शनिबार, साउन १२, २०८१
06:53 | ११:३८

कारागार कैदी मृत्यु प्रकरणः आफन्तले शव बुझ्न मानेनन्

रासस अगस्ट १२, २०२३

संखुवासभा (किमाथाङ्का)–२७ श्रावण- जिल्ला कारागार संखुवासभामा बुधबार राति कुटपिटबाट मृत्यु भएका दुई कैदीको शव आफन्तले बुझ्न मानेका छैनन्।

प्रहरीको कुटपिटपछि बुधबार बिहान संखुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २७ वर्षीय आकास बलामीको मृत्यु भएको थियो। पीडित पक्ष र स्थानीय प्रशासनको सहमतिपछि आज चार दिनपछि दुई कैदीको शवपरीक्षण भने गरिएको छ।

पीडित पक्षसँग सहमतिपछि शनिबार दिउँसो शवपरीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए।

किटानी जाहेरीपछि शवपरीक्षण गरिए पनि घटनामा संलग्नको नाम सार्वजनिक नगरेको भन्दै आफन्तले शव बुझेनन्।

पीडितले किटानी जाहेरी दिएका आधारमा कारागारमा खटिएका प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी र कारागार प्रमुख राजेन्द्र घिमिरेको नाममात्र जिल्ला प्रहरी कार्यालयले शनिबार दिउँसो नाम सार्वजनिक गरेको छ।

अनुसन्धान टोलीले सिसिटिभी फुटेज बरामद गरे पनि घटनामा संलग्नलाई सार्वजनिक गर्न ढिलाइ गर्नु शङ्कास्पद रहेको पीडितको गुनासो छ। सिसिटिभी फुटेजका आधारमै कैदीलाई प्रहरीले कुटपिट गरेको तथ्य बाहिरिएको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू