलबार बेलुका रेड लायन रेष्टुरेन्ट प्लमस्टिडमा एक कार्यक्रमबीच उनलाई स्वागत तथा सम्मान गरिएको हो । 

शाखा अध्यक्ष माधवलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साउथ इष्ट लन्डनस्थित नेपाली समुदायका अगुवाहरुको उल्लेख्य उपस्थिति थियो।

सो अवसरमा अध्यक्ष श्रेष्ठ, रोयल ग्रीनवीच बरोका उपमेयर काउन्सिलर जीत रानाभाट, बुद्ध फाउन्डेसन यूके अध्यक्ष दीपक श्रेष्ठलगायतले खादा, सम्मानपत्रसहित मल्ललाई सम्मान गरेका थिए। 

सोही अवसरमा बेलायत भ्रमणमा आएका नेपाल क्यान्सर रिलिफ सोसाइटीका अध्यक्ष महेश श्रेष्ठलाई पनि खादा ओढाएर बेलायतमा स्वागत गरिएको थियो। सम्मान ग्रहणपछि बोल्दै पूर्व कप्तान मल्लले  बेलायतवासी नेपालीहरुले क्रिकेटप्रति दर्शाएको चासो र प्रेमका लागि आभार प्रकट गरेका थिए।

 कार्यक्रममा शुभकामना मन्तव्य राख्दै उपमेयर रानाभाटले मल्लको बेलायत भ्रमणले बेलायतमा नेपाली मूलका क्रिकेटरहरुलाई हौसला दिएको भन्दै खुशी व्यक्त गरे ।  

नेपाली खेलाडीहरुलाई बेलायतमा मूल धारको खेल क्षेत्रसँग जोड्ने कार्यमा समन्वय गर्न आफू तयार रहेको उनले जनाए।

बुद्ध फाउन्डेसन यूके अध्यक्ष श्रेष्ठले क्रिकेटका माध्यमबाट देशलाई महत्वपूर्ण योगदान पुर्‍याएका मल्ललाई बेलायतमा स्वागत गर्न पाउँदा गौरव लागेको बताए।  

पासा पुच: साउथ इष्ट अध्यक्ष माधवलाल श्रेष्ठले कार्यक्रममा सहभागिताको लागि पूर्व कप्तान मल्ल र सबै सहभागीलाई धन्यवाद दिए। 

कार्यक्रम संयोजन अन्तराष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालले गरेका थिए। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू